भ्रामक प्रचार असफल,सरुमारानी एमालेद्वारा खण्डित

प्युठान,आगामी निर्वाचन नजिकिँदै जाँदा सरुमारानी गाउँपालिकामा नेकपा (एमाले) विरुद्ध लक्षित भ्रामक प्रचार तथा गलत सूचनाहरू फैलाउने प्रयास तीव्र बन्दै गएको भन्दै पार्टीले त्यसप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। यस्ता प्रचारको उद्देश्य मतदातालाई दिग्भ्रमित पार्नु रहेको एमाले सरुमारानी गाउँपालिका कमिटीको ठहर छ।
सरुमारानी गाउँपालिका वडा नम्बर १ मा सम्पन्न अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा(एमाले) का तर्फबाट वडा अध्यक्षका उम्मेदवार रहेका चेत बहादुर पुनले निर्वाचनकै समयमा पार्टीको आधिकारिक निर्णय र निर्देशन विपरीत गतिविधि गरेको जानकारी पार्टीसमक्ष आएको थियो। निर्वाचनको दौरान उहाँले पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा मत नमागी व्यक्तिगत मत माग्ने तथा गाउँपालिका अध्यक्ष पदमा गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्दै हिँडेको विषय सार्वजनिक भएपछि पार्टीले उहाँसँग स्पष्टीकरणको अपेक्षा गरेको थियो।
तर पार्टीका अनुसार उहाँले कुनै पनि प्रकारको लिखित वा मौखिक स्पष्टीकरण नदिएको,निर्वाचनमा पराजित भएपछि पार्टीसँग सम्पर्क,समन्वय तथा संगठनात्मक गतिविधिमा सहभागी नभएको अवस्था देखिएको छ। उहाँ हाल नेकपा (एमाले) मा संगठित नरहेको तथ्य स्पष्ट रहेको कमिटीको भनाई छ।


चुनावी समयलाई लक्षित भ्रामक प्रचार


यसै सन्दर्भमा पछिल्लो समय “नेकपा (एमाले) परित्याग गरेको” भन्ने विषयलाई लिएर गरिएको प्रचार वास्तविकताभन्दा टाढा रहेको पार्टीले जनाएको छ। नेकपा (एमाले) सरुमारानी गाउँपालिका कमिटीका अध्यक्ष वसन्त जी.सी.का अनुसार उहाँ यसअघि नै पार्टी हितविपरीत गतिविधिमा संलग्न रहँदै आएको, अन्य पार्टीसँग साँठगाँठ गरेको तथा अन्य पेशामा संलग्न भइसकेको व्यक्ति भएकाले हाल फैलाइएको प्रचार केवल चुनावी लाभका लागि सिर्जना गरिएको भ्रम मात्र हो।

एमालेप्रतिको जनविश्वास कायम

सरुमारानी गाउँपालिकामा नेकपा (एमाले) प्रति जनताको भरोसा अझै बलियो रहेको पार्टीको दाबी छ। विकास, सुशासन र राष्ट्रिय स्वाधीनताका सवालमा एमालेको स्पष्ट दृष्टिकोणका कारण जनसमर्थन निरन्तर बढिरहेको उल्लेख गर्दै केही व्यक्तिको गतिविधिलाई आधार बनाएर पार्टीको छवि धुमिल्याउने प्रयास सफल नहुने कमिटीले स्पष्ट पारेको छ।
अन्त्यमा सरुमारानी गाउँपालिका कमिटीले सम्पूर्ण पार्टी पङ्क्ति,समर्थक,शुभेच्छुक तथा आम मतदातालाई यस्ता भ्रामक प्रचारप्रति दिग्भ्रमित नहुन आग्रह गर्दै देशको स्वाधीनता, जिल्लाको समग्र विकास तथा सरुमारानी गाउँपालिकाको उन्नति र प्रगतिका लागि नेकपा (एमाले) भित्र एकताबद्ध भई सूर्य चिन्हमा मतदान गर्न हार्दिक अपिल गरेको छ।