राम बहादुर बिश्वकर्मा
प्युठान,आयुर्वेद स्वास्थ्य केन्द्र खलंगा,प्युठानमा बिहीबार बिहानदेखि १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिएको छ।कार्यक्रम सुरु भएदेखि नै जिल्ला विभिन्न स्थानबाट आफ्ना बालबालिकालाई स्वर्ण बिन्दु प्राशन गराउन अभिभावकहरूको उल्लेखनीय भीड लागेको छ। स्वास्थ्य केन्द्रका अनुसार कार्यक्रम साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
आयुर्वेद पद्धतिअनुसार बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि, स्मरणशक्ति विकास तथा शारीरिक–मानसिक सुदृढीकरणका लागि स्वर्ण बिन्दु प्राशन उपयोगी मानिन्छ।यही विश्वासका कारण अभिभावकहरूको आकर्षण बढ्दो देखिएको हो।तर अभिभावक तथा सरोकारवालाहरूले सेवा जिल्ला सदरमुकाममै मात्र सीमित गरिएकामा असन्तुष्टि जनाएका छन्।दुर्गम गाउँका बालबालिकाले सहज रूपमा सेवा लिन नसक्ने अवस्था रहेको भन्दै उनीहरूले कम्तीमा वडा तहसम्म कार्यक्रम विस्तार गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार यातायात,समय र आर्थिक समस्याका कारण सबै अभिभावकले सदरमुकामसम्म पुगेर सेवा लिन सम्भव हुँदैन।
स्थानीयहरूले बालबालिकाको स्वास्थ्यसँग जोडिएको यस्ता कार्यक्रम गाउँस्तरसम्म विस्तार गरिएमा बढी प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया राख्नुहोस्