आत्मदाहको प्रयास : बुबाको मृत्यु,छोरी जीवन–मृत्युको संघर्षमा

आत्मदाहको प्रयास : बुबाको मृत्यु,छोरी जीवन–मृत्युको संघर्षमा

राम बहादुर बिश्वकर्मा 
प्यूठान,घरायसी विवादले निम्त्याएको दर्दनाक घटनाले प्यूठान नगरपालिका–९,पाहारपाखा गाउँलाई गहिरो शोक र स्तब्धतामा डुबाएको छ। आत्मदाह गर्ने प्रयासमा जलेर गम्भीर घाइते भएका ४५ वर्षीय सानू नेपालीको उपचारका क्रममा मृत्यु भएको छ भने उहाँकी १८ वर्षीया छोरी अञ्जली नेपाली अझै पनि कीर्तिपुर अस्पतालमा जीवन–मृत्युको संघर्षमा छिन्।
गत बैशाख १३ गते आइतबार राति करिब सवा १० बजेतिर भएको उक्त घटनाले एउटा सामान्य परिवारको जीवनलाई क्षणभरमै अपूरणीय क्षतिमा बदलिदियो। प्रारम्भिक विवरणअनुसार घरायसी विवादपछि सानू नेपालीले आवेशमा आएर आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका थिए। सोही क्रममा छोरी अञ्जलीले बुबालाई बचाउने प्रयास गर्दा पेट्रोल खोसाखोस भई आगो सल्किएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
क्षणभरमै फैलिएको आगोले बुबा–छोरी दुवैलाई गम्भीर रूपमा जलेको अवस्थामा पुर्‍यायो। स्थानीयवासीको सहयोगमा उनीहरूलाई तत्काल जिल्ला अस्पताल प्यूठान लगिएको थियो। प्रारम्भिक उपचारपछि मिसन अस्पताल पाल्पा हुँदै कीर्तिपुर अस्पताल काठमाडौं रेफर गरिएको थियो। तर उपचारकै क्रममा सानू नेपालीको ज्यान गयो।
अझै पनि अञ्जली नेपाली अस्पतालको शैयामा जीवन र मृत्युबीच संघर्ष गरिरहेकी छिन्। स्नातक तहमा अध्ययनरत अञ्जलीको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्। परिवार उनको स्वास्थ्य लाभको आशामा दिन–रात प्रार्थनामा छ।
सानू नेपाली वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै अटो चलाएर परिवारको दैनिक जीवन धान्दै आएका थिए। मेहनती र मिलनसार स्वभावका उनी गाउँमा परिचित थिए।उनकी श्रीमती, दुई छोरी र एक छोरा छन्।अहिले परिवारको आश्रय नै अस्पतालको कठोर वातावरणमा सीमित भएको छ।
घटनापछि पाहारपाखा गाउँमा मौनता छाएको छ। छिमेकीहरू स्तब्ध छन्। “सामान्य घरायसी विवाद यति ठूलो त्रासदीमा परिणत होला भनेर कसैले सोचेका थिएनौं,”स्थानीयवासीहरू भन्छन्।
यो घटनाले केवल एउटा परिवार मात्र होइन,समाजलाई नै गम्भीर प्रश्न गरेको छ।घरायसी तनाव,भावनात्मक दबाब र मानसिक पीडालाई समयमै सम्बोधन गर्न नसक्दा परिणाम कति विनाशकारी हुन सक्छ?
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ। तर यो घटना अब केवल समाचार होइन यो एउटा परिवारको भत्किएको जीवन, अधुरा सपना र मौन पीडाको गहिरो कथा बनेर बाँकी समाजलाई झकझक्याइरहेको छ।