जिसस अनुगमन र समन्वयमा नै केन्द्रित हुनुपर्छ : सांसद थापा

प्यूठान,प्रतिनिधि सभा सदस्य सूर्य थापाले जिल्ला समन्वय समितिले आफ्नो जिम्मेवारी अनुसार अनुगमन र समन्वयको काममा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । विहीबार सातौं जिल्ला सभाको उद्घाटन शत्रमा प्रमुख अतिथी रहनुभएका सांसद थापाले संविधानले दिएको काम, कर्तव्य र अधिकारमै रहेर आफ्नो काम गर्नुपर्ने बताउनुभएको हो।“मुख्य काम अनुगमन केन्द्रित नै हो,”उहाँले भन्नुभयो, “पालिकाहरुबीच समन्वय गर्ने कुरामा प्राथमिकता दिनुपर्छ ।”उहाँले जिल्लामा सञ्चालनमा रहेका विभिन्न योजनाहरु अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै उक्त योजनालाई समयमै सम्पन्न गराउन समेत समन्वय र अनुगमन जिल्ला समन्वय समितिले गर्नुपर्ने बताउनुभयो ।प्रमुख अतिथी थापाले जिल्लामा आवश्यकताका आधारमा योजना छनौट हुनुपर्नेमा जोड दिनुभयो। जथाभावी रुपमा योजना सञ्चालन गरिदा बजेट कार्यान्वयनमा समेत समस्या सृजना भएको बताउनुभयो।स्थानीय तहले आफ्नो पालिकामा आवश्यक योजनाको डिपिआर बनाउनुपर्नेमा सांसद थापाले जोड दिनुभयो।“डिपिआर विना योजना कार्यान्वयन हुँदैन,” उहाँले भन्नुभयो,“निर्माणको लागि छुट्याएको बजेटबाट डिपिआर बनाउन मिल्दैन।”जिल्लामा कतिपय योजनामा यस्तै खालको समस्याले बजेट कार्यान्वय हुन नसकेको उल्लेख गर्नुभयो ।
जिल्ला सभामा लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य तुल्सीराम शर्मा,प्रदेश सभा सदस्य निमा गिरी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समिति प्यूठानका पूर्व प्रमुख लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुमा खरिदार दिपक पुन र कार्यालय सहयोगी शिव बहादुर रोकालाई सम्मान गरिएको थियो । जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको अध्यक्षता, उप प्रमुख दुर्गा रेग्मीको स्वागत र इन्जिनियर लक्ष्मी अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।