राम बहादुर बिश्वकर्मा
प्युठान,स्थानीय पाठ्यक्रम अन्तर्गत रेन्बो एकेडमी प्युठानले शिक्षक,विद्यार्थी सहित प्युठान नगरपालिकामा स्थलगत अबलोकन गराएको छ।
सोमबार विद्यार्थीहरुलाई स्थानीय सरकारका गतिविधि,काम,कर्तव्य,अधिकार र जिम्मेवारी तथा स्थानीय पाठ्यक्रमको महत्त्व एवम् आवस्यकताको विषयमा स्थलगत अवलोकन गराईएको हो।
स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि स्थलगत अवलोकन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नगर प्रमुख बिष्णु योगिले विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रमले नसमेटेको स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयारी गरी लागू गरिएको बताउनुभयो।
“स्थानीय पाठ्यक्रममा हाम्रो नगरपालिकाभित्रको प्राकृतिक सम्पदा,स्थानीय पेसा व्यवसाय र आर्थिक क्रियाकलाप, सामाजिक संस्था,आनिबानी तथा स्वास्थ्य,प्राकृतिक प्रकोप र जोखिम व्यवस्थापनका साथै यहाँको संस्कार,संस्कृति तथा रहनसहन लगायतका विषयवस्तु समेटेका छौँ”,नगरप्रमुख योगिले भन्नुभयो।
उहाँले पाठ्यक्रममा समग्र नगरपालिका भित्रको आर्थिक,सामाजिक,भौतिक तथा शासकीय पक्ष,वन वातावरण अवस्थाका बारेमा जानकारी दिएको बताउनुभयो।
विद्यार्थीलाई कक्षा कोठाभित्र पढाएर मात्रै नहुने भएकाले व्यवहारिक सिकाइ प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले स्थलगत अबलोकनमा बिध्यार्थी र स्थानीय सरकार सङ्ग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको रेन्बो इङ्लिस बोर्डिङ स्कुलका प्रीन्सिपल दुर्गा खड्काले जानकारी दिनुभयो।
स्थानीय पाठ्यक्रममा प्रमुख,उपप्रमुख,स्थानीय सरकार,जनप्रतिनिधिबारे उल्लेख गरे अनुरुप विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिन यो कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ।
त्यस्तै नगर उप प्रमुख देवेन्द्र वर्माले आफ्नो मुलुकको भविष्य बोक्ने आजका कर्णधार बालबालिका बाट प्राप्त सुझावले सम्वृद्ध नगरपालिका बनाउन महत्त्वपूर्ण हुने बताउनुभयो।उहाँका अनुसार पाठ्यक्रमलाई बढी उपयोगी,समावेशी र सान्दर्भिक बनाउन,स्थानीय ज्ञान एवं सीपको उजागर गरी स्थानीय आवश्यकता सम्बोधन गर्न तथा स्थानीय तहका व्यक्ति र संस्थानको क्षमता अभिवृद्धि गर्न स्थानीय पाठ्यक्रम जरुरी छ।
प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमन श्रेष्ठले स्थानीय पाठ्यक्रम स्थानीय सरोकारवालाहरुको सहभागिता तथा आवश्यकता र औचित्यका आधारमा तयार गरिएको योजना भएको बताउनुभयो।
“हामीले तयार पारेको स्थानीय पाठ्यक्रमको अध्ययन–अध्यापन नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा सुरु भइसकेको छ”,नगर प्रवक्ता श्रेष्ठले भन्नुभयो,“नगरभित्रका केही विद्यालयले स्थानीय पाठ्यक्रममा आधारित हुँदै व्यवहारिक ज्ञान प्रदान गर्न स्थलगत सिकाइका लागि विद्यार्थीलाई जोड्न सुरु गरिसकेका छन् ।”
यहाँका विद्यालयले व्यवहारिक सिकाइ अन्तर्गत नगरपालिका कार्यालय,यहाँका धार्मिक र पर्यटकीयस्थल,प्राकृतिक सम्पदा,सांस्कृतिक सम्पदाहरुको बारेमा बुझ्न आफुलाई दैनिक जसो शिक्षक,शिक्षिकाहरुबाट फोन आउने गरेको श्रेष्ठले बताउनुभयो।
प्युठान नगरपालिका शिक्षा शाखा अधिकृत बासु पन्डितले नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम अनुसार अब नगरका विभिन्न विद्यालयले स्थलगत सिकाइमा विद्यार्थीलाई संलग्न गराउने सिलसिला बढ्ने बताउनुभयो।उहाँले भन्नुभयो,“विद्यालयले नगरपालिका कार्यालय,पर्यटकीयस्थल,सार्वजनिकस्थल तथा सामाजिक सङ्घ संस्था,धार्मिकस्थल,स्वास्थ्य संस्थामा स्थलगत अध्ययन तथा अवलोकन गराएर स्थानीय पाठ्यक्रममा समावेश व्यवहारिक ज्ञान प्रदान गर्ने विषयलाई सार्थकता दिनुपर्ने हुन्छ ।”
नगरपालिकाले कक्षा ८ सम्मका विद्यार्थीका लागि अनिवार्य विषय बनाएर एक सय पूर्णाङ्कको पाठ्यक्रम नै लागू गरेको हो।पाठ्यक्रम लागू भइसकेपछि आगामी दिनमा व्यवहारिक सिकाइको सिलसिला नियमितरूपमा नै सञ्चालन हुने पण्डितले बताउनुभयो।
आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी पढाउनुपर्ने प्रावधान छ । कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि १०० पूर्णाङ्कको स्थानीय विषयको पाठ्यक्रम निर्माण गरी लागू गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्