राम बहादुर बिश्वकर्मा
प्यूठान,प्यूठान जिल्लाका मृगौलाका दीर्घ रोगीहरूका लागि नयाँ आशाको किरण देखिएको छ।
जिल्ला बाहिर डायलासिस सेवा खोज्न बाध्य रहेका बिरामीहरू अब आफ्नै जिल्लामा नै जीवन र स्वास्थ्यको ख्याल राख्न सक्ने भएका छन्।
बुधबार प्यूठान अस्पतालले आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रममा स्थानीय तहका प्रमुख,सरोकारवालाहरू र स्वास्थ्य विशेषज्ञहरूले डायलासिस सेवा छिट्टै सञ्चालन गर्न जोड दिएका छन्। प्यूठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुवास पौडेलका अनुसार,इमर्जेन्सी बेडसहित ६ वटा बेड निर्माण भइसकेका छन् र सेवा सुरु भएसँगै बिरामीहरूलाई तत्काल सहयोग पुग्नेछ।
हालसम्म प्यूठानका ८६ जना मृगौलाका बिरामीले सेवा नपाएर जिल्ला बाहिर पुगेर डायलासिस गराउनुपरेको थियो। अब जिल्लामै सेवा सञ्चालन भएपछि बिरामी र उनका परिवारलाई सहज पहुँच मिल्ने विश्वास गरिएको छ।
कार्यक्रम प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्टको अध्यक्षतामा भएको थियो। जिल्ला समन्वय समिति प्यूठानका प्रमुख प्रमुख धरम बहादुर जि.सी को प्रमुख अतिथिता रहेको कार्यक्रममा
प्रमुख जिल्ला अधिकारी सान्तीरज प्रसाई विभिन्न स्थानीय तहका प्रमुख र नागरिक समाजका विभिन्न प्रतिनिधिहरूको उपस्थित रहेको थियो।
कार्यक्रमको संचालन वरिष्ठ नर्सिङ अधिकृत चित्रा खनालले गर्नुभएको थियो भने,मानसिक रोग विशेषज्ञ डाक्टर आभास योगीले स्वागत मन्तव्य राख्नुभयो।डायलासिस सेवा सम्बन्धि विवरण फिजिसियन डाक्टर सुनिल ज्ञवालीले प्रस्तुत गर्नुभयो।
प्यूठान अस्पतालमा सुरु हुन लागिरहेको उक्त सेवाले बिरामीको जीवन रक्षा सङ्गै जिल्ला स्वास्थ्य सेवाको पहुँचलाई पनि नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्