आधुनिक प्रविधि भित्रिएसँगै लोप हुने खतरामा पञ्चेबाजा,संरक्षणमा कस्सिए प्युठानका महिलाहरु.....

पन्चेवाजा संरक्षणमा कस्सिए प्युठानका महिलाहरु

आधुनिक प्रविधि भित्रिएसँगै लोप हुने खतरामा पञ्चेबाजा,संरक्षणमा कस्सिए प्युठानका महिलाहरु.....

राम बहादुर बिश्वकर्मा
प्युठान,नौमती या पञ्चेबाजा आफैँमा नेपाली सभ्यता र संस्कृतिका परिचय दिने बाजा हुन्।मज्जाले ताल मिलेर नौमती बाजा या पञ्चेबाजा घन्किएको बेलामा नाच्न नजान्ने मानिसलाई पनि नाचौँनाचौँ बनाएको हुन्छ। थप्पडी बजाउँदै वरिपरि नझुम्मिने त सायदै कमै हुन्छन्। नौमती बाजा विगतमा हरेक विवाह उत्सवको रौनक थियो।अघिअघि नौमती बाजाको तालमा दमाईहरूको लर्को र पछिपछि बेहुलाको साथमा जन्तीहरूको लर्को आफैँमा गरिमामय उत्सव हुन्थ्यो।नौमती बाजा अझ नरसिङ्गाको तुथुडी थु थुडीको आवाजले डाँडाकाँढा थर्काउँदै परसम्म आगमनको सूचना दिएको हुन्छ ।

मान्छेहरू थालको भात छोडेर ‘ऊ बे आयो’ भनेर बाटाका दुवैतिर लाम लागेर रमित हेर्न बसेका हुन्थे ।आज बेहुलो हेरियो भोलि बेहुली हेर्नै भनेर भोलिको नरसिङ्गा बाजा र दमाहा बाजाको आवाज सुन्न कान ठाडा पारेर बसेका हुन्छन् बाटादेखि टाढाटाढा समेतका गाउँलेहरू।
नौमती बाजाको एक सदस्य सनाईले कसैको मन छुन्छ त कसैको मन रुन्छ ।बेहुली अन्माउँदा बेहुली तथा उनका आफन्त साथीहरूलाई रुवाउने मुख्य बाजा नै सनाई वा यसको विरहको धुन हो।
नेपाली शैलीको बाजाको धुन कता हो कता मिठासपूर्ण भए पनि यो बाजा पछिल्लो समय किनारामा धकेलिँदै गएको अवस्था हो।अझ भन्नुपर्दा यो बाजा लोप हुने अवस्थामा पनि देखिन्छ।तर यतिबेला प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठानाका महिलाले पञ्चेबाजा संरक्षणमा जुट्न थालेका छन।
परम्परा देखि बाजा बजाउने पुरुषहरु जताततै घट्दै गएपछि मरन्ठानाका महिला पञ्चेबाजा संरक्षण अभियानमा जुटेका हुन।हिजो आज यहाँका महिलाले पञ्चेबाजा घन्काउन थालेका छन । 
विभिन्न सार्वजनिक कार्यक्रम,विवाह,व्रतबन्ध र अन्य सभा समारोहमा बाजा बजाउनेको खडेरी नै भएकाले प्युठान नगरपालिका वडा नम्बर ९ ले युवा शसक्तिकरण बजेट  शिर्षक अन्तर्गत बिनियोजित बजेट बाट आयोजना गरिएको बाजा बजाउने तालीम पाएपछि महिलाहरु पन्चेबाजा बजाउन सक्रिय भएका हुन।बिहान घरको काम सकेर दिउसो बाजा सिक्न जान्थे,घरकाले पनि यसमा साथ दिए स्थानीय शान्ती नेपालीले भन्नुभयो स्थानिय सरकार र घर परिवारको साथले हामि सवै बाजा बजाउन सक्ने भएका छौ। पुरुषले मात्र नभई महिलाले पनि बाजा बजाउन थालेपछि पुरानो कला संस्कृति संरक्षणमा टेवा पुग्ने देखिएको छ ।

