१९ कात्तिक, काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएको छ । नेपाली सेनाको जंगीअड्डा स्रोतले नरवणेको भ्रमणमा चार सदस्यीय टोली रहेको उल्लेख गरेको छ ।विमानस्थलमा नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका छन् । विशेष सुरक्षा व्यवस्थाका साथ उनलाई सोल्टी होटलमा लगिनेछ ।नरवणेको गाडीको अगाडि-पछाडि जंगीअड्डाको सैनिक प्रहरी गणको टोलीले स्कर्टिङ गर्नेछ । सुरक्षा चुनौतीका कारण पछाडि नेपाल प्रहरीको एउटा टोली पनि रहनेछ ।
नरवणेले सीमा विवाद चर्किएका बेला चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए । त्यसैले उनलाई नेपालमा सुरक्षा चुनौती रहेको विश्लेषण नेपाली सेना, नेपालस्थित भारतीय दूतावासलगायतको विश्लेषण छ ।
नरवणेलाई कालो झण्डा देखाउने, विरोध प्रदर्शन गर्ने, कफन बाँधेर बस्ने जस्ता गतिविधि हुनसक्ने विश्लेषण सुरक्षा अधिकृतहरुले गरेका हुन् । त्यसैले उनको भ्रमणको पूर्वसन्ध्यामा चेकजाँचमा कडाइ गरिएको थियो भने अहिले उपत्यकामा व्यापक रुपमा सादा पोशाकमा प्रहरी टोली परिचालित गरिएको छ ।
यस्तो छ नरवणेको कार्यतालिका
बुधबार नरवणे नेपाल आएको पहिलो दिन कुनै औपचारिक कार्यक्रम राखिएको छैन । तर, नेपालस्थित भारतीय दूतावासको समन्वयमा अनौपचारिक भेटघाट हुनसक्ने भनिएको छ ।
पत्नीसहित आएका उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने तयारीसमेत गरेको स्रोतको भनाइ छ ।भ्रमणको महत्वपूर्ण कार्यक्रम भोलि (बिहीबार) राखिएको छ । उनले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाउने कार्यक्रम शीतल निवासले बिहीबार राखेको हो ।
यो पनि पढ्नुहोस
मेरो नेपाल भ्रमणले दुई देशको सैन्य सम्बन्ध थप बलियो हुन्छ : भारतीय सेनाध्यक्ष
नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ । जसअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २८ पुस २०७५ मा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाइसकेका छन् ।
नरवणेको नेपाल भ्रमण पनि केही अघि नै तय भए पनि कोभिड-१९ भाइरसका कारण रोकिएको सेनाले बताउँदै आएको थियो ।शीतल निवासको कार्यक्रमअघि नै नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ, त्यसपछि उनले जङ्गीअड्डामा सैनिक गारत निरीक्षण गर्नेछन् । समकक्षी नेपाली सेनाका महारथी पूर्णचन्द्र थापासँग पनि नरवणेले बिहीबार नै औपचारिक सम्वाद गर्नेछन् ।
छलफलपछि जंगीअड्डाका उच्च सैन्य अधिकृतहरुसँग उनले छलफल समेत गर्नेछन् । नरवणेको सम्मानमा जंगीअड्डाले बिहीबार साँझ रात्रि भोजको समेत आयोजना गरेको छ ।भ्रमणको अन्तिम दिन शुक्रबार नरवणेले सैनिक स्टाफ कलेज, शिवपुरीमा शिक्षार्थीसँग अन्तरक्रिया गर्नेछन् । त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री ओलीलाई भेटेर स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया राख्नुहोस्