गरि सिक्ने अभ्यासमा विद्यार्थी : जनता मावि बग्दुलामा सिकाई मेला सम्पन्न

गरि सिक्ने अभ्यासमा विद्यार्थी : जनता मावि बग्दुलामा सिकाई मेला सम्पन्न

राम बहादुर बिश्वकर्मा 
प्युठान,शिक्षा केवल किताबभित्र सीमित हुँदैन भन्ने सन्देशलाई व्यवहारमा उतार्दै जनता माध्यमिक विद्यालय बग्दुलामा आयोजित ‘सिकाई मेला -२०८२’ भव्य, अनुकरणीय र अर्थपूर्ण रूपमा सम्पन्न भएको छ। मेलाले विद्यालय शिक्षालाई जीवनोपयोगी, व्यवहारिक र अनुभवमूलक बनाउने प्रयासलाई सार्थक बनाएको छ।
मेलामा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले आफ्नो उमेर र स्तरअनुसार तयार पारेका विषयगत परियोजना,मोडल,चार्ट, प्रयोगात्मक सामग्री र प्रस्तुति प्रदर्शनीमा राखेका थिए। विज्ञान विषय अन्तर्गत जलचक्र,सौर्य प्रणाली,ऊर्जा संरक्षण,गणितमा सूत्रको प्रयोगात्मक प्रस्तुति,सामाजिक अध्ययनमा स्थानीय संस्कृति, भूगोल र ऐतिहासिक सम्पदासम्बन्धी नमुना विशेष आकर्षण बने।

सिकाइलाई व्यवहारसँग जोड्ने प्रयास

पाठ्यपुस्तकमा पढेका विषयवस्तुलाई आफ्नै हातले तयार पारेर प्रस्तुत गर्दा विद्यार्थीहरूमा आत्मविश्वास बढेको देखिन्थ्यो। मेलाले ‘गरि सिक्ने,अनुभवबाट सिक्ने’ शिक्षण विधिलाई प्रवर्द्धन गर्दै आलोचनात्मक सोच,समस्या समाधान क्षमता र सहकार्यको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको शिक्षकहरूको भनाइ थियो।
कार्यक्रममा अभिभावक,विद्यालय व्यवस्थापन समिति,स्थानीय जनप्रतिनिधि,शिक्षाप्रेमी तथा समुदायका अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। अभिभावकहरूले आफ्ना बालबालिकाले विद्यालयमा हासिल गरेका सीप र ज्ञान प्रत्यक्ष देख्न पाउँदा खुशी व्यक्त गरेका थिए।

कार्यक्रमको समापन समारोहमा बोल्दै विद्यालयका प्रधानाध्यापक इन्द्रमणी पोख्रेलले यस्ता सिकाई मेलाले विद्यार्थीको अन्तरनिहित प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले आगामी वर्षहरूमा मेलालाई अझ व्यवस्थित,प्रविधिमैत्री र नवप्रवर्तनमुखी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित वक्ताहरूले स्थानीय जनप्रतिनिधिहरूले विद्यालयले सीमित स्रोतसाधनका बाबजुद गुणस्तरीय शिक्षा प्रवर्द्धनमा देखाएको सक्रियताको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए।
जनता माध्यमिक विद्यालय बग्दुलामा सम्पन्न सिकाई मेला–२०८२ केवल प्रदर्शनी मात्र नभई विद्यार्थीको क्षमता,कल्पनाशक्ति र भविष्य निर्माणको आधार बनेको छ।यस्ता कार्यक्रमले विद्यालयलाई सिकाइको केन्द्र मात्र नभई सिर्जनशीलताको प्रयोगशाला बनाउने स्पष्ट सन्देश दिएको छ।