यादव पौडेल
प्युठान,माण्डबी गाउँपालिका -३ नयाँ गाउँलाई ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा गरिएको छ।
यो भनेको यो वडामा घरमा प्रसुति हुने महिलाको संख्या शून्य हुनु हो । बुधबार एक कार्यक्रमका बिच देवीस्थान स्वास्थ्य चौकीको आयोजनामा पूर्ण संस्थागत प्रसुति सेवायुक्त (नो होम डेलिभरी) वडा घोषणा गरेको हो।
जस्पुरकोट,बेसी,देवीस्थान,आपचौर जाबुने,दारिमचौर,नयाँगाउँ,जस्पुर र मार्सिवाङ गाउँ पर्दछन।
माण्डबी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव पोख्रेलका अनुसार पूर्ण सुरक्षित मातृत्व घोषणा गर्न सबै गर्भवती र सुरत्केरीले विभिन्न नौ वटा सेवा पाएको हुनुपर्छ । बच्चा गर्भमा रहेको बेला चार पटक जाँच भएको,आइरन चक्की खाएको, टिटानस विरुद्धको खोप लगाएको,अस्पतालमा सुत्केरी भएको, जन्मेपछि नाभी मलम लगाएको लगायत सेवा पाएको हुनुपर्छ। “यो सबै मापदण्ड उक्त वडाले पुरा गरेको कारण पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा गरिएको हो ।” पोख्रेलले भन्नुभयो।
कार्यक्रमको प्रमुख अतिथि माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी (रोशन)ले माण्डबि गाउँपालिकाका वडा नं ३ को नतिजाले मानिसमा चेतना बढेको पाइएको छ भन्दै पालिका अन्तर्गतका स्वास्थ्य संस्थाको स्तरोन्नतितर्फ आफू लागेको बताउनुभयो ।
सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरेर मात्र नभई पूर्ण रुपमा व्यवहारमा लागु गर्नुपर्ने उहाँको भनाई छ।
माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले पूर्ण सुरक्षित मातृत्व सेवा प्रदान गर्न गाउँपालिकाले विभिन्न स्थानमा सामुदायिक स्वास्थ
इकाई स्थापना,निशुल्क एम्बुलेन्सबाट सुत्केरी महिलाहरुलाई गन्तब्यमा पुर्याइदै आएको आएको जानकारी दिनुभयो।
कार्यक्रममा उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले घरमा हुने सुत्केरीलाई निरुत्साहित गर्दै शुन्यमा झार्ने तथा सुरक्षित प्रसूतिलाई संस्थागत गर्दै त्यसको दिगोपनाको सुनिश्चितता कायम गर्नुपर्ने बताउनुभयो।उपाध्यक्ष कालाथोकिले भन्नुभयो।“दक्ष स्वास्थ्यकर्मीबाट स्वास्थ्य संस्थामै गुणस्तरीय सुत्केरी सेवा प्रदान गरी मातृ तथा नवजात शिशुको मृत्युदरलाई घटाउन पनि मद्दत पुग्छ ।” उहाँले सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा हुँदै गर्दा हामी जति स्वास्थ्यमा संबेदनशील भएर लागेका छौ त्यसै शिक्षामा पनि एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा माण्डवी गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष बाम बहादुर बूढा, वडा ३ का वडा अध्यक्ष धनेन्द्र कार्की लगायतले मन्तव्य राख्नुभएको थियो।
पालिकामा रहेका ५ वडामध्ये यस अघि वडा २ र ४ वडालाई पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिसकेको छ।
प्रतिक्रिया राख्नुहोस्