गणतन्त्रलाई संस्थागत गर्न शासकीय चरित्रलाई बदल्नुपर्छ : नगर प्रमुख योगि  

गणतन्त्रलाई संस्थागत गर्न शासकीय चरित्रलाई बदल्नुपर्छ : नगर प्रमुख योगि  

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगिले हाल गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती,अनियमितता र बेथिति भएको बताउनुभएको छ।
गणतन्त्र दिवस,२०८२ को अवसरमा नगरपालिका द्वारा आयोजित कार्यक्रममा  शुभकामना व्यक्त गर्दै उहाँले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्र पर्याप्त नहुने भन्दै त्यसका लागि शासकीय चरित्र र पद्धतिलाई बदल्नुपर्ने आवश्यकता औंल्याएउनुभएको हो।यस्तै,शासकीय चरित्र,राजनीति,पार्टी र नेताको चरित्रलाई बदल्नुपर्नेमा नगर प्रमुख योगिको जोड छ।
सुभकामना दिदै उहाँले भन्नुभएको छ गणतन्त्र स्थापनाका लागि हजारौं नागरिकल बलिदान गर्नुभएको छ त्यसको मर्मलाई मध्यनजर गर्दै, “हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ।गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली,राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु ।”लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश बन्ने अवस्था आउन नदिने गरी काम गर्नुपर्नेमा नगर प्रमुख योगिको भनाई छ।गणतन्त्रको मूल मर्म जनताको सर्वोच्चता,समावेशिता,समानता,विधिको शासन,सामाजिक न्याय र उत्तरदायित्वमा आधारित शासन प्रणाली हो भन्ने कुराको स्मरण आवश्यक छ।’“जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन,त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन”,उहाको भनाइ छ,“नागरिकले सुशासनसहितको समृद्धि,रोजगारी,अवसर र स्रोतसाधनको न्यायोचित वितरण र  सामाजिक न्यायको प्रबन्ध खोजेका छन्।आर्थिक विकासबिना यी केही पनि सम्भव नभएकाले सबै गम्भीर भएर लाग्नुपर्छ।”
त्यस्तै कार्यक्रममा नगर उपप्रमुख देबेन्द्र बर्माले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक इतिहासको एक महत्त्वपूर्ण उपलब्धि रहेको उल्लेख गर्दै यसले जनतालाई सार्वभौमसम्पन्न बनाउँदै राष्ट्रनिर्माणको मूल प्रवाहमा समाहित गरेको बताउनुभएको छ।गणतन्त्र, राष्ट्रियता र जनजीविकाको सवालमा सबै राजनीतिक दल र नागरिक समाज एकताबद्ध भई सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासबाट सुशासन र समृद्धि सम्भव हुने भन्दै व्यवस्थागत परिवर्तनभन्दा अवस्थागत परिवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
प्युठान नगर कार्यपालिकाको कार्यालय बिजुवारमा सम्पन्न कार्यक्रममा नगर भित्र रहेका सम्पुर्ण वडा अध्यक्ष,कार्यपालिका सदस्य,प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी,विभिन्न शाखा प्रमुख,कर्मचारी,पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रमको सन्चालन स्वास्थ्य शाखा प्रमुख गोबिन्द घिमिरेले गर्नुभएको थियो।