सरुमारानीका १८ जना कृषकलाई हाते ट्याक्टर मिनि टिलर वितरण 

सिता बि.क
प्युठान,सरुमारानी गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर मिनी टिलर वितरण गरेको छ। गाउँपालिकाले कृषिमा यान्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउन कृषकलाई हाते ट्याक्टर वितरण गर्दै आएको छ । गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले  किसानलाई हाते ट्याक्टर वितरण गर्दै कृषिलाई यन्त्रीकरणसँग जोड्न र उत्पादन बढाउन आग्रह गर्नुभयो। 
किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर दिइएको गाउँपालिका अध्यक्ष बिश्वकर्माले बताउनुभयो । “गाउँका युवा विदेशीएका छन् । काम गर्ने मान्छे खोज्दा पाइँदैैन । गोरु पाल्न छाडेका छन्”,उहाँले  भन्नुभयो,“खेतीलाई सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका छौं। यसले कम समय लाग्छ।खर्च पनि कम हुन्छ।” कृषिमा यान्त्रीकरण,व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै उहाँले यसका लागि किसानलाई सहयोग गरिएको बताउनुभयो।“परम्परागत रुपमा खेती गर्दा आम्दानी भन्दा लागत बढी पर्न गएको छ। कृषिमा यान्त्रीकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ”,उहाँले भन्नुभयो,“किसानको समस्या बुझेर कृषिमा यान्त्रीकरण गर्नतर्फ लागेका छौँ।’
गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा किसान सँग गाउँ सरकार कार्यक्रम अन्तर्गत मिनिटिलर वितरण कार्यक्रम अनुसार १८ जना कृषकहरुलाई वितरण गरिएको हो ।गाउँपालिकाका कृषि शाखा प्रमुख इश्वर जि.सि का अनुसार गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा विनियोजन गरेको ५ लाख रुपियाँ बजेटमा ट्याक्टर खरिद गरी किसानलाई ५० प्रतिशत अनुदान दिई वितरण गरिएको हो।
गाउँपालिकाले कृषिमा लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले हरेक वर्ष हाते ट्याक्टर वितरण गर्दै आएको छ ।
गत वर्ष वितरण गरिएको हाते ट्याक्टर प्रभावकारी भएपछि यसलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ । 
पछिल्लो समय गोरु पाउन मुस्किल परेको र युवा पुस्ता विदेश पलायन भएकाले खेतीयोग्य जमिन बाँझो बनेको अवस्थामा हाते ट्याक्टरले बाँझो खेत जोत्न सहज हुने भएकाले कृषकलाई हाते ट्याक्टरको व्यवस्था गरिएको आर्थिक बिकास समितिका संयोजक हलिम हलुवाईले बताउनुभयो।
विदेश गएका युवालाई गाउँमै फर्काएर कृषि कर्ममा आकर्षित गराउन र स्वरोजगार बनाउन पनि हाते ट्याक्टरले सहयोग गर्ने उहाँको भनाई छ। हाते ट्याक्टरमार्फत कम समयमा खेत जोत्न सकिने र गोरु खोज्न नपर्ने उहाँको भनाई छ।