राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाका मेयर विष्णु योगिलाई नगरका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाले दर्जनौं प्रश्न सोधेका छन्।
पशुपति नगर बाल क्लव जुम्रीले प्युठान नगरपालिका महिला तथा बालबालिका शाखामा पहिलोपटक यहि आश्विन ४ गते आयोजित मेयरसँग बालबालिका कार्यक्रममा बालबालिकाहरुले नगरप्रमुखलाई प्रश्न सोधेका थिए।उनीहरुको प्रश्न,जिज्ञासा र गुनासो समग्रमा बाल अधिकार र बालमैत्री स्थानीय शासनका विविध क्षेत्रहरुसँग सम्बन्धित रहेको देखिन्थ्यो ।
तस्बिर : मेयर बिष्णु योगि समक्ष आफ्ना प्रश्न राख्दै बालबालिका
विभिन्न १५ विद्यालयबाट आएका बालबालिकाहरुले बालबालिकालाई विभिन्न खेल सँग सम्बन्धित खेलकुद सामग्री र बालमैत्री खेल मैदानको व्यवस्था,लागु पदार्थको सेवन तथा कुलतमा फसेकाहरुलाई सचेतिकरण तथा उपचारको व्यवस्था, साँघुरो बाटोको कारण संभावित दुर्घटना र धुलोबाट स्वास्थ्यमा पार्न सक्ने असर,हाम्रो टोलमा रहेको कवाडीको उचित व्यवस्थापन,स्थानीय स्तरमा सक्रिय बाल क्लबलाई नगरपालिकाबाट हुने सहयोग,बीचमा पढाइ छाड्ने समस्या,ड्रप आउट भएका बालबालिकाका खोजी तथा उनीहरुलाई जीवन उपयोगी सिप प्रदान गर्ने,सवारीसाधनको तिब्र गतिका कारण बाटो हिँड्न कठिनाई,मासु पसलको उचित व्यवस्थापन गर्नुपर्ने विषय आदिसँग सम्बन्धित प्रश्न तथा सुझावहरु राखेका थिए।
त्यसैगरी बालबालिकाको सम्बन्धमा योजना निर्माण गर्दा बालबालिकाको सहभागिता,विद्यालय व्यवस्थापन समिति र स्वास्थ्य व्यवस्थापन समितिमा बालबालिकाको प्रतिनिधित्व,बालविवाह, कारण, असर र न्यूनीकरणका उपाय तथा योजनाहरु विषय आदिमा बालबालिकाको प्रश्न केन्द्रित थियो।
जवाफमा मेयर योगिले नगरपालिका को महिला तथा बालबालिका शाखा अन्तर्गत बालबालिकाका कार्यक्रममा श्रोत र साधनले भ्याएसम्म नगरपालिकाले बालबालिकाको क्षेत्रमा प्रत्यक्ष तथा परोक्षरुपमा थुप्रै कामहरु गरेको उदाहरण प्रस्तुत गर्नुभएको थियो।
नगरप्रमुखले बालबालिकाको प्रश्न आउने वित्तिकै सम्बोधन गर्नुभएको थियो।आफ्नो कार्यकालको बाकी समयपछी मेयरबाट विदाई हुँदै गर्दा हामी बालबालिकालाई के दिएर जानुहुन्छ भन्ने एक बालिकाको प्रश्नमा उहाँले म सुशासन र समृद्धिको आधार छाडेर जान्छु भनी जवाफ दिनु थियो।
तस्बिर :बालबालिका बाट आएका प्रश्नलाई सम्बोधन गर्दै प्युठान नगरपालिकाका मेयर बिष्णु योगि
कार्यक्रममा बालबालिकालाई सम्बोधन गर्दै उहाँले अनिवार्य तथा निःशुल्क शिक्षा,पूर्ण खोप,पूर्ण संस्थागत सुत्केरी, बालबालिका केन्द्रित अभियानहरु चलेको जानकारी दिनुभयो।सम्बोधनका क्रममा नगरप्रमुख योगिले बालबालिकालाई उत्प्रेरणामूलक सन्देशहरु प्रवाह गर्नुभएको थियो।कार्यक्रममा आएका बालबालिकाहरुले मेयरलाई शालीनतापूर्वक प्रश्न राखेका थिए।
बालबालिकाहरुसहित ३५ जना बढी सहभागिता रहेको कार्यक्रममा मेयर र बालबालिकाको सम्वाद पछि सम्बोधन गर्दै पशुपती नगर बिकास सस्थाका अध्यक्ष मुक्ति प्रसाद शर्माले कार्यक्रम ऐतिहासिक र प्रभावकारी रहेको उल्लेख गर्नुभयो।उहाँले अनुशासनपूर्वक प्रभावकारी ढंगले प्रश्न सोधेका बालबालिकाको खुलेर प्रशंसा गर्नुभयो।विभिन्न सामाजिक कार्यमा समेत सक्रिय रहनुभएका शर्माले प्युठान नगर भित्रका बालबालिकाहरुमा सहयोगी भावना,मित्रता,भातृत्व,विनम्रता,अनुशासन र आज्ञाकारिता वृद्धि भएको उल्लेख गर्नुभयो।
प्रतिक्रिया राख्नुहोस्