राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाल सरकार घरेलु तथा साना उद्योग कार्यालय प्युठानको आयोजनामा औद्योगिक प्रवर्द्धन कार्यक्रम अन्तर्गत सञ्चालित तीन महिने मोबाइल मर्मत तालिमको समापन गरिएको छ।युवाहरूलाई प्राविधिक सीपमार्फत आत्मनिर्भर र स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम जुम्रीमा सम्पन्न भएको हो।
कार्यालय प्रमुख लोक राज थापा को अध्यक्षता तथा प्युठान नगरपालिका-३ का वडाध्यक्ष एवं नगर प्रवक्ता सुमनराज श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, प्रशिक्षार्थी तथा स्थानीयको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले वर्तमान समयमा सीपयुक्त जनशक्ति उत्पादन गर्नु राज्यको आवश्यकता भएको उल्लेख गर्दै युवाहरूलाई व्यवहारिक र प्रविधिमैत्री शिक्षासँग जोड्नुपर्ने बताउनुभयो।“सीप नै आजको युगको सबैभन्दा ठूलो पूँजी हो,” भन्दै उहाँले मोबाइल मर्मतसम्बन्धी ज्ञानले युवाहरूलाई आत्मनिर्भर बन्ने आधार तयार गर्ने धारणा राख्नुभयो।उहाँले सिकेको सीपलाई व्यवहारमा उतार्दै आफ्नै ठाउँमा बसेर पनि सम्मानजनक आम्दानी गर्न सकिने उल्लेख गर्नुभयो।“सीप सिक्नु भनेको केवल काम सिक्नु मात्र होइन, आफ्नो भविष्य निर्माण गर्नु हो,”भन्दै उहाँले व्यवहारिक अभ्यासमार्फत सहभागीहरूले मोबाइलका विभिन्न प्राविधिक समस्या समाधान गर्ने क्षमता हासिल गरेको बताउनुभयो।उहाँका अनुसार यस्ता तालिमहरूले बेरोजगार युवाहरूलाई उद्यमशीलता र स्वरोजगारतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्।
तालिमका प्रमुख प्रशिक्षक प्रविन बि.क ले तीन महिनासम्म सञ्चालन गरिएको तालिम सहभागीहरूका लागि उपलब्धिमूलक बनेको बताउनुभयो।उहाँले प्रशिक्षार्थीहरूले देखाएको मेहनत,अनुशासन र सिकाइप्रतिको उत्साहले तालिमलाई अझ प्रभावकारी बनाएको उल्लेख गर्नुभयो। व्यवहारिक अभ्यासमार्फत सहभागीहरूले मोबाइलका विभिन्न प्राविधिक समस्या समाधान गर्ने सीप हासिल गरेको उहाँको भनाइ थियो।उहाँले सिकेको ज्ञानलाई निरन्तर अभ्यास र मेहनतसँग जोड्न सके भविष्यमा सफल उद्यमी बन्न सकिने विश्वास व्यक्त गर्दै “आजको सानो प्रयासले भोलि ठूलो उपलब्धि दिलाउन सक्छ”भन्नुभयो।साथै,आफूलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी प्रदान गर्ने आयोजक संस्था तथा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो।
त्यस्तै नागबेली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का अध्यक्ष बिष्णु पाण्डे ले सीपमूलक तालिमहरूले युवाहरूलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।उहाँले मोबाइल मर्मतजस्तो व्यवहारिक सीपले रोजगारीका नयाँ सम्भावना सिर्जना गर्ने उल्लेख गर्दै सिकेको ज्ञानलाई व्यवहारमा लागू गरी सफल उद्यमी बन्न प्रशिक्षार्थीहरूलाई शुभकामना व्यक्त गर्नुभयो।
तीन महिनासम्म सञ्चालन गरिएको उक्त तालिममा १५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। मोबाइल मर्मत तालिमले हामीलाई व्यवहारिक सीपसँगै आत्मनिर्भर बन्ने प्रेरणा दिएको छ।पहिले सानो कामका लागि पनि अरूमा निर्भर हुनुपर्थ्यो,तर अब हामी आफैं समस्या समाधान गर्न सक्षम भएका छौं,”प्रशिक्षार्थीहरूले बताउनुभयो।उहाँहरूले तालिमले स्वरोजगारको सम्भावना अझ स्पष्ट बनाएको उल्लेख गर्दै सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्ने योजना रहेको पनि बताउनुभयो। साथै,यस्ता सीपमूलक तालिमहरू निरन्तर सञ्चालन हुनुपर्ने माग पनि उहाँहरूको थियो।
तालिम समापन सञ्चालन उद्यम विकास सहजकर्ता सङ्गिता नेपाली ले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्