राम बहादुर विश्वकर्मा
प्युठान,राजनीति प्रायः मञ्च,माइक र भाषणसँग जोडिन्छ। चुनावी मौसममा त झन् नाराबाजी,वाचा र प्रतिवाचाले सार्वजनिक स्थान भरिन्छन्।तर आज प्युठानको बाग्दुला बजारमा देखिएको दृश्यले यो परम्परागत राजनीतिक अभ्यासलाई फरक ढंगले चुनौती दियो। श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्ता हातमा झाडु र प्लास्टिकका झोला बोकेर बजारका सडक,गल्ली र सार्वजनिक स्थान सफा गर्दै थिए। उनीहरू भाषण गरिरहेका थिएनन्,कुनै ठूला ब्यानर टाँगिएका थिएनन्—तर कामले नै उनीहरूको सन्देश बोलिरहेको थियो।
बिहानैदेखि सुरु भएको सरसफाइ कार्यक्रममा बाग्दुला बजार क्षेत्रका मुख्य सडक,भित्री गल्ली,नाली र सार्वजनिक स्थल समेटिएका थिए। जथाभावी फालिएका प्लास्टिकजन्य फोहोर,धुलो–माटो र दुर्गन्ध फैलाइरहेका नालीहरू सफा गरियो।नेता र कार्यकर्ता एउटै लाइनमा उभिएर श्रममा जुटेका थिए न अगाडि विशेष कुर्सी,न पछाडि कार्यकर्ताको भीड। यही दृश्यले पार्टीले बोकेको ‘श्रम सबैको सम्मान’ भन्ने मूल दर्शनलाई प्रत्यक्ष रूपमा देखाएको थियो।
श्रम सस्कृती पार्टीका जिल्ला संयोजक सन्दीप बिश्वकर्माका अनुसार यो कार्यक्रम कुनै औपचारिकता पूरा गर्न गरिएको गतिविधि होइन,बरु राजनीतिक संस्कार परिवर्तन गर्ने अभ्यास हो। “समाज परिवर्तन भाषणले होइन,व्यवहारले हुन्छ,” पार्टीका एक नेताले भने, “नेतृत्वले आफैं श्रम नगरेसम्म श्रमको सम्मान समाजमा स्थापित हुन सक्दैन।” उनीहरूको भनाईमा श्रमलाई हेप्ने,सानो ठान्ने मानसिकताले नै समाजमा असमानता,फोहोर र अव्यवस्थालाई बढावा दिएको छ।
श्रम संस्कृति पार्टीले सरसफाइलाई केवल वातावरणीय अभियानका रूपमा मात्रै हेरेको छैन। पार्टीका अनुसार यो अभियान नागरिक चेतना, अनुशासन र सामूहिक जिम्मेवारी विकास गर्ने माध्यम हो। सार्वजनिक स्थान सफा राख्नु राज्यको मात्र दायित्व होइन, हरेक नागरिकको साझा जिम्मेवारी हो भन्ने सन्देश दिन पनि यो कार्यक्रम आयोजना गरिएको बताइन्छ।
कार्यक्रमले स्थानीय युवाहरूलाई विशेष रूपमा आकर्षित गर्यो। केही युवाहरू सुरुमा दर्शकका रूपमा आएका भए पनि पछि स्वस्फूर्त रूपमा श्रममा सहभागी भए। उनीहरूका अनुसार भाषणमुखी राजनीतिबाट दिक्क भएका युवाहरूका लागि यस्तो अभ्यास आशाको संकेत हो। “हामीले नेताहरूलाई धेरै बोल्दै गरेको देख्यौं,तर काम गर्दै गरेको कम,” एक स्थानीय युवाले भने,“कम्तीमा यिनीहरूले भनेको कुरा व्यवहारमा देखाएका छन्।”
स्थानीय व्यापारी र बासिन्दाहरूले पनि अभियानलाई सकारात्मक रूपमा लिएका छन्। बजार सफा भएपछि व्यापारिक वातावरण सहज भएको व्यापारीहरूको भनाई छ। “बजार सफा हुँदा ग्राहक पनि ढुक्क भएर आउँछन्,” एक व्यापारीले भने। कतिपय स्थानीय बासिन्दाहरूले यो कार्यक्रमले आफूहरूको सोचाइमा समेत परिवर्तन ल्याएको बताए। “अब हामी आफैंले पनि फोहोर जथाभावी फाल्न हुँदैन भन्ने महसुस भयो,” एक स्थानीय महिलाले भनिन्।
श्रम संस्कृति पार्टीका अनुसार सरसफाइ त केवल एउटा प्रतीक हो। पार्टीको मुख्य उद्देश्य श्रमलाई सम्मान गर्ने संस्कार विकास गर्नु र राजनीतिक नेतृत्वलाई जनतासँगै काममा उभ्याउनु हो। उनीहरूले यस्ता कार्यक्रमलाई बाग्दुला बजारमा मात्र सीमित नराखी प्युठानका अन्य स्थानहरूमा पनि निरन्तर अभियानका रूपमा अगाडि बढाउने तयारी गरेका छन्।
आज बाग्दुला बजारमा देखिएको दृश्यले स्थानीय स्तरमा मात्र होइन, व्यापक राजनीतिक बहसलाई पनि प्रश्न गरेको छ –राजनीति आखिर केका लागि हो? एक स्थानीय व्यवसायीका शब्दमा, “राजनीति सत्ता प्राप्तिको मात्र साधन होइन,समाजसँगै पसिना बगाउने जिम्मेवारी पनि हो।” बाग्दुला बजारको आजको सरसफाइले यही सन्देशलाई व्यवहारमै उतारेको छ।
प्रतिक्रिया राख्नुहोस्