प्युठान,प्यूठान जिल्ला मा बिहीबार सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचन मा ५१ दशमलव १६ प्रतिशत मतदान भएको छ। जिल्लामा रहेका १ लाख ६५ हजार ४०६ जना मतदाता मध्ये ८४ हजार ३३६ जनाले मतदान गरेका छन्।
मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारी का अनुसार मतदान गर्नेहरूमध्ये ५१ हजार २४२ जना महिला, ३३ हजार ३९३ जना पुरुष र एक जना अन्य रहेका छन्। यसबाट प्यूठानमा महिला मतदाताको सहभागिता उल्लेख्य देखिएको छ।
जिल्लाका विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सदरमुकाम ल्याउने काम जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ। दुर्गम तथा पहाडी भूगोल भएका केही स्थानबाट मतपेटिका ल्याउन समय लाग्ने भएकाले सुरक्षा व्यवस्थासहित क्रमशः सदरमुकाम ल्याइँदैछ।
सबै मतपेटिका जिल्ला सदरमुकाममा पुगेपछि राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको उपस्थितिमा मतगणना प्रक्रिया सुरु गरिने तयारी गरिएको छ। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्थानीय प्रशासनले जनाएको छ।
यस पटकको निर्वाचनमा प्यूठानका मतदाताले विभिन्न राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धात्मक रूपमा मतदान गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्