राम बहादुर बिश्वकर्मा
प्युठान,सरुमारानी गाउँपालिकाले पशुपालन प्रवर्द्धन तथा कृषक सशक्तिकरणलाई केन्द्रमा राख्दै वडा नं. २ का १० जना कृषकलाई कोरेली पाडी वितरण गरेको छ। आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक “किसानसँग गाउँ सरकार कार्यक्रम” अन्तर्गत १० प्रतिशत लागत साझेदारीमा उक्त कार्यक्रम सम्पन्न गरिएको आर्थिक विकास समितिका संयोजक महोमद हलिम मियाँले जानकारी दिनुभयो।
उहाँका अनुसार गाउँपालिकाले कृषि क्षेत्रलाई परम्परागत जीविकोपार्जनको सीमाभन्दा माथि उठाउँदै उत्पादन,आयआर्जन र आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा विकास गर्ने नीति लिएको छ। सोही नीति अनुसार सञ्चालन गरिएको यो कार्यक्रमले ग्रामीण कृषि प्रणालीलाई क्रमशः व्यवसायिकतातर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ। वितरण गरिएका कोरेली पाडीहरूलाई दीर्घकालीन दुग्ध उत्पादन वृद्धि र घरेलु आयस्रोत विस्तारमा उपयोग गरिने बताइएको छ।
कार्यक्रमलाई अनुदानमुखीभन्दा पनि “लगानीमुखी विकास मोडेल” का रूपमा लिइएको गाउँपालिकाले जनाएको छ,जसले कृषकहरूमा स्वामित्वबोध, जिम्मेवारी र दीर्घकालीन उत्पादनशीलता बढाउने विश्वास गरिएको छ।
किसानसँग गाउँ सरकार कार्यक्रम अत्यन्तै प्रभावकारी बनेको सरुमारानी गाउँपालिकाका पशु विकास शाखा प्रमुख केशव गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार यो कार्यक्रम आर्थिक वर्ष २०८०/०८१ बाट औपचारिक रूपमा सुरु गरिएको हो। सुरु वर्षमै १२० वटा पाडी वितरण गरिएको थियो, जसले स्थानीय कृषकहरूमा पशुपालनतर्फ उत्साहजनक सहभागिता बढाएको देखिएको छ।
यस आर्थिक वर्षमा कार्यक्रमलाई विस्तार गर्दै पालिका भित्रका सबै वडामा गरी कुल ६० वटा पाडी वितरण गर्ने लक्ष्य राखिएको छ। सोही लक्ष्यअनुसार वडा नं. २ का १० जना कृषकलाई पाडी वितरण गरिएको हो।
शाखा प्रमुख गिरीका अनुसार पाडी वितरणसँगै कृषकहरूको नियमित अनुगमन,स्वास्थ्य परीक्षण तथा खोप कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिएको छ। वितरण गरिएका पाडीहरूको उचित हेरचाह,आहार व्यवस्थापन र रोग नियन्त्रणका लागि प्राविधिक टोलीले समय-समयमा गोठमै पुगेर सेवा दिइरहेको उहाँले बताउनुभयो। यसले पशु मृत्यु दर घटाउन र उत्पादन क्षमता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
लाभग्राही कृषकहरूले स्थानीय सरकारको पहलप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त पाडीलाई दीर्घकालीन आम्दानीको स्रोतका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले पशुपालनमा उचित हेरचाह, पोषण व्यवस्थापन र उत्पादन वृद्धिमा विशेष ध्यान दिने बताएका छन्।
स्थानीय तह र कृषकबीचको सहकार्यमा सञ्चालन गरिएको यो कार्यक्रमले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना,दूध उत्पादन वृद्धि तथा आत्मनिर्भर कृषि प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सरुमारानी गाउँपालिकाको यो पहललाई दीगो ग्रामीण विकासतर्फको प्रभावकारी कदमका रूपमा हेरिएको छ।
साथै,कार्यक्रम अन्तर्गत कृषकहरूलाई आधुनिक पशुपालन प्रणालीबारे अभिमुखीकरण,दुग्ध उत्पादन वृद्धि गर्ने उपाय तथा बजार व्यवस्थापन सम्बन्धी तालिम पनि प्रदान गरिएको छ।यसले परम्परागत पशुपालनलाई व्यवसायिक र आम्दानीमुखी बनाउन सहयोग पुगेको बताइएको छ।
स्थानीय तहले आगामी वर्षहरूमा यस कार्यक्रमलाई अझ विस्तार गर्दै सबै वडाका बढीभन्दा बढी कृषकलाई समेट्ने लक्ष्य लिएको छ। दीगो पशुपालन विकासमार्फत ग्रामीण रोजगारी सिर्जना र आर्थिक सशक्तिकरण गर्ने उद्देश्यका साथ कार्यक्रम अघि बढिरहेको जनाइएको छ।
प्रतिक्रिया राख्नुहोस्