सहकारी क्षेत्रको उदाहरणीय संस्था बन्दै विजय फुलबारी : अन्तर्राष्ट्रिय मापदण्डतर्फ उन्मुख यात्रा

सहकारी क्षेत्रको उदाहरणीय संस्था बन्दै विजय फुलबारी : अन्तर्राष्ट्रिय मापदण्डतर्फ उन्मुख यात्रा

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान जिल्लाको सहकारी आन्दोलनमा आफ्नै मौलिक पहिचान बनाएको विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.ले एकीकरण पछिको चौथो स्थापना दिवसको अवसरमा पत्रकार भेटघाटमार्फत आफ्नो सम्पूर्ण गतिविधि, उपलब्धि र वित्तीय अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेको छ।आफ्नै केन्द्रीय कार्यालय जुम्रीमा जिल्लाका सम्पूर्ण पत्रकारहरूको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा सहकारीले आफ्नो विकास यात्रा र भविष्य दृष्टिकोणलाई स्पष्ट रूपमा प्रस्तुत गरेको हो।
“सानो बचत, ठूलो काम आफ्नै हातले जोडौँ” भन्ने नारासहित विक्रम संवत २०५४ सालमा प्यूठानको खैरा गाउँका १३ जना युवाहरूको मासिक १०० रुपैयाँ बचतबाट सुरु भएको यो अभियान आज जिल्लाकै अग्रणी सहकारी संस्थामा रूपान्तरण भएको छ। प्रारम्भिक २ हजार ५ सय रुपैयाँ पुँजीबाट सुरु भएको संस्था आज लाखौँ सदस्यको जीवनसँग प्रत्यक्ष जोडिएको सशक्त वित्तीय संस्थाका रूपमा विकसित भएको छ।
महिला सशक्तीकरणलाई केन्द्रमा राखेर सुरु भएको विजयलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्थासँगको एकीकरणपछि संस्था अझ समावेशी, सुदृढ र प्रभावकारी बनेको छ।दुवै संस्थाको साझा उद्देश्य समुदायको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता—आज एउटै संस्थागत संरचनामा व्यवहारिक रूपमा कार्यान्वयन भइरहेको छ।
२०७९ सालको एकीकरणपछि प्यूठान नगरपालिका वडा नं. ३ जुम्री बसपार्कमा मुख्य कार्यालय स्थापना गरी संस्था सेवा विस्तारमा निरन्तर सक्रिय छ। हाल प्यूठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका,मल्लरानी, ऐरावती, माण्डवी लगायत विभिन्न क्षेत्रमा सेवा केन्द्रमार्फत हजारौँ सदस्यलाई सेवा प्रदान गर्दै आएको छ।
२०८२ चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको कुल पुँजी करिब ३१ करोड २२ लाख ५ सय ७२ रुपैयाँ पुगेको छ। कुल बचत निक्षेप २४ करोड ८१ लाख ७७ हजार ६१० रुपैयाँ, शेयर पुँजी २ करोड ५५ लाख ४६ हजार ९०० रुपैयाँ, जगेडा कोष २ करोड ५ लाख ६७ हजार ८५६ रुपैयाँ र ऋण लगानी १८ करोड ४० लाख ३६ हजार ८२४ रुपैयाँ रहेको छ। स्थिर सम्पत्ति ७८ लाख २६ हजार ७४१ रुपैयाँ ५३ पैसा तथा वित्तीय लगानी १ करोड ११ लाख २२ हजार ४४१ रुपैयाँ ८३ पैसा रहेको छ।
संस्थाले कृषि, व्यापार, शिक्षा, स्वास्थ्य, घर निर्माण, वैदेशिक रोजगार, आपतकालीन तथा उद्यमशीलता जस्ता शीर्षकमा कर्जा प्रवाह गर्दै सदस्यहरूको आर्थिक आवश्यकता पूरा गर्दै आएको छ। यसले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।
सहकारीले वित्तीय सेवासँगै सामाजिक सुरक्षा कार्यक्रमलाई पनि उत्तिकै प्राथमिकता दिएको छ। दुर्घटना बीमा, सुत्केरी सहायता,नवजात शिशु बचत, मृत्यु राहत, स्वास्थ्य सहुलियत र विद्युतिय चुलो अनुदान जस्ता कार्यक्रमहरूले सदस्यहरूको जीवनमा प्रत्यक्ष सहयोग पुर्‍याएको छ।
त्यस्तै, शिक्षा, सीप विकास, उद्यमशीलता, सांस्कृतिक संरक्षण र सामाजिक चेतना अभिवृद्धि गर्ने गतिविधिहरू पनि निरन्तर सञ्चालन हुँदै आएका छन्। रक्तदान, तीज विशेष कार्यक्रम, उद्यमी तालिम, ट्राफिक सचेतना, ज्येष्ठ नागरिक सम्मान र विद्यालय स्तरीय कार्यक्रमहरूले समुदायमा सकारात्मक प्रभाव पारेका छन्।
डिजिटल सेवा विस्तार अन्तर्गत मोबाइल एप, रेमिट्यान्स सेवा,अस्पताल सहकार्य र आपतकालीन व्यवस्थापन सेवाले सहकारीलाई आधुनिक, सहज र पहुँचयोग्य बनाएको छ।
गुणस्तर र सुशासनका क्षेत्रमा पनि संस्था सुदृढ छ। नेफ्स्कुनद्वारा प्रदान गरिएको प्रोबेसन ब्रान्ड,एक्सेस कार्यक्रम सहभागिता, ३२ वटा आन्तरिक नीति, साकोस एकरूपता प्रणाली र पल्र्स अनुगमन प्रणालीको प्रभावकारी कार्यान्वयनले संस्थालाई पारदर्शी र विश्वसनीय बनाएको छ।
“सुखी सदस्य, उत्कृष्ट साकोस” भन्ने परिकल्पनासहित अघि बढिरहेको विजय फूलबारी सहकारी आज प्यूठानको मात्र नभई समग्र सहकारी आन्दोलनको विश्वासिलो, उदाहरणीय र प्रेरणादायी संस्थाका रूपमा स्थापित भएको छ।

