पानी लिन घरभित्र पसेको भन्दै दलित बालिकालाई निर्घात कुटपिट

पानी लिन घरभित्र पसेको भन्दै दलित बालिकालाई निर्घात कुटपिट

पानी लिन घरभित्र पसेको भन्दै मोरङको उर्लाबारी–४ थापाडाँगीकी दलित १२ वर्षीया बालिका फुलसरी मंग्रान्ती (सार्की)लाई निर्घात कुटपिट गरिएको छ । कुटपिटबाट बालिका घाइते भएकी छिन् भने प्रहरीले उजुरी लिन मानेको छैन । 

फुलसरीलाई छिमेकी नन्दलाल श्रेष्ठ, उनकी पत्नी निर्मला र छोरा अम्बिरले कुटपिट गरेको उनका आफन्त दुर्गाकुमारी रोकाले बताइन् । आमाबुबा बेपत्ता भएकी फुलसरीलाई दुर्गाले नै आश्रय दिइरहेकी छिन् । श्रेष्ठले दलित बालिका घरभित्र पसेको भन्दै सोमबार निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट बालिकाको शरीरभरि नीलडाम छ । 

सोमबार उनी चिसो पानी लिन छिमेकी तुलसा खतिवडा श्रेष्ठको घरमा गएकी थिइन् । तुलसा नन्दलालकी बुहारी हुन् । उनीहरू अलग–अलग घरमा बस्छन् । ‘नानी (फुलसरी) सधैँ त्यो घरमा जाने र पस्ने गरेकी थिई । सोमबार फ्रिजमा राखेको पानी लिन पठाएँ । घरमा सानो नानी मात्र रहेछ । ऊसँगै फुलसरी पनि भित्र गइछ,’ दुर्गाले भनिन्, ‘श्राद्ध छ, हामीले खाना चढाएको छैन भन्दै नीलडाम हुनेगरि कुटपिट गरे । त्यो घरमा त श्राद्ध पनि थिएन, नन्दलालको घरमा पो श्राद्ध थियो ।’ फुलसरीलाई छुटाएर ल्याउँदा आफूमाथि पनि कुटपिट गरेको उनले बताइन् । 

जातीय विभेद गरेर कुटपिट गरेको भन्दै दुर्गाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएकी छिन् । तर, प्रहरीले उजुरी दर्ता गरेको छैन । इलाका प्रहरी कार्यालयका इन्चार्ज इन्स्पेक्टर सुभाष राईले अर्को पक्षलाई पनि बुझेर दर्ता गरिने बताए । ‘मैले एसपीसाबलाई रिपोर्टिङ गरेँ । माथिबाटै घटनास्थलमा गएर बुझेर मात्र जाहेरी दर्ता गर्न निर्देशन छ,’ इन्स्पेक्टर राईले भने, ‘मैले जाहेरी लिएको छु । दर्ता भएजस्तै मान्नुस् ।