नेतृत्व गर्न सक्ने प्राकृतिक गुण बढी हुँदाहुँदै पनि महिलाले किन अवसर पाएका छैनन् त ?

नेतृत्व गर्न सक्ने प्राकृतिक गुण बढी हुँदाहुँदै पनि महिलाले किन अवसर पाएका छैनन् त ?

सीता बि.क
महिलाको नेतृत्व क्षमतालाई लिएर नेपाल सहित विश्वभरि नै प्रश्न उठाइन्छ।राजनीतिदेखि निजी र पेसागत क्षेत्रसम्म उनीहरूको क्षमताप्रति आशंका व्यक्त गरिन्छ।तर,थुप्रै वैज्ञानिक अध्ययन-अनुसन्धानले भने त्यसलाई गलत साबित गरेका छन्।उल्टै पुरुषका तुलनामा महिलाहरूमा नेतृत्वसम्बन्धी गुण धेरै भएको देखाएका छन् । पुरुषका तुलनामा महिलाहरूमा रहेका प्राकृतिक गुण तथा विशेषता नेतृत्वका लागि बढी प्रभावकारी पाइएका छन् ।नम्रता,आत्मनियन्त्रण,संवेदनशीलता,सामाजिक दक्षता,समानुभूति आदि नेतृत्वमा हुनुपर्ने गुणहरू महिलामा बढी हुन्छन्।

हरेक क्षेत्रमा महिलाहरूको योगदानलाई स्वीकार्ने तथा उनीहरूबाट आशा पनि राख्ने तर उनीहरूलाई नेतृत्व तहमा ल्याउन नचाहने प्रवृत्तिबाट नेपालका सबै राजनीतिक पार्टीहरू ग्रस्त छन्। 


हालै यहीँ मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा नेकपा एमालेले नेपाली पत्रकारिता जगतमा ठूलो योगदान दिएकी आदरणीय निर्मला शर्मालाई अगाडी सार्ने जुन कदम नेपाली पत्रकारितामा महिला नेतृत्व प्रवेशको गौरवपूर्ण इतिहास बनेको अनुमान गर्न सकिन्छ।निर्वाचनमा उहाँले पुरुष उमेदवार रमेश बिष्टलाई भारी मतान्तरले पछि पार्दै बिजय हासिल गर्नुभएको छ।७३ बर्षको इतिहासमा पहिलो पटक महासघको नेतृत्वमा शर्माको आगमनले फरक शन्देस दिएको पाइन्छ।पत्रकारिता पेसा नै अरूको अधिकारका लागि लड्ने पेसा हो तर पनि पत्रकार महिलामा क्षमता हुँदाहुँदै पनि आफ्नो अधिकारका लागि लड्न सकिरहेका छैनन्।त्यसैले पत्रकार महिलाले लैङ्गिक कारणले थप चुनौती सामना गर्नुपरेको छ।

पछिल्लो समय नेपाली पत्रकारितामा महिलाको प्रवेश हस्तक्षेपकारी देखिन्छ।महिलाहरू प्रायः सामाजिक रूपले निषेधित कुरा र पितृसत्तात्मक समाजका विकृति जस्ता विषयवस्तुमा कलम चलाउन रुचाउँछन्।यसले गर्दा उनीहरूले मनोवैज्ञानिक दबाब र थप चुनौती झेल्नुपर्छ।उनीहरू कार्यस्थलमा पनि पितृसत्तात्मक सोच र व्यवहारको सिकार बन्न पुगेका उदाहरण ब्याप्त छन्।उनीहरू सन्तान उत्पादनको प्राकृतिक भूमिकादेखि परम्परा,समाज र संस्कृतिले थोपरेका घरपरिवारका जिम्मेवारीहरूका साथै सन्तान हुर्काउने सम्मका अनेकन कार्यबोझले थिचिएका छन्।यसको सिधा असर उनीहरूको पेसागत कार्य सम्पादनमा परिरहेको देखिन्छ।


समतामूलक समाज नै समन्यायिक विकासको आधार हो।आधुनिक मान्यताअनुसार विकास भनेको भौतिक संरचनाको निर्माण र आर्थिक वृद्धि दरमात्र होइन।बरु सबै वर्ग र लिंगको सशक्तीकरणले यसलाई अगाडि बढाउँछ । त्यसैले यतिबेला नेतृत्वमा महिला पुग्ने र त्योखाले वातावरण निर्माणमा अगाडी बढाउने मुख्यतःनेकपा एमाले पार्टी र अन्य शुभेच्छुक तथा मतदाता सहित महिला नेतृत्वलाई सघाउनुहुने सम्पुर्णमा धन्यवाद !

देशको आधा जनसङ्ख्या ओगटेका र दिगोपनाका लागि चाहिने गुण बोकेका महिला नै नेतृत्व हाँक्ने भूमिका र अवसरबाट वञ्चित हुनुले समाजको दिगो भविष्यको कल्पनासम्म पनि गर्न सकिँदैन।नेतृत्वका लागि योग्यता भन्दा आत्मविश्वास,नम्रता भन्दा आकर्षण र इमानदारी भन्दा आत्मकेन्द्रित सोचलाई महत्त्व दिने प्रवृत्तिले गर्दा पनि महिलाहरू नेतृत्व तहमा पुग्न सकेका छैनन्।

सामाजिक विकास,समानता र सिर्जनात्मक कार्यमा महिला-पुरुष हातेमालो गरेर नेतृत्वदायी भूमिकामा पुगेर देश हाँक्नु आवश्यक छ ।तपाईको नेतृत्वले महिला पत्रकारहरुले भोग्नुपरेका याबत समस्यामा केन्द्रित भई आफ्नो कार्यकाल सम्मपन्न गर्ने तर्फ मार्ग प्रसस्त होस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।