सीता बि क
प्युठान ,प्युठान नगरपालिकाको वडा नं ९ मरन्ठानाका एक जना स्थानीयले आफ्नो नाममा रहेको ३ रोपनी ४ आना जग्गा प्रहरी चौकिलाई निःशुल्क दिएका छन्। मरन्ठानाको मजुवा स्थान नजिकैको चुदरिखोला चुजा सडकसँग जोडिएको जग्गा समाजसेवी सत्य बहादुर बुढाथोकीले ३ रोपनी ४ आना जग्गा निःशुल्क प्रदान गर्नुभएको हो।जग्गा छेउको सडकमा विभिन्न स्थानबाट बसाई सरि आउने संख्याको तिव्र गतिमा अगाडी वढिरहेकोले हाल त्यहाँको जग्गाको किनवेच गर्दा राम्रो मुल्य आइरहेको भएपनि उनले वडामा रहेको प्रहरी चौकीको लागि भने लाखौ मुल्य बराबरको जग्गा निःशुल्क दिनुभएको छ।
प्रहरी चौकी मरन्ठानाको आफ्नो नाममा जग्गा नहुँदा सुविधा सम्पन्न भवन निर्माण हुन नसकिरहेको बेला ठूलो कसरत पस्चात बुढाथोकीले उक्त जग्गा सहयोग गरेको मरन्ठाना प्रहरी चौकि प्रमुख टीका कुवरले जानकारी दिनुभयो । मरन्ठाना
प्रहरी प्रमुखको पहलमा जग्गा प्रदान गरेपछि अब प्रहरी चौकीको भवन बन्ने भएको हो।
चौकी प्रमुख कुवरले समुदाय प्रहरी साझेदारी अन्तर्गत विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहँदा नागरिकले प्रहरीप्रति देखाउने व्यवहारमा परिवर्तन आएको बताए। प्रहरीलाई दण्ड दिने निकायका रूपमा मात्र हेर्ने चलन रहेकोमा अहिले प्रहरीले नागरिककै लागि काम गर्ने रहेछन् भन्ने मानसिकताको विकास हुँदै गएको र काममा पनि सजिलो हुँदै गएको छ उहाँले भन्नुभयो -"उहाँको यो सहयोगले हामीलाई समाजप्रति र नागरिकप्रति अझै बफादार बन्न प्रेरणा दिएको छ’।
समाजमा शान्ति सुरक्षाको प्रत्याभुतिको लागी प्रहरीको भुमिका अहम रहने र प्रहरी बिना समाजको कल्पना समेत गर्न नसकिने भन्दै स्थानीय बुढाथोकीले उक्त जग्गा सहयोग गर्नुभएको प्रहरीले जनाएको छ ।
प्रहरीलाई लालपुर्जा उपलब्ध गराउँदै बुढाथोकीले समाजमा शान्ति सुरक्षाको प्रत्याभूतिको लागि प्रहरीको भूमिका अहम् रहने बताए। ‘समाजमा शान्ति स्थापना गर्न प्रहरीबिना त कल्पना नै गर्न सकिँदैन’ उनले भने, ‘अनि हाम्रै सुरक्षामा खटिने प्रहरी बस्ने स्थायी भवन नभएर भाडाको घरमा दुःखका साथ बस्नुपरेको छ। यसलाई मैले मेरो दायित्वको रूपमा लिएँ र निःशुल्क जग्गा दिएँ।’
नेपाल प्रहरीले शान्ति सुरक्षाको साथै समाज सुधारका काममा सक्रियता बढेकाले अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा, कानुन कार्यान्वयन लगायत प्रहरीका हरेक क्रियाकलाप जनमुखी र राष्ट्रहितमा रहेको भन्दै यस्तो पवित्र सेवामा समुदायको तर्फबाट सहयोग गर्न सक्रिय हुन पाउँदा आफू गौरबान्दित रहेको उहाँको भनाई छ।
लालपुर्जा ग्रहण गर्दै डिएसपी कार्किले सत्य बहादुरको सहयोगले समुदाय र प्रहरीको अन्तर सम्बन्धसमेत प्रस्ट भएको बताउँदै यस्ता सहयोगले प्रहरीलाई समाजको हितमा काम गर्न थप मनोबल मिल्ने बताउनुभयो। ‘ उहाले भन्नुभयो, ‘उहाँप्रति विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु, आम नागरिकबाट पनि प्रहरीलाई यसरी नै सकारात्मक रूपमा लिँदै सहयोग गर्न आह्वान गर्दछु।’
स्थानिय चलन चल्तीको मुल्य अनुसार हाल उक्त जग्गा रोपनीको ८ लाख रुपैयाँमा खरिद विक्रि भैरहेको स्थानीय समाजसेवी बिष्णु बिष्टले बताउनुभयो । उहाँका अनुसार ३ रोपनी ४ आना जग्गालाई करिब २५ लाख रुपैयाँ भन्दा बढी पर्छ ।
जग्गा दाताको परिवारलाई सहमति गराएपछि स्थानीयहरुको रोहवरमा जग्गा नक्शांकनको काम पनि सकिएको वडा न ९ का वडाध्यक्ष नेहरसिह के सि ले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालय पनि त्यहि नजिकै र वडा भरिकै मुख्य केन्द्र पनि त्यहि भएकाले उक्त जग्गामा प्रहरी चौकी बनाए पछि सबै वडाबासीलाई राहतको अनुभुति हुने विश्वास वडा कार्यालयले गरेको जानकारी पनि उहाँले गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्