राम बहादुर बिश्वकर्मा
प्यूठान,आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानको १७ दिन अघिदेखि मात्र जुलुस,आमसभा र घरदैलो कार्यक्रम गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले सवै पक्षलाई आग्रह गरेको छ ।
आज जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा आचार संहिता विषयक अन्र्तक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत देव प्रसाद योगीले उम्मेदवार,राजनीतिक दल, कर्मचारी, पत्रकारलाई निर्वाचन आयोगले जारी गरेको विभिन्न आचार संहिताको पालना गर्न आग्रह गर्नुभएको हो।
कसैले पनि कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार–प्रसारमा संलग्न हुन वा प्रचार–प्रसार गर्न नहुने,कुनै योजनाको शिलान्यास गर्ने,उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोका लागि अनुदान दिनेजस्ता काममा सहभागी हुन नहुने, कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सवारीसाधन,भवन वा अन्य सामग्री प्रयोग गर्न दिन,कार्यक्रम वा सभा वा सम्मेलन गर्न वा प्रचार–प्रसार गर्न नहुने जस्ता आचारसंहितामा लागू गरिएको भन्दै यस्ता आचारसंहिता उल्लंघन गर्नेे उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी नै रद्द गर्न सक्ने व्यवस्था रहेको योगिले बताउनुभयो ।
जिल्लामा अहिले कर्मचारीको विषयमा गुनासो आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस विषयमा आफूहरु संवेदनशिल भएको र त्यस्ता कर्मचारीलाई निर्वाचनमा खटाउने विषयमा ख्याल गनुपर्ने जिल्ला निर्वाचन कार्यालय प्युठानका निर्वाचन अधिकारी देविराम पाठकले बताउनुभयो।
त्यस्तै, विद्यालयका कर्मचारी र शिक्षक प्रचारमा सहभागी हुन नपाउने, जुलुुस र आमसभामा पर्चाबाहेकका प्रचार सामग्रीमा प्रयोग गर्न नपाउने, मन्त्री र प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रबाहेकमा प्रचारप्रसार गर्न नपाउने र स्थानीय जनप्रतिनिधिले आफ्नो स्थानीय तह भन्दा बाहिर प्रचारप्रसार गर्न पाउने लगायतका आचारसंहितामा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले अघिल्लो स्थानीय तहको निर्वाचनमा आचार संहिता उल्लंघनका केहि घटना भएको स्मरण गराउँदै मंसिर ४ मा हुने प्रतिनिधि शभा तथा प्रदेश शभा निर्वाचन स्वच्छ, शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन कडाई गरिने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष विजय विराज विष्टले अहिलेको परिस्थितीमा निर्वाचनलाई स्वच्छ बनाउन प्रहरी प्रशासन र निर्वाचन आयोग निष्पक्ष हुनुपर्ने बताउनुभयो । निर्वाचन आचार संहिता उल्लंघनका घटनाहरु हुने गरेपनि त्यसलाई निष्पक्ष रुपमा कानुनी कारवाही गर्न प्रहरी प्रशासन र आयोगको भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजालले पत्रकारहरुले आफ्नो आचार संहितामा रहेर पत्रकारिता गर्ने बताउँदै निर्वाचन सम्वन्धि आचार संहिता समेत पालना गर्ने बताउनुभयो । उहाँले आचार संहिता उल्लंघनका घटना भएपनि कारवाही प्रभावकारी नदेखिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्