पूर्वसैनिक गिरीको उद्योगले गाउँमा रोजगारी र आत्मनिर्भरता बढाउँदै

पूर्वसैनिक गिरीको उद्योगले गाउँमा रोजगारी र आत्मनिर्भरता बढाउँदै

राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाल आर्मीको सुबेदार पदबाट अवकाश पाएपछि अधिकांश मानिस शान्त र आरामदायी जीवन बिताउने सोच बनाउँछन्।वर्षौँसम्म अनुशासन,जोखिम र जिम्मेवारीको घेराभित्र रहेर काम गरेको व्यक्तिका लागि अवकाशपछि विश्राम रोज्नु स्वाभाविक पनि हो।तर प्युठान नगरपालिका–१० मरन्ठानाका विष्णु गिरीले भने आफ्नो जीवनलाई फरक ढंगले अगाडि बढाउने निर्णय गरे। उनले अवकाशपछि आरामको बाटो होइन,संघर्ष,सिर्जना र उद्यमशीलताको बाटो रोजे।सैनिक जीवनको लामो अनुभवपछि उनले गाउँमै “राप्ती गण्डकी युनिफर्म उद्योग”स्थापना गर्दै आत्मनिर्भर बन्ने मात्र होइन,स्थानीय युवालाई रोजगारी दिने अभियानसमेत थाले।अहिले उनको उद्योग मरन्ठानामा उद्यमशीलता,सीप विकास र आत्मनिर्भरताको प्रेरणादायी उदाहरण बनेको छ।नेपाल आर्मीमा रहँदा गिरीले अनुशासन,समय व्यवस्थापन,धैर्यता र कठिन परिस्थितिमा पनि जिम्मेवारी पूरा गर्ने संस्कार सिके।सैनिक जीवनले उनलाई चुनौतीसँग जुध्ने क्षमता मात्र दिएन,कुनै पनि परिस्थितिमा हार नमान्ने आत्मविश्वास समेत दियो।
“सैनिक जीवनले मलाई परिस्थितिसँग भाग्ने होइन,सामना गर्ने बानी सिकायो,” गिरी भन्छन्,“त्यही आत्मविश्वास र अनुशासनले व्यवसाय सुरु गर्न हिम्मत दियो। कठिनाइ आउँछन्,तर धैर्य राखेर काम गरियो भने समाधान पनि भेटिन्छ।”

अवकाशपछि धेरैले वैदेशिक रोजगारी,शहरमुखी व्यवसाय वा निष्क्रिय जीवन रोजिरहेका बेला उनले उत्पादनमूलक क्षेत्रमा भविष्य खोज्ने निर्णय गरे। गाउँका धेरै युवा रोजगारीको खोजीमा बाहिरिन बाध्य भइरहेका थिए।स्थानीय स्तरमा उद्योगधन्दा नहुँदा गाउँको आर्थिक गतिविधि पनि कमजोर बन्दै गएको थियो। यही अवस्थाले उनलाई गाउँमै केही उत्पादनमूलक काम गर्न प्रेरित गर्‍यो।


उनले २०६७ सालमा रुपन्देहीबाट सानो स्तरमा उक्त उक्त उद्योग व्यवसाय सुरु गरे। प्रारम्भिक चरण निकै चुनौतीपूर्ण थियो। सीमित लगानी,बजारको अनिश्चितता,दक्ष जनशक्तिको अभाव तथा उत्पादन बिक्रीको समस्या उनका लागि ठूलो चुनौती बने। कतिपय अवस्थामा उत्पादन भएर तयार भएका कपडा लामो समयसम्म बिक्री नहुँदा आर्थिक दबाब समेत बढ्थ्यो।
“सुरुका दिनहरू निकै कठिन थिए,”उनी सम्झन्छन्,“कहिलेकाहीँ लगानी डुब्ने हो कि भन्ने चिन्ता पनि हुन्थ्यो।तर मैले कहिल्यै हार मानिनँ। व्यवसायमा धैर्य र निरन्तरता आवश्यक हुन्छ भन्ने कुरा मैले सैनिक जिवनबाट सिकेको थिएँ।”
निरन्तर मेहनत,लगनशीलता र गुणस्तर प्रतिको प्रतिबद्धताका कारण विस्तारै व्यवसायले गति लिन थाल्यो। ग्राहकको विश्वास बढ्दै गयो र उत्पादनको माग पनि विस्तार हुन थाल्यो। त्यसपछि उनले उद्योग आफ्नै जन्मथलो मरन्ठानामा सार्ने निर्णय गरे।उनका अनुसार गाउँमै उद्योग सञ्चालन गर्दा स्थानीय युवाले रोजगारी पाउने,सीप सिक्ने र गाउँको आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास थियो। “गाउँमा अवसर नहुँदा युवा बाहिरिन बाध्य छन्,” गिरी भन्छन्, “यदि गाउँमै उद्योग र रोजगार सिर्जना गर्न सकियो भने धेरै युवाले आफ्नै ठाउँमा भविष्य बनाउन सक्छन्।”


