राम बहादुर बिश्वकर्मा
प्युठान,समाजमा पछाडि पारिएका समुदायको आवाज सशक्त बनाउन र उनीहरूको अधिकार सुनिश्चित गर्न स्थानीय तहहरू सक्रिय बन्दै गएका छन्।यसै क्रममा मल्लरानी गाउँपालिका वडा नं. ३ ले समावेशी विकासतर्फ एउटा महत्वपूर्ण कदम चालेको छ वडास्तरीय दलित सञ्जाल गठन गरेर।सोमबार वडा कार्यालय निसानटाकुरामा आयोजित अभिमुखीकरण कार्यक्रम केवल औपचारिक सभा मात्र थिएन,यो दलित समुदायका लागि आफ्नो अस्तित्व र अधिकारबारे आवाज उठाउने साझा मञ्चको सुरुवात पनि थियो।कार्यक्रमले सहभागीहरूमा नयाँ उत्साह र आशा जगाएको देखिन्थ्यो।
गठन गरिएको ११ सदस्यीय सञ्जालको नेतृत्व विष्णु वि.क ले सम्हाल्नुभएको छ। उपाध्यक्षमा सोम बहादुर सार्की,सचिवमा विष्णा नेपाली,सह-सचिवमा शिवा दमाई र कोषाध्यक्षमा शुनिता नेपाली चयन हुनुभएको छ।सदस्यहरूमा मिनराज परियार,गिर बहादुर नेपाली,तिल बहादुर नेपाली,श्याम बहादुर वि.क,सावित्रा नेपाली र वाले कामी रहनुभएको छ।
मल्लरानी वडा नम्बर ३ का वडा अध्यक्ष नोमराज पौडेल सहित नव गठित दलित संजालको कार्य समितीको टिम
यस सञ्जालको गठन केवल एउटा समिति निर्माण मात्र होइन,लामो समयदेखि समाजमा भोग्दै आएको विभेद,असमानता र अवसरबाट वञ्चित अवस्थाविरुद्धको संगठित पहल पनि हो।स्थानीय तहमा पहिलो पटक स्पष्ट कार्यविधि बनाएर सञ्जाल गठन गरिनु आफैंमा सकारात्मक संकेतका रूपमा हेरिएको छ।
वडा नं.३ का वडाध्यक्ष नोमराज पौडेलका अनुसार,“यो सञ्जालले दलित समुदायको हक– अधिकारका लागि आवाज उठाउने,उनीहरूको क्षमता विकास गर्ने र स्थानीय तहका योजनामा सहभागिता बढाउने काम गर्नेछ।”उहाँले यसले समुदायमा आत्मविश्वास बढाउने र सामाजिक रुपान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।यस्ता पहलहरू केवल एउटा वडामा सीमित रहने विषय होइनन्।यदि यस्ता सञ्जालहरू सक्रिय र प्रभावकारी रूपमा सञ्चालन हुन सके भने यसले समग्र समाजमा समानता र न्यायको आधार बलियो बनाउन सक्छ।
आज गठन भएको यो सञ्जाल भोलि परिवर्तनको बलियो माध्यम बन्न सक्छ जहाँ आवाज विहीनले पनि आफ्ना कुरा निर्धक्कसँग राख्न सक्नेछन् र जहाँ सहभागिता केवल कागजमा होइन,व्यवहारमै देखिनेछ।
प्रतिक्रिया राख्नुहोस्