किसानको विश्वास जित्दै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम : उत्पादनदेखि बजारसम्म सुधार

किसानको विश्वास जित्दै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम : उत्पादनदेखि बजारसम्म सुधार

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा कृषिलाई परम्परागत ढाँचाबाट बाहिर निकाल्दै व्यवसायिक र आधुनिक स्वरूपमा रूपान्तरण गर्ने प्रयासले गति लिएको छ।राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ,प्युठानले किसान लक्षित सेवा विस्तार गरेसँगै जिल्लामा कृषि क्षेत्रमा नयाँ उत्साह देखिन थालेको छ।
किसानलाई आवश्यक पर्ने कृषि सामग्री,आधुनिक उपकरण,तालिम,प्राविधिक ज्ञान र अनुदानलाई सहज बनाउँदै आएको कार्यालयले ग्रामीण कृषकको जीवनशैलीमै परिवर्तन ल्याइरहेको छ।पहिले सीमित उत्पादन र परम्परागत खेतीमा निर्भर किसानहरू अहिले उत्पादन वृद्धि र बजारमुखी खेतीतर्फ उन्मुख हुन थालेका छन्।
तरकारी खेती विस्तार,प्लास्टिक टनेल प्रवर्द्धन,सिँचाइ सुविधा सुधार,उन्नत बीउबिजन र आधुनिक कृषि औजारको प्रयोगले कृषकलाई व्यवसायिक सोचतर्फ आकर्षित गरेको छ। यसले उत्पादन मात्र होइन,आम्दानी र आत्मनिर्भरता पनि बढाएको किसानहरूको अनुभव छ।
प्युठान नगरपालिका वडा नम्बर ८ खप्रेङखोला स्थित जि.सि फर्मका सञ्चालक सन्तोष जि.सि का अनुसार कार्यालयले किसानको आवश्यकता बुझेर व्यवहारिक सहयोग गर्दै आएको छ। “कृषकलाई चाहिने सामग्री र प्राविधिक सहयोग सहज रूपमा उपलब्ध हुँदा कृषिमा लगानी गर्ने आत्मविश्वास बढेको छ,”उनले बताए।
उनले कार्यालय प्रमुख चुमान सिंह गिरीको नेतृत्व शैलीलाई किसानमैत्री र परिणाममुखी भन्दै प्रशंसा गरे। उनका अनुसार समस्या बुझ्ने,छिटो समाधान खोज्ने र सबै किसानलाई समान व्यवहार गर्ने शैलीले कार्यालयप्रति विश्वास बढाएको छ।
त्यसैगरी प्युठान नगरपालिका वडा नं. ९ बेबरे स्थित सृजनशिल कृषि तथा पशुपन्क्षी फर्मका संचालक गोविन्द बहादुर सुनार पनि कार्यालयको सेवा प्रवाहप्रति सन्तुष्ट छन्। उनका अनुसार कार्यालयले किसानलाई हेर्ने दृष्टिकोण नै फरक छ न सिफारिसको भर,न पहुँचको प्रभाव, केवल आवश्यकता अनुसार सेवा प्रवाह।
“कार्यालय प्रमुख त चुमान सिंह गिरी जस्तो हुनुपर्छ,” सुनार भन्छन्, “उहाँमा कुनै स्वार्थ छैन, न नजिक–टाढा भन्ने भेदभाव। सबै किसानलाई एउटै दृष्टिले हेर्ने उहाँको शैली उदाहरणीय छ।”
उनका अनुसार यस्तो निष्पक्ष र किसानकेन्द्रित नेतृत्वले कृषि क्षेत्रमा दीर्घकालीन परिवर्तन सम्भव बनाएको छ। किसानबीच सरकारी कार्यक्रमप्रति विश्वास बढ्दै गएको र अपनत्व पनि मजबुत हुँदै गएको उनले बताए।
प्युठान जिल्लामा कृषि आधुनिकीकरणलाई केन्द्रमा राख्दै सञ्चालन गरिएको जोन कार्यक्रमले जिल्लाको कृषि संरचनामा क्रमशःपरिवर्तन ल्याउन थालेको छ। कार्यालय प्रमुख चुमान सिह गिरीका अनुसार तरकारी,धान र अदुवा–बेसारलाई मुख्य आधार बनाएर उत्पादनदेखि बजारसम्मको सम्पूर्ण श्रृंखला व्यवस्थित गर्ने प्रयास भइरहेको छ।
उनका अनुसार उत्पादन मात्र होइन,उत्पादनको बिक्री सुनिश्चितता नै किसानको वास्तविक सशक्तीकरण हो भन्ने अवधारणालाई प्राथमिकतामा राखिएको छ।त्यसैअनुसार जिल्लाका विभिन्न स्थानीय तहहरूमा जोन विस्तार गर्दै कृषकलाई समूहगत खेती प्रणालीतर्फ प्रोत्साहित गरिएको छ।
हाल तरकारी जोन ६ वडाका ३२ वटा वडामा,धान जोन ५ स्थानीय तहका २४ वडामा तथा अदुवा–बेसार जोन ५ स्थानीय तहका २१ वडामा विस्तार भइसकेको छ। यसले स्थानीय उत्पादन वृद्धि मात्र नभई कृषकबीच सहकार्य र प्रविधि आदानप्रदानलाई पनि मजबुत बनाएको छ।
गिरीका अनुसार विशेषगरी अदुवा–बेसार उत्पादनमा जिल्ला आत्मनिर्भर बन्न सफल भएको छ भने अबको प्राथमिक लक्ष्य तरकारी उत्पादनमा आत्मनिर्भरता हासिल गर्नु रहेको छ। उनका अनुसार आगामी २–३ वर्षभित्र प्युठानलाई तरकारी उत्पादनमा आत्मनिर्भर बनाउने स्पष्ट योजना अघि बढाइएको छ।
यस कार्यक्रमले कृषकलाई अनुदानभन्दा पनि उत्पादनमुखी सोच, बजार पहुँच र व्यवसायिक दृष्टिकोणतर्फ लैजाने प्रयास गरेको छ। कृषि क्षेत्रलाई परम्परागत जीवनयापनको साधनबाट रूपान्तरण गरी आर्थिक विकासको आधार स्तम्भ बनाउने दिशामा यो पहल महत्वपूर्ण मानिएको छ।
यसले प्युठानमा कृषि क्षेत्रमा सकारात्मक परिवर्तनको संकेत देखिएको छ। युवापुस्ता समेत स्वदेशमै व्यवसायिक खेतीतर्फ आकर्षित हुँदै गएको छ,जसले वैदेशिक रोजगारीको विकल्पका रूपमा कृषि पेशालाई स्थापित गर्ने सम्भावना बढाएको छ।
यदि यस्तै सहकार्य किसान,स्थानीय सरकार र कार्यान्वयन इकाइ बिच निरन्तर रह्यो भने आगामी केही वर्षभित्र प्युठान तरकारी उत्पादनमा आत्मनिर्भर मात्र होइन,उदाहरणीय जिल्ला बन्न सक्ने अपेक्षा गरिएको छ।