संस्थाका अध्यक्ष नेत्रमणि आचार्यको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार भेटघाट तथा प्रगति विवरण सार्वजनिक कार्यक्रम औपचारिक र व्यवस्थित रूपमा सम्पन्न भएको थियो।
कार्यक्रममा उपाध्यक्ष राधा पुलामीले स्वागत मन्तव्य व्यक्त गर्दै सहकारीको स्थापना कालदेखि हालसम्मको यात्रा, सदस्यहरूको निरन्तर विश्वास, एकीकरणपछि भएको संस्थागत सुदृढीकरण तथा सेवा विस्तारका उपलब्धिहरूलाई स्मरण गर्नुभएको थियो। उहाँले सहकारीलाई समुदायको आर्थिक विकाससँग जोड्ने साझा अभियानका रूपमा अघि बढाउन सबै सदस्यको निरन्तर सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
त्यस्तै,सचिव मोहन सुवेदीले कार्यक्रम सञ्चालन गर्दै सहकारीको ऐतिहासिक पृष्ठभूमि,एकीकरण प्रक्रिया र हालसम्मका प्रमुख गतिविधिहरूलाई क्रमबद्ध रूपमा प्रस्तुत गर्नुभएको थियो। उहाँले सहकारीले अपनाएको नीति, पारदर्शिता र सदस्य केन्द्रित सेवाको महत्वलाई समेत जोड दिनुभयो।
कार्यक्रमको मुख्य प्रस्तुति व्यवस्थापक प्रकाश बैद्वले गर्नुभएको थियो। उहाँले संस्थाको हालसम्मको समग्र प्रगति,सेवा विस्तार,वित्तीय अवस्था तथा सञ्चालन भइरहेका विभिन्न कार्यक्रमहरूको विस्तृत विवरण सार्वजनिक गर्नुभयो। उहाँका अनुसार सहकारीले सदस्यहरूको आर्थिक आवश्यकता पूरा गर्न कृषि,शिक्षा,स्वास्थ्य,उद्यमशीलता तथा आपतकालीन कर्जामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।
साथै,डिजिटल सेवा विस्तार,सामाजिक सुरक्षा कार्यक्रम,सदस्य सहुलियत सुविधा तथा सुशासन प्रणालीका क्षेत्रमा संस्थाले हासिल गरेका उपलब्धिहरू पनि प्रस्तुत गरिएको थियो। व्यवस्थापक बैद्वले सहकारीलाई अझ सुदृढ,पारदर्शी र सदस्यमैत्री बनाउने लक्ष्यका साथ संस्था निरन्तर अघि बढिरहेको जानकारी दिनुभयो।