सरकार अनावश्यक खर्च बढाउन मात्र उद्धत भयोः पूर्वअर्थमन्त्री डा.महत

सरकार अनावश्यक खर्च बढाउन मात्र उद्धत भयोः पूर्वअर्थमन्त्री डा.महत

काठमाडौं । कोरोना महामारीका कारण मुलुक तीव्र आर्थिक संकटमा गुज्रिरहेको बेला पनि सरकार अनावश्यक खर्च बढाउन उद्धत भएको नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतले आरोप लगाएका छन् ।
 संकटको घडीमा अनावश्यक खर्च कम गर्दै आवश्यक स्वास्थ्य सुरक्षा र राहत वितरणमा केन्द्रित हुनुपर्ने बेला सरकार अनावश्यक संयन्त्र तथा विभागहरु गठन गर्ने, आफ्ना मान्छेहरु भर्ति गर्ने र खर्च बढाउने कार्यमा लागेको उनको आरोप छ ।

विहीबार अर्थ विज्ञहरुसँगको भिडियो कन्फेन्समा बोल्दै पूर्वअर्थमन्त्री महतले अहिलेको सरकारले सरकारी खर्च पुनरावलोकन आयोगको सुझावलाई समेत वेवास्ता गर्दै जथाभावी खर्च गरिरहेको बताए । 

[add_block]

‘अहिलेको सरकार इतिहासकै निकम्मा सरकार हो । अहिलेसम्म कुनै पनि सरकारले यस्तो जथाभावी खर्च गरेको थिएन । यस्तो राष्ट्रिय विपतको बेलामा समेत सरकारले आफूखुशी खर्च गरिरहेको छ । यस्तो प्रवृति तत्काल रोकिनु पर्छ ’ डा.महतले भने, ‘यो सरकार खर्चमा मितव्ययी छँदैछैन । यो समयमा सुकुम्बासी आयोग किन आवश्यक प¥यो ? यही आयोगको नाममा अहिले ५ सय राजनीतिक नियुक्ति दिने रे । अनि मसिक १० करोड खर्च गर्ने गरी वार्षिक १ अरब २० करोड खर्च गर्ने रे । यस्तो नि हुन्छ ?’

‘२०४७÷४८ मा हामीले प्रशासनिक सुधार आयोग बनाउँदा मुलुकमा १ लाख २ हजार कर्मचारी दरबन्दी थियो । त्यसलाई हामीले घटाएर ७८ हजारमा ल्याएका थियौं । त्यसै गरी यो सरकारले पनि अनावश्यक दरबन्दी घटाउन सक्छ । होला अहिले संघीयताले कर्मचारीको दरबन्दी केही बढी चाहिएला । तर अनावश्यक स्थान, विभाग र कार्यालयहरुका कर्मचारीहरु त व्यवस्थापन गर्न सकिन्छ’ डा. महतले भने ।

डा.महतका अनुसार अहिले तीनै तहको सरकारहरुबीच आपसी समन्वयन छैन । विभाग, कार्यालयहरु र कर्मचारीको भूमिका, काम कर्तव्यहरु एकअर्कामा बाँझिएका छन् । अनावश्यक कार्यालहरु बढाइएका छन् । जताभावी कर्मचारीहरु भर्ति गरिएका छन् र खर्च बढाइएको छ ।

महतले मुलुकको अवस्थालाई हेरेर आवश्यक संयमितता ख्याल गर्दै लकडाउनलाई खुकुलो बनाउनु पर्ने बताएका छन् । आवश्यक र सम्भावित क्षेत्रहरु हेरी जुन जुन क्षेत्रको आर्थिक क्षेत्रलाई खुल्ला गर्न सकिन्छ त्यसलाई खुल्ला गर्ने उनको भनाइ छ । 

कोरोनाको सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै लकडाउनलाई केही खुकुलो गर्नुपर्नेमा उनको जोड छ ।