राम बहादुर बिश्वकर्मा
प्युठान,“बुबा ७१ वर्षको उमेरमा बित्नुभयो।आमा अपाङ्ग हुनुहुन्छ। हामी साना छौँ।घरमा खान खर्च पनि छैन। किरियाखर्च कसरी उतार्ने ? अनि हामी कसरी बाँच्ने ?यी हृदयविदारक शब्दहरू हुन्।झिमरुक उँपालिका–७,कुता निवासी १३ वर्षीय सजन सुवेदीका। उमेरले सानै भए पनि उनका शब्दहरूले एक परिवारमाथि आइपरेको गहिरो संकट,पीडा र विवशताको तस्बिर स्पष्ट रूपमा बोलिरहेका छन्।
हाल कक्षा ७ मा अध्ययनरत सजन र उनकी बहिनी सजना सुवेदी (कक्षा ५) सामान्य बालबालिकाजस्तै पढ्ने, खेल्ने र भविष्यका सपना देख्ने उमेरमा छन्। तर परिस्थितिले उनीहरूलाई समयभन्दा अघि नै जिम्मेवारी र पीडाको भारी बोझ थमाइदिएको छ। आमा अपाङ्ग हुनुहुन्छ भने बुबाको असामयिक निधनपछि परिवार पूर्ण रूपमा अभिभावकविहीन जस्तै बनेको छ।
बुबाले मजदुरी गरेर जोगाएको सानो आम्दानीमै घरखर्च,औषधोपचार र छोराछोरीको पढाइ चल्दै आएको थियो। तर बुबा बितेपछि त्यो आधार पनि भत्किएको छ। अहिले परिवारसँग न नियमित आम्दानी छ, न कुनै बचत। दैनिक छाक टार्नसमेत कठिन भएको छ भने बुबाको किरियाखर्च अझै ठूलो बोझका रूपमा उभिएको छ।
आमाको शारीरिक अवस्था कमजोर भएकाले बाहिर गएर काम गर्ने अवस्था छैन। घरको सम्पूर्ण जिम्मेवारी अप्रत्यक्ष रूपमा साना बालबालिकाकै काँधमा परेको छ। आर्थिक अभावका कारण उनीहरूको पढाई निरन्तरता नै जोखिममा परेको छ,जसले उनीहरूको भविष्यलाई झनै अन्योलपूर्ण बनाइरहेको छ।
यस अत्यन्तै मार्मिक र कठिन परिस्थितिलाई मध्यनजर गर्दै झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दयालु मन,समाजसेवी,बुद्धिजीवी, संघ–संस्था, युवा समूह तथा सहयोगी हातहरू समक्ष मानवीय संवेदनाका साथ सहयोगको लागि हार्दिक अपिल गर्नुभएको छ।
उपाध्यक्ष पोख्रेलका अनुसार,“सुवेदी परिवारको अवस्था अत्यन्तै दयनीय छ। साना बालबालिकाको भविष्य जोगाउन सबैको सानो सहयोग पनि ठूलो राहत बन्न सक्छ। मानवीय नाताले यो परिवारलाई एक्लो नछाडौँ।”
लामो समयसम्म पत्रकारितामा सक्रिय रहेका प्रमोद पोख्रेल गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएपछि पनि आफूले अंगालेको सामाजिक उत्तरदायित्वबाट पछि हट्नुभएको छैन। पत्रकारिताकालदेखि नै समाजका दबिएका आवाजहरू उजागर गर्दै आएका उहाँ आज जनप्रतिनिधिको भूमिकामा रहेर पनि उही संवेदनशीलता र सक्रियताका साथ विपन्न, असहाय र असक्त वर्गका नागरिकहरूको पक्षमा उभिँदै आउनुभएको छ।
पोख्रेल कहिले आर्थिक अभाव, स्वास्थ्य समस्या वा अन्य सामाजिक कठिनाइमा परेका परिवारहरूको आवाज बनेर सम्बन्धित निकायसम्म उनीहरूको पीडा पुर्याउनुहुन्छ भने कहिले औपचारिक प्रक्रिया कुर्नुभन्दा अघि बढ्दै स्वयं पहल गरेर बिरामीहरूलाई अस्पताल पुर्याउने, उपचारको व्यवस्था मिलाउने र आवश्यक परे उपचार खर्च जुटाउन सहयोगको अपिल गर्ने काममा निरन्तर संलग्न रहनुहुन्छ। विशेष गरी आर्थिक रूपमा कमजोर परिवारका लागि उहाँको यस्तो सक्रियता जीवनरक्षक सावित हुने गरेको स्थानीयहरू बताउँछन्।
जनप्रतिनिधि भएपछि मात्र होइन,पत्रकारिताकालदेखि नै सामाजिक सरोकारका विषयमा गहिरो चासो राख्दै आएका पोख्रेलले पदलाई सेवा गर्ने माध्यमका रूपमा लिँदै आउनुभएको छ।गाउँ–गाउँमा पुगेर स्थानीयको अवस्था बुझ्ने,उनीहरूको समस्या सुन्ने र समाधानका लागि सम्भव पहल गर्ने उहाँको कार्यशैलीले स्थानीयस्तरमा विश्वास र आशा जगाएको छ।
बिपन्न र असक्त नागरिकहरूका लागि राज्यका कार्यक्रम र सेवामा पहुँच सहज बनाउने, कागजी प्रक्रिया र जानकारीको अभावका कारण कसैलाई उपचार वा सहयोगबाट वञ्चित हुन नदिन प्रयासरत रहनु उहाँको निरन्तरको अभियान बनेको छ। यही कारणले पोख्रेललाई धेरैले केवल जनप्रतिनिधि मात्र होइन, संकटमा साथ दिने अभिभावकका रूपमा पनि हेर्ने गरेका छन्।
पत्रकारिताको अनुभव,मानवीय संवेदना र जनप्रतिनिधिको जिम्मेवारीलाई एकैसाथ बोकेर अघि बढिरहेका प्रमोद पोख्रेलको सक्रियताले झिमरुक गाउँपालिकामा सामाजिक सेवाको एक सकारात्मक र प्रेरणादायी उदाहरण प्रस्तुत गरिरहेको छ।
आज सजन र सजना सहयोगको याचना गरिरहेका छैनन्। उनीहरू बाँच्न,पढ्न र सम्मानित भविष्य निर्माण गर्न चाहिरहेका छन्।समाजको सानो सहयोग, सहानुभूति र साथले उनीहरूको जीवनमा पुनः उज्यालो फर्किन सक्छ। मानवीयताको यो कठिन घडीमा, सुवेदी परिवारका लागि गरिएको प्रत्येक सहयोगले दुई निर्दोष बालमनको भविष्य सुरक्षित गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।

प्रतिक्रिया राख्नुहोस्