प्यूठान,प्रतिनिधिसभा सदस्य सूर्य थापाले बाग्दुला-भिमगिठे सडकको नयाँ ठेक्का नलागे त्यसको विकल्पमा जानुपर्ने बताउनुभएको छ । १२ वर्षदेखि अन्यौलमा रहेको आयोजनाको काम अघि बढाउनका लागि भारतबाट कुनै पनि प्रतिक्रिया नआएको भन्दै उक्त क्षेत्रमा बैकल्पिक योजनाहरुको विषयमा सोच्नुपर्ने बताउनुभएको हो ।
प्रेस चौतारी प्यूठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा थापाले एक्जिम बैंकको सहुलियत ऋणमा बनाउने गरि एक पटक ठेक्का लागेको आयोजना निर्माण कम्पनी कालोसूचिमा परेकाले रद्ध भएको उल्लेख गर्नुभयो।“दुई देशीय सहमतिमा यसका हरेक स्टेपहरु अगाडी बढ्नुपर्छ,” उहाँले भन्नुभयो,“नयाँ ठेक्का लगाउन सवै प्रक्रिया पुरा भएको छ तर १० महिनासम्म भारतको तर्फबाट कुनै हा÷ना आएको छैन ।”
उक्त सडकले प्यूठानीलाई १२ वर्ष पछाडी पारेको थापाको भनाई छ । “यो सडकको काम अघि नबढेको भए पालिका पहुँचमार्ग अन्र्तगत बाग्दुला–मच्छी र मच्छी–ठूलावेशी सडक कालोपत्रे भइसक्थे, उहाँले भन्नुभयो,“कि बाटो बनाउनुपर्यो र कि बाटो छाड्नुपर्यो भनेर अर्थमन्त्री सहितको छलफलमा भनेको छु ।”सडक निर्माण गर्दा ७५ प्रतिशत सामाग्री भारतको प्रयोग गर्नुपर्ने शर्तका कारणले पनि ढिला भएको उहाँले बताउनुभयो ।
पत्रकार भेटघाटमा प्रतिनिधिसभा सदस्य थापाले जिल्लामा पूर्ण विद्युतिकरणका लागि काम अघि बढिरहेको बताउनुभयो । उहाँले जिल्लाका सडक, पुल,पूर्वाधार,खानेपानी आयोजनाहरुलाई सम्पन्न हुने गरि काम अघि बढाउन सरोकारवालासँग समन्वय र पहल गरिरहेको बताउनुभयो। प्रेस चौतारी प्यूठानका अध्यक्ष बासुदेव गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राम बहादुर विश्वकर्माले गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्