लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता

बुटवल,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ।
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। उनीहरूले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन्। 

'हामीले ४१ जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेका छौं,’ जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादवले सेतोपाटीसँग भने। अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरेका छन्। लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय हो। माओवादी केन्द्र छोडेर एमालेतिर लागेका दुई  जना सांसदको पद खारेज भएको छ। 

यहाँ नेकपा एमालेका ४१ सांसद छन् भने जनमोर्चाका १ जना सांसद छन्। एमालेमा पनि ओली र माधव नेपाल पक्षबीच विवाद छ। मुख्यमन्त्री पोखरेललाई माधव समूहबाटै चुनौती छ। यसअघि नेपाल पक्षका सांसदहरूले कर्णाली प्रदेशमा पार्टी ह्वीप नमानेर फ्लोर क्रस गरेका थिए। 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध पनि कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।