हाल करिब २५ लाख रुपैयाँको लगानीमा सञ्चालन भइरहेको उद्योगमा १० जना स्थानीय महिलाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।उद्योगमा सिलाइकटाई, डिजाइन,पोशाक निर्माण तथा कपडा तयारीको काम हुँदै आएको छ।यहाँ कार्यरत महिलाहरूले नियमित आम्दानीसँगै व्यावसायिक सिप सिक्ने अवसर पनि पाएका छन्।

विशेषगरी आर्थिक अभावका कारण घरमै सीमित हुन बाध्य महिलाहरू अहिले उद्योगमा आबद्ध भएर आत्मनिर्भर बन्न थालेका छन्।उद्योगमा कार्यरत एक महिलाले भनिन्,“पहिले आम्दानीको कुनै स्रोत थिएन। अहिले आफ्नै गाउँमा काम गर्न पाउँदा आत्मविश्वास बढेको छ। परिवारलाई पनि सहयोग गर्न सकेका छौँ।”
गिरीको उद्योगमा विद्यालय पोशाक,संस्थागत ड्रेस तथा दैनिक प्रयोगका विभिन्न कपडा उत्पादन हुँदै आएका छन्।उत्पादित सामग्री प्युठानसहित छिमेकी जिल्लामा समेत पुग्ने गरेका छन्।पछिल्लो समय उत्पादनको माग बढ्दै जाँदा उद्योगको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता महसुस भइरहेको गिरी बताउँछन्।
उनका अनुसार व्यवसाय सफलताको सबैभन्दा महत्वपूर्ण आधार ग्राहकको विश्वास हो।“ग्राहकलाई गुणस्तरीय सामग्री दिन सकियो भने बजार आफैँ विस्तार हुँदै जान्छ,”उनले भने,“हामी गुणस्तरमा कहिल्यै सम्झौता गर्दैनौँ। ग्राहकको सन्तुष्टि नै हाम्रो प्राथमिकता हो।”
उद्योग विस्तारसँगै आगामी दिनमा थप मेसिन जडान गर्ने,उत्पादन वृद्धि गर्ने तथा महिला र बेरोजगार युवालाई सीपमूलक तालिममार्फत रोजगारमा जोड्ने योजना रहेको उनले जानकारी दिए। उनले उद्योगलाई अझ व्यवस्थित र आधुनिक बनाउने लक्ष्य पनि राखेका छन्।स्थानीय नागरिक तथा जनप्रतिनिधिहरूले विष्णु गिरीको प्रयासलाई उदाहरणीय कामका रूपमा लिएका छन्। वैदेशिक रोजगारीतर्फ युवाहरूको आकर्षण बढिरहेका बेला गाउँमै उद्योग स्थापना गरी रोजगार सिर्जना गर्नु सकारात्मक र प्रेरणादायी कदम भएको उनीहरूको भनाई छ।
स्थानीयका अनुसार उद्योग स्थापना भएपछि गाउँमा आर्थिक गतिविधि बढ्नुका साथै सीप र उत्पादन संस्कृतिको विकास हुन थालेको छ। यसले अन्य युवालाई पनि उद्यमशील बन्न प्रेरणा दिएको छ। गाउँमा उद्योग सञ्चालन भएपछि स्थानीय बजार चलायमान बन्न थालेको र महिलाहरू आर्थिक रूपमा सशक्त हुँदै गएको उनीहरू बताउँछन्।
सैनिक जिवनबाट उद्यमशील यात्रामा अघि बढेका विष्णु गिरीको कथा केवल व्यवसायको सफलता होइन,संघर्ष,आत्मविश्वास र आत्मनिर्भरताको कथा पनि हो। उनले मेहनत,अनुशासन र इच्छाशक्तिका माध्यमबाट गाउँमै सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।उनको यात्रा आज धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ। अवसर खोज्न विदेश वा शहर नै पुग्नुपर्छ भन्ने सोचका बिच विष्णु गिरीले गाउँमै बसेर पनि सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएका छन्।
उनी भन्छन्,“काम गर्ने इच्छाशक्ति र धैर्य भयो भने गाउँमै पनि धेरै सम्भावना छन्। आफूले मात्रै होइन,अरूलाई पनि साथ लिएर अगाडि बढ्न सकियो भने समाज परिवर्तन गर्न सकिन्छ।”