कोरोना संक्रमणपछि आउन सक्ने खाद्य संकटलाई सम्बोधन गर्न यसो गरौं कि !

कोरोना संक्रमणपछि आउन सक्ने खाद्य संकटलाई सम्बोधन गर्न यसो गरौं कि !

नारायण के सि 
कोभिड-१९ महामारीले अहिले मानिसहरुको दैनिकी तथा श्रम अभ्यासमा ठूलो असर पारिरहेको छ। भयंकर अनिश्चितताको यो समयमा महामारीपछिको विश्व व्यवस्थाबारे तर्क-वितर्क चलिरहेका छन्। महामारीका कारण रोजगारी गुमेपछि गाउँ पुगेका युवाहरुलाई कृषिमा आबद्ध गराउने रोमाञ्चक गफ पनि सुनिन थालेका छन्। महामारीले गर्दा कृषि क्रान्तिका लागि आधार तयार भएको विश्लेषणले पनि सानोतिनो स्थान पाइरहेकै छ। कृषिप्रधान देशको रटान लगाइरहने शिक्षा प्रणालीबाट हुर्किएको जनशक्तिका कारण र कृषिको सम्भावना समेत भएका आधारमा यो बहस अस्वाभाविक पनि होइन। 
तर योजना, तयारी र रणनीतिविनाको यस्तो आकांक्षालाई यथार्थको धरातलमा राखेर हेर्दा भने कृषिमा युवा सहभागिता त्यति सजिलो देखिंदैन।नेपाली जनजीवनको मुख्य आयस्रोत कृषि नै भएकाले कृषिको विकासबिना नेपालीहरूको जीवनस्तर उठाउन नसकिने कुरा स्पष्ट नै छ । हरेक साल कृषिजन्य उत्पादनमा हाम्रो परनिर्भरता बढ्दै गएको छ। दैनिक उपभोगका लागि अत्यावश्यक कृषि उत्पादनमा हामी दिनानुदिन भारतसँग परनिर्भर हुँदै गएका छौं। सरकारले वर्षेनी कृषिमा आत्मनिर्भरताको नारा अघि सार्छ तर त्यो नारामा मात्र सीमित छ। कृषिमा वास्तविक योजना बनाई त्यसलाई लागू गर्ने प्रयास भएको देखिँदैन। त्यसैले नै हरेक वर्ष आयातको क्रम बढिरहँदा खर्बौं रुपैयाँ बाहिइरहेको छ। कृषिउपजका लागि उपयुक्त जमिन हुँदाहुँदै हामीले यसमा कुनै प्रगति गर्न सकेका छैनौं। देशको उत्पादनशील जनशक्ति विदेशमा श्रम बेचिरहेको छ। तिनै युवाले पठाएको रेमिट्यान्स हाम्रो अर्थतन्त्रको आधार बनेको छ, तर कृषिजन्य पदार्थ आयातमा ठूलो खर्च बेहोर्नुपर्दा अर्थतन्त्रमा त्यसको नकारात्मक प्रभाव परिरहेको छ। चामललगायत खाद्यान्न, मासु, तेल, दूध, तरकारी, फलफूलजस्ता उपभोग्य वस्तु पनि हामी आयात गरिरहेका छौं। प्रशोधित खाद्यान्नमा पनि ठूलो रकम खर्च भइरहेको छ।

सरकारको नीतिगत अदूरदर्शिता, अनुसन्धान र विज्ञताको कमी, बजारमा बिचौलियाको चलखेलजस्ता कारणले हाम्रो देशमा कृषि क्षेत्रले उधोगतिको सामना गरिरहेको छ। लामो समय देखि राजनीतिक अस्थिरतामा डुबेको देश अहिले आएको समृद्धिको मिठो सपनामा हराएको छ। तर हाम्रो हकमा समृद्धिको अनिवार्य सर्तजस्तो रहेको कृषिको विकासतर्फ भने नेतृत्व तहको पर्याप्त ध्यान पुग्न सकेको छैन। त्यसैले कृषि पेशामा लागेका कृषकको कृषिमा रुचि देखिदैन, बरु यो बाध्यात्मक पेशा जस्तो बनेको छ। जमिनमा स्वामित्व हुनेहरु खेती गरेर लगानी नउठ्ने देखेर खेती गर्न छोडेका छन् भने जमिन नहुनेहरु अरुको जमिनमा खेती गरी उत्पादनमा दुई तिहाई जग्गा धनीलाई बुझाउन बाध्य छन्।

महामारीका कारण रोजगारी गुमेर गाउँ पुगेका युवाहरुलाई कृषिमा आबद्ध गराउने कुरा आकर्षक त सुनिएको छ, तर तल्लो तहको काम र गरीबीको पर्याबाची  बनेको यो पेशालाई सम्मानित र फलदायी रूपमा स्थापित गर्नेतर्फ राज्यको क्षमता र चाहना नमोडी धेरै उत्साहित बन्ने ठाउँ छैन।
अब कोरोना संक्रमणपछि आउन सक्ने खाद्य संकटलाई सम्बोधन गर्न कृषिमा के-के गर्नुपर्छ भन्ने कुरामा स्थानीय सरकार देखि केन्द्र सरकाले ध्यान पुर्याउन अनिवार्य छ।

निष्कर्षमा,यस्तो महामारीले संकट मात्र हैन,अवसर पनि ल्याउँछ भन्ने नेपालको कृषि क्षेत्रमा सान्दर्भिक हुन आउँछ । तसर्थ, कोरोना कहरबाट पाएको शिक्षाबाट कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर समृद्धि हासिल गर्न उपयोग गरौँ ।