लोपोन्मुख जाति,भाषा,संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने दायित्व राज्यको हो : सांसद थापा

लोपोन्मुख जाति,भाषा,संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने दायित्व राज्यको हो : सांसद थापा

सीता बि.क
प्युठान,प्रतिनिधि सभा सदस्य सूर्य थापाले लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यको  रहेको बताउनुभएको छ।
सोमबार प्युठानको बड्डाडामा आयोजित कुसुण्डा भाषासम्बन्धी राष्ट्रियस्तरको १५ दिने तालिम उद्घाटन गर्दै सांसद थापाले यस्तो बताउनुभयो।
लोपोन्मुख र दुर्लभ भाषा हराउँदै गएको छ।अहिले कुसुण्डा बोल्ने एकजना मात्रै रहेछन् ।दुर्लभ भाषाको संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरुरी छ’, उहाँले भन्नुभयो ।
लोपोन्मुख भाषा तथा संस्कृति संरक्षणका लागि एकीकृत बस्ती निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।अहिले छरिएको बस्ती हुँदा भाषा संरक्षण नहुने उहाँको धारणा छ।सबै एकै ठाउँमा हुँदा मात्रै भाषाको अभ्यास हुने र संरक्षण हुने हुँदा एकीकृत वस्ती आवश्यक रहेको उहाँले बताउनुभयो।सांसद थापाले कुसुण्डा भाषाको स्थानीय पाठ्यक्रम बनाई उहाँहरू बसोबास गर्ने क्षेत्रमा लागू गर्न पालिकालाई सुझाव दिनुभयो ।
भाषा मानिसको पहिलो माध्यम भएको र लोपोन्मुख भाषालाई बचाउन आफूहरु लागि परेको बताउँदै यसको संरक्षण र संवद्र्धनमा स्थानीय तहले विशेष चासो राखेर तालिम आयोजना गरिएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले बताउनुभयो।संविधानले सुनिश्चितता गरेको स्थानीय भाषा शिक्षा संरक्षणका लागि कुसुण्डा भाषाको कक्षा सन्चालन गरिएको उहाँको भनाई छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले मुलुक संघीय प्रणालीमा रूपान्तरण भएसँगै भाषा,संस्कृति उत्थान र विकासमा संविधानले स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरेकाले सम्बन्धित ऐन समेत बनाईएको जानकारी दिनुभयो।हाल सरुमारानी गाउँपालिकामा ६ घरपरिवारसहित जिल्लाभर ५१ जना कुसुण्डा समुदायका सदस्य छन्।
नेपाल कुसुण्डा विकास समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुण्डाले कुसुण्डा भाषीहरूलाई एकै स्थानमा बसोबास गराउन सके भाषा संरक्षण प्रभावकारी हुने बताउनुभयो।
कुसुण्डा भाषाका अनुसन्धानकर्ता उदयराज आलेका अनुसार अन्य भाषामा अभिभावकले छोराछोरीलाई सिकाउने परम्परा भए पनि कुसुण्डा समुदायमा भने नयाँ पुस्ताले भाषा सिकेर अभिभावक र परिवारलाई सिकाउनुपर्ने अवस्था छ।
गाउँपालिकामा ६ घर परिवार रहेका छ्न । सरुमारानी सहित ऐरावाती-६, स्वर्गद्वारी-२ मा गरि ५१ जना कुसुन्डा जातिको बसोवास रहेको छ ।
८ जिल्लामा रहेका कुसुण्डा समुदाय मध्य तालिममा ६ जिल्लाको प्रतिनिधित्व रहेकोछ ।
नेपाल कुसुण्डा विकास समाजका अध्यक्ष धन बहादुर कुसुण्डाका अनुसार अनुसार, हाल प्यूठानसहित सुर्खेत, रोल्पा, अर्घाखाँची, कपिलवस्तु, तनहुँ, र गोरखा जिल्लामा कुसुण्डा समुदायको बसोवास छ। 
२०७८ को जनगणना अनुसार २७३ जनसंख्या रहेको छ ।