राम बहादुर बिश्वकर्मा
प्युठान,नागबेली बहुउद्देश्यीय सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ। प्युठान नगरपालिका -४ स्थित होटेल आयुष्माको सभाहलमा सम्पन्न भएको हो।
साधारण सभाको उद्घाटन गर्दै प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले आर्थिक उपार्जन र समृद्धिका लागि सहकारीको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो। पछिल्लो समय एकाध सहकारीमा देखिएको समस्याका कारण सहकारी क्षेत्रमा त्रासको वातावरण सृजना भइरहेको बताउँदै उहाँले ऐन, विधि र नियमानुसार सञ्चालित सहकारीहरूमा कुनै समस्या नरहेको उल्लेख गर्नुभयो।
प्युठान नगरपालिकाले छिट्टै सहकारी ऐन ल्याउन लागेको जानकारी गराउदै नगर प्रमुख योगिले नगरपालिकाले उत्पादनमा आधारित अनुदानको थालनी गरेको समेत जानकारी दिनुभयो।
त्यस्तै प्युठान नगरपालिका ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले नागबेली बहुउद्देश्यीय सहकारी सस्थाले सेयर सदस्यमा केन्द्रित भएर अगाडि बढेकोमा खुशी व्यक्त गर्नुभयो।
नगरपालिकाका प्रवक्ता समेत रहेका श्रेष्ठले नगरपालिकाले किसानलाई पेन्सन,उत्पादनमा आधारित अनुदान लगायतका नीति तथा कार्यक्रम बारे प्रष्ट पार्नुभएको थियो।
जिल्ला सहकारी संघका अध्यक्ष सुशील पोख्रेलले सहकारीले सदस्यहरुसंग रहेको श्रम,सीप र पूँजीलाई अधिकतम परिचालन गरी थप आयआर्जन गर्न सहयोग पुर्याउने बताउनुभयो। सहकारीलाई वेवास्ता गरे स्थानीय तहले आर्थिक विकास गर्न नसक्ने जिकिर उहाँको छ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाईका प्रमुख चुमानसिह गिरी सहकारीले स–साना पुँजीको सङ्कलन गरी शेयर सदस्यहरूको माग अनुसार उचित स्थानमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो। साथै मुलुकको अर्थतन्त्र चलायमान गराउँदै आफ्ना शेयर सदस्यहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने बाटोमा सहकारीहरू अग्रसर हुनु पर्ने बताउनुभयो।
सहकारीलाई प्रभावकारी बनाउन कर्जा र कर्मको तालमेल हुनुपर्ने समेत बताउनुभयो।
साधारणसभाले संस्थाका सचिव दिपेन्द्र कुमार श्रेष्ठ द्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुपा बेल्बासे के सि द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
साधारणसभामा सहकारीले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०८०/०८१ मा कुल ६७ करोड ९६ लाख ९१ हजार १ सय ९४ रुपैयाको कारोवार गरेको जानकारी गराइएको छ ।
सहकारीले बचत २ करोड ७४ लाख ९१ हजार ४ सय ४६ रुपैया प्रतिबेदनमा उल्लेख गरिएको छ । यस्तै कर्जा लगानीतर्फ ४ करोड ७० लाख ५३ हजार ३ सय ९५ रुपैया रहेको छ।
२०७४ सालमा स्थापना भएको सहकारीमा हाल ६ सय ९जना शेयर सदस्य रहेका छन्।
सस्थाका अध्यक्ष पाण्डेले सहकारी नागबेलीले कृषकहरुको आर्थिक अवस्था सुधारका साथ साथै सामाजिक सुधार र उन्नयन तथा ग्रामीण विकासकालागि निरन्तर अगाडी बढेको जानकारी दिनुभयो ।
कृषिको उन्नतिका लागि सहकारीले गरिरहेको प्रयासमा प्युठान नगरपालिकाले समेत साथ दिइरहेको बताउनुभयो। उहाँका अनुसार बुहुउद्देश्य सहकारी संस्थाको रुपमा स्थापित भएको संस्थाले जिल्लामा धेरै सहकारी संस्थाहरुको अनुशरण कार्यक्रम सञ्चानल गरि नमुना कार्य गरिरहेको सहकारी संस्थाले सबै संग समन्वय गर्दै आइरहेको छ।
साधारण सभामा संस्थाले सहकारीको वृद्धि विकासका लागि सहयोग पु-याउने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।
संस्थाका अध्यक्ष बिष्णु पाण्डेको अध्यक्षतामा सम्पन्न साधारणसभामा विभिन्न सहकारीका प्रतिनिधि,सेयर सदस्य,सन्चारकर्मि लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्