राम बहादुर बिश्वकर्मा
प्युठान,प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाले नव नियुक्त अस्पताल विकास समिति अध्यक्ष रमेश विश्वकर्मालाई स्वागत तथा सम्मान गरेको छ। मल्लरानी गाउँपालिका–३ निवासी विश्वकर्मालाई बिहीबार स्वास्थ्य केन्द्र परिसरमा आयोजित एक कार्यक्रममार्फत स्वागत गरिएको हो। कार्यक्रममा कार्यालयका कर्मचारी,स्वास्थ्यकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
निमित्त कार्यालय प्रमुख टुक बहादुर रोकाले नयाँ अध्यक्षलाई खादा तथा अबिर लगाएर स्वागत गर्दै संस्थाको नेतृत्वमा उहाँको आगमनले आयुर्वेद स्वास्थ्य सेवाको विकास र विस्तारमा सकारात्मक ऊर्जा थपिने विश्वास व्यक्त गर्नुभयो। उहाँले पछिल्लो समय आयुर्वेद उपचारप्रति नागरिकको आकर्षण बढ्दै गएको उल्लेख गर्दै सेवाको गुणस्तर सुधार,औषधि व्यवस्थापन र नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन अस्पताल विकास समितिको सक्रिय भूमिका आवश्यक रहने बताउनुभयो।
कार्यक्रममा बोल्दै कर्मचारी तथा सरोकारवालाले आयुर्वेद स्वास्थ्य केन्द्रलाई जिल्लावासीको भरोसायोग्य स्वास्थ्य संस्था बनाउने दिशामा सबैले सहकार्य गर्नुपर्ने धारणा राखेका थिए। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा आयुर्वेद सेवा उपलब्ध गराउन सेवा विस्तार,जनशक्ति व्यवस्थापन तथा पूर्वाधार विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको थियो।
सहभागीहरूले आयुर्वेद चिकित्सा पद्धतिप्रति बढ्दो विश्वासलाई अवसरका रूपमा लिएर स्थानीयस्तरमै प्रभावकारी उपचार सेवा प्रदान गर्न सकिने बताएका थिए। पछिल्लो समय नसर्ने रोग,जीवनशैलीजन्य समस्या तथा दीर्घरोगको उपचारमा आयुर्वेदप्रति नागरिकको आकर्षण बढ्दै गएकाले यसको प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा व्यक्त गरिएको थियो।
नवनियुक्त अध्यक्ष रमेश विश्वकर्माले आफूलाई दिइएको जिम्मेवारीलाई अवसर र चुनौती दुवैका रूपमा लिएको बताउँदै संस्थाको समग्र विकासका लागि प्रतिबद्ध भएर काम गर्ने धारणा राख्नुभयो। उहाँले आयुर्वेद स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित,सेवामुखी र प्रभावकारी बनाउने लक्ष्यका साथ अघि बढ्ने बताउनुभयो।
अध्यक्ष विश्वकर्माले स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्नु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गर्दै स्थानीय तह,स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायसँग समन्वय गरेर सेवा सुधारका काम अघि बढाइने जानकारी दिनुभयो। उहाँले स्वास्थ्य केन्द्रमा उपलब्ध सेवा,औषधि तथा उपचार पद्धतिबारे नागरिकलाई थप जानकारी गराउँदै आयुर्वेदप्रति जनविश्वास अभिवृद्धि गर्न विशेष पहल गरिने बताउनुभयो।उहाँले “आयुर्वेद केवल उपचार पद्धति मात्र होइन, स्वस्थ जीवनशैलीसँग जोडिएको ज्ञान र अभ्यास पनि हो,” भन्दै यसको संरक्षण,प्रवर्द्धन र प्रभावकारी कार्यान्वयनमा सबैको साथ आवश्यक रहेको उल्लेख गर्नुभयो।कार्यक्रममा सहभागीहरूले नयाँ नेतृत्वसँग धेरै अपेक्षा रहेको जनाउँदै स्वास्थ्य केन्द्रको सेवा प्रभावकारिता बढाउन दीर्घकालीन योजना निर्माण गर्न सुझाव दिएका थिए। साथै, स्थानीयस्तरमै गुणस्तरीय आयुर्वेद सेवा उपलब्ध भए नागरिकलाई बाहिर जानुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गरिएको थियो।
स्वागत कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको स्वास्थ्य केन्द्रले जनाएको छ।
विश्वकर्मालाई लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले वैशाख ३० गते आयुर्वेद स्वास्थ्य केन्द्र प्यूठानको अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गरेको थियो।आयुर्वेद स्वास्थ्य सेवाको प्रभावकारी सञ्चालन,सेवा विस्तार तथा संस्थागत विकासलाई थप सुदृढ बनाउने उद्देश्यसहित उहाँलाई उक्त जिम्मेवारी दिइएको जनाइएको छ। स्वास्थ्य क्षेत्रसँग सामाजिक रूपमा सक्रिय रहँदै आएका विश्वकर्माबाट केन्द्रको सेवा प्रवाहलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्