बाजाको संरक्षण कार्यले आयआर्जनमा पनि सहयोग पुग्ने उनीहरुले विश्वास लिएका छन।सीप सिकेर केही हुन्छकि भनेर आफूहरुले बाजा बजाउन सिकेको नेपालीले बताउनुभयो।गाउँ घरमा पुरुषले मात्रै बजाउने बाजा सिक्दै जाँदा हामि पनि बजाउन सक्ने भयौ उहाँले भन्नुभयो स्थानिय सरकारको सहयोगमा सिकेको सिपले केहि गर्न सक्छौ भन्ने साहस बढेको छ।वडा नम्बर ९ मरन्ठानाका १३ जना महिलाले पञ्जेबाजा बजाउन सिकेका छन।उनिहरुले दमाहा,ट्याम्को,झ्याली र नरसिङ्गा बाजा बजाउन जानेका हुन।अर्का तालिम सहभागी रबिन्द्र भण्डारीले नेपाली पञ्चेबाजाको संरक्षण हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ। ‘आधुनिक प्रविधि भित्रिएसँगै गाउँमा पञ्चेबाजा बजाउनै छोडियो,’उहाँ भन्नुहुन्छ’ अहिले गाउँमा न बाजा भेटिन्छन्,न त बजाउनेहरू नै।’पञ्चेबाजा बजाउने समुदायले पछिल्लो समय आधुनिक बाजा बजाउने तथा अन्य पेसा अँगाल्ने गरेका छन् ।
परम्परागत रूपमा बजाउँदै आएको पञ्चेबाजा व्यावसायिक नबन्दा र नयाँ पुस्तामा सीप हस्तान्तरण नहुदाँ लोप हुने अवस्थामा पुगेको हो।मौलिक तथा पुराना बाजाको संरक्षणमा स्थानीय वडा कार्यालयले चासो दिएकोमा भण्डारी खुशी व्यक्त गर्नुहुन्छ।
जिवनमा अन्य सिप नसिके पनि सामाजिक आवश्यकता र बाध्यताले पन्चेबाजा बजाउन सिकेको अर्की तालिम सहभागी शुन्तला नेपालीले सुनाउनुभयो।उहाँहरुले २० दिनसम्म नियमित बाजा बजाउने तालिम लिनुभएको थियो।अनिल पहाडी(परियार) ले उहाँहरुलाई बाजा बजाउन सिकाउनुभएको हो।महिलालाई बाजा बजाउन सिकाउन गाह्रो हुने भए पनि उनिहरुको सक्रियता र इच्छाशक्तिले अप्ठ्यारो नभएको प्रशिक्षक परियारले बताउनुभयो।उहाँहरुको रुचि र उत्साहले सिकाउन सहज भयो उहाँले भन्नुभयो सिप सिकेका सवैले बाजा बजाउन सक्ने हुनुभएका छ।
उहाँहरुले ९ किसिमका बाजा बजाउन सिक्नुभएको छ। विभिन्न कार्यक्रममा एउटै किसिम बाजा र धुन बजाईदैन उहाँले भन्नुभयो अहिले बिबाह,सराय नृत्य जस्ता धुन सिक्नुभएको छ।"
विवाहमा सबैभन्दा धेरै मङ्गल धुनको प्रयोग हुने गर्छ। परियार ले भन्नुभयो,-“बेहुलाको घरमा जानेबित्तिकै मङ्गल धुन,दुलाहा निकाल्ने बेलामा,दुलहीको घरमा पुगेपछि,सिन्दूर हाल्ने,गोडा धुने,कन्यादान गर्ने बेलामा र दुलही अन्माउँदा,भित्राउँदा मङ्गल धुन बढी प्रयोग हुन्छ । अनि बिदाइ गर्ने बेलामा ख्याली, झ्याली,नरसिङ्गा,ढोलकी र सहनाई नै प्रयोग हुन्छ ।”
९ नम्बर वडाको १ लाख बजेटबाट महिलालाई पञ्चेबाजा बजाउने तालिम दिइएको वडा अध्यक्ष बिकास के सि ले बताउनुभयो।गत बर्षको बजेटबाट खरिद गरिएका विभिन्न बाजा सामाग्री पनि वितरण गरिएको छ।तिनै बाजाबाट सिप सिकेका उनिहरुलाई थप तालिम प्रदान गरिने वडाले जनाएको छ।
उनिहरुलाई  ३ वटा दमाहा,२ वटा झ्यालि,१ ट्याम्को,२ नरसिया १ वटा,१ वटा बेगुल,१ वटा ढोलक र १ वटा सनही प्रदान गरिएको अध्यक्ष के सि ले बताउनुभयो। वडाका महिलाले सिकेको सिप र सक्रियताबाट आफु उत्साहित भएको उहाँले बताउनुभयो ।

महिलाहरु पन्चेबाजा बजाएर सांस्कृतिक कार्यक्रममा अग्रसर भएको देख्दा समाजमा नयाँ सन्देश गएको वडा अध्यक्ष के सि ले बताउनुभयो।पन्चेबजा सहित विभिन्न कार्यक्रममा महिला पुगेको र बाजा बजाएको देख्नेहरुमा पनि इच्छा शक्ति नै ठुलो कुरा रहेछ, भन्ने सन्देश प्रवाह भएको अध्यक्ष के सि को भनाई छ।