जन्मदिनको खर्च कटाएर मुक्तिले गरे अस्पतालमा वाटर डिस्पेन्सर सहयोग

जन्मदिनको खर्च कटाएर मुक्तिले गरे अस्पतालमा वाटर डिस्पेन्सर सहयोग

सीता बि.क
प्युठान,पछिल्लो समयमा केही युवाहरुमा आफ्नो जन्मदिन मनाउने शैलि परिवर्तन भएको छ ।आफ्नो जन्मदिनमा प्रायः मानिसहरुले केक काट्ने देखि अन्य होटल तथा रेष्टुरेन्टहरुमा भोज कार्यक्रम आयोजना गर्दछन । तर केहि मानिसहरु भने आफ्नो जन्मदिनको अवसरमा केहि रचनात्मक र सामाजिक कार्यहरुमा पनि योगदान र लगानी गर्दै आएका छन ।
कसैले विरुवा रोप्ने,कसैले विरामी तथा गरिबदुखिहरुलाई सहयोग गर्ने देखि अन्य सामाजिक कार्यमा लगानी गर्दै आएका छन ।यसैविच प्युठानका एक शिक्षकले आफ्नो जन्मदिनको अवसरमा
प्यूठान हस्पिटलका सेवाग्राहीको लागि तातोचिसो पानीको व्यवस्था सहित शुद्ध पिउने पानीका लागि वाटर डीस्पेन्सर सौजन्य गरेका छन।
प्युठान नगरपालिका वडा नम्बर ३ जुम्रीमा घर भई हाल जनता माध्यमिक विद्यालय कालाकाटेमा शिक्षण पेशामा कार्यरत शिक्षक मुक्ती प्रसाद शर्मा अधिकारीले जन्मदिनको अवसरमा प्युठान अस्पतालमा शुद्ध पिउने पानीका लागि वाटर डिस्पेन्सर सौजन्य गरेका हुन।अस्पतालमा डिस्पेसर सौजन्य गर्दै अधिकारीले जन्म दिनलाई तडक भडक नभई सामाजिक क्षेत्र र आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई सहयोग नै आफ्नो लागि सवैभन्दा ठूलो भएको अधिकारीको भनाई रहेको छ । उनले आगामि दिनमा पनि यस्तै सामाजिक क्षेत्रमा सहयोग गरेर जन्मोत्सव मनाउने धारणा व्यक्त गरे।
प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगर प्रबक्ता सुमन श्रेष्ठले अरुलाई बदल्नु छ भने राम्रा,असल र सकारात्मक पक्षको अनुसरण आफैबाट सुरुवात गर्नु पर्ने बताए।प्युठान अस्पतालमा वाटर डिस्पेन्सर सहयोग  गरेकोमा धन्यवाद दिदै प्रबक्ता श्रेष्ठले जन्मदिनलाई परोपकारी कार्य र सामाजिक कार्यमा जोड्न सकेमा सवैभन्दा पुण्य कमाई हुने बताए । 
युवा ब्यबसायी एकराज बि.क ले आधुनिकता संग-संगै जन्म दिन पछिल्लो समय भड्किलो र प्रतिस्पर्धात्मक बन्दै गएको समयमा जन्म दिनलाई रचनात्मक तरिकाले मनाउन उदाहरणीय काम भएको धारणा व्यक्त गरे। उनले जन्म दिनको अवसरमा महँङ्गा उपहार र भव्य पार्टीको आयोजना गरी गरिने फजुल खर्चको सट्टा सामजिक क्षेत्रमा गर्नु पर्नेे जोड दिए।