राम बहादुर बिश्वकर्मा
प्यूठान,जिल्लाका उद्योगी तथा व्यवसायीहरूले दैनिक रूपमा भोग्दै आएका समस्या अब संघको कार्यालयमै सीमित रहने छैनन्। ती समस्या व्यवसायीका आँगनमै पुगेर सुन्ने उद्देश्यसहित प्यूठान उद्योग वाणिज्य संघले जिल्लाभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
संघका अध्यक्ष सन्देश आचार्यका अनुसार बजारदेखि गाउँसम्म फैलिएका उद्योग तथा व्यापार क्षेत्रका वास्तविक समस्या प्रत्यक्ष रूपमा संकलन गरी समाधानका ठोस उपाय खोज्न यो अभियान थाल्न लागिएको हो। “व्यवसायीले भोगिरहेका कर, बजार, पूर्वाधार र नीतिगत समस्याहरू कागजमा होइन, स्थलमै पुगेर बुझ्ने हाम्रो लक्ष्य हो,”उनले बताए।
मंगलबार बसेको संघको १३ औँ कार्यसमितिको पाँचौँ नियमित बैठकले संघका सदस्यहरूको अभिलेखलाई व्यवस्थित गर्ने निर्णयसमेत गरेको छ। महासचिव झविन्द्र शर्माका अनुसार उद्योगी–व्यवसायीका गुनासा सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउन संघले अझ सक्रिय पहल गर्नेछ।
बैठकले जिल्लाको पर्यटन र पहिचानसँग जोडिएका केही दीर्घकालीन योजनामा समेत ध्यान केन्द्रित गरेको छ। स्वर्गद्वारी क्षेत्रको सारीमा मुक्तिनाथ मन्दिर निर्माण, झाँक्रीस्थानमा चिल्डेन पार्क स्थापना,स्याउलीवाङको कोठीभिरमा रेलिङ निर्माण तथा प्यूठान जिल्लामा ऐतिहासिक संग्रहालय स्थापना गर्न आवश्यक पहल र पैरवी गर्ने निर्णय गरिएको छ।यी योजनाले जिल्लाको धार्मिक,सांस्कृतिक र पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
यसै अवसरमा संघका मानार्थ सदस्य,जग्गादाता तथा आजीवन सदस्य भरत कुमार श्रेष्ठले रु. ५० हजार बराबरको ‘भरत कुमार सरस्वती व्यवसायिक हित अक्षयकोष’ स्थापना गरेकोमा संघले औपचारिक धन्यवाद ज्ञापन गरेको छ। आर्थिक सहयोगले व्यवसायिक हित र संघका गतिविधिमा दीर्घकालीन सहयोग पुग्ने विश्वास लिइएको छ।
त्यसैगरी उद्योगी–व्यवसायीका समस्या सहजीकरणमा निरन्तर सहयोग पुर्याएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माप्रति आभार व्यक्त गरिएको संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिए।
घरदैलो कार्यक्रममार्फत संघले जिल्लाका उद्योगी व्यवसायीको भरोसा जित्दै,समस्या समाधानमा सेतुको भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्