राम बहादुर बिश्वकर्मा
प्युठान,नगरीकको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच सुनिश्चित गर्ने उद्देश्यले प्युठानमा १०औँ स्वास्थ्य बीमा दिवस भव्य रूपमा मनाइएको छ।कार्यक्रम जिल्ला समन्वय समिति र स्वास्थ्य बीमा बोर्डको समन्वयमा स्वास्थ्य कार्यालय बिजुवारको सभाहलमा आयोजित गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले स्वास्थ्य बीमा कार्यक्रमले दीर्घकालीन रूपमा नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताए।विशेष गरी निम्न आय भएका परिवार,ज्येष्ठ नागरिक, दीर्घरोगी तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि यो कार्यक्रम अझ प्रभावकारी रहेको भनाई प्रस्तुत भयो।
कार्यक्रम सम्पन्न पश्चात् सामुहिक तस्बिर
एक दर्ता सहयोगीले भनिन।,“जनप्रतिनिधिहरूले‘तपाईंको स्वास्थ्य बीमाको कुनै काम छैन’ भन्छन्, तर हामीले देखेका वास्तविकता फरक छन्। बीमा कार्यक्रमले अझ धेरै जनतालाई सेवा पुर्याउन सकेको छैन तर यसको महत्व नकार्न सकिँदैन।”
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले रिपोर्टिङमा चुनौती रहेको बताए। उनिहरुका अनुसार,बीमा दर्ता प्रक्रियामा जटिलता,जनचेतना अभाव र प्रशासनिक कमजोरीले जनतालाई सेवाबाट पूर्ण लाभ लिन रोक लगाएको छ। जनप्रतिनिधि र स्थानीय प्रशासनबीच सहकार्यको अभावले स्थिति अझ जटिल बनेको पनि उनीहरूले औँल्याए।
उनिहरुले स्वास्थ्य बीमा सेवामा देखिएका संरचनागत र व्यवस्थापकीय चुनौतीहरूमा पनि ध्यानाकर्षण गराए। लामो समय लाइनमा बस्नुपर्ने,औषधि अभाव र सबै सेवा समेट्न नसकिने अवस्थाले सेवा प्रवाहमा जटिलता थपेको उल्लेख गरिएको छ। साथै,दर्ता प्रक्रियालाई सरल र प्रविधिमैत्री बनाउने,डिजिटल प्रणाली विस्तार गर्ने,सेवा प्रदायक संस्थाहरूको दायरा फराकिलो बनाउने र गुणस्तरीय सेवा सुनिश्चित गर्ने सुझाव दिइएको छ।
प्युठान जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुवास पौडेलले स्वास्थ्य बीमा व्यक्तिगत लाभभन्दा माथि उठेर समाज र राष्ट्रको स्वास्थ्य सुरक्षासँग जोडिएको बताए।उनले भने,“स्वास्थ्य बीमा केवल सुविधा होइन,नागरिकको सुरक्षा हो।यसको प्रभावकारिता बढाउन सेवा प्रवाहका कमजोरी सुधार्न आवश्यक छ।”स्वास्थ्य बीमा बोर्ड प्युठान शाखाका प्रमुख जेद बहादुर घर्ती मगरले जिल्ला तथ्यांक प्रस्तुत गर्दै हालसम्म करिब ३४ प्रतिशत नागरिक बिमित भएको जानकारी दिए।
१० औं स्वास्थ्य बिमा दिवसको अबसरमा जिल्लागत अवस्थाको बारेमा प्रस्तुतिकरण गर्दै स्वास्थ्य बिमा बोर्ड प्युठान शाखा प्रमुख जेद बहादुर घर्ती मगर
आर्थिक वर्ष २०८१/०८२ मा कुल ७५ हजार ५ सय ८४ जना बिमित भएका छन् भने १४ हजार ३ सय १९ परिवार यस अन्तर्गत पर्छन्।स्थानीय तह अनुसार बिमा पहुँचमा ठूलो भिन्नता छ।सबैभन्दा बढी माण्डबी गाउँपालिकामा ७४.३४ प्रतिशत नागरिक बिमित छन् भने सबैभन्दा कम सरुमारानी गाउँपालिकामा मात्र १५.२४ प्रतिशत नागरिक।अन्य स्थानीय तहमा प्युठान नगरपालिका ४६.४३%,स्वर्गद्वारी नगरपालिका ४३.२६ प्रतिशत,मल्लरानी गाउँपालिका ४३.२६ प्रतिशत झिमरुक गाउँपालिका २८ प्रतिशत,गौमुखी गाउँपालिका २३.४ प्रतिशत,नौबहिनी गाउँपालिका २०.७७ प्रतिशत र ऐरावती गाउँपालिका १७.४१ प्रतिशत नागरिक बिमित रहेका छन्।
घर्ती मगरले स्थानीय तहमा समन्वय र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर बिमा पहुँच अझ व्यापक बनाउने आवश्यकता औँल्याए।उनले बिमाको दायरामा रहेका भिन्नतालाई कम गर्दै सबै नागरिकलाई स्वास्थ्य सुरक्षामा समेट्ने लक्ष्य राखिएको बताए।
जिल्ला समन्वय समिति प्युठानका उपप्रमुख दुर्गा रेग्मीले प्रत्येक स्थानीय तहसँग सहकार्य गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन र बिमित परिवारको अनुगमन गरी स्वास्थ्य बीमाको दायरालाई व्यापक बनाउने जानकारी दिइन्। जिल्ला स्वास्थ्य प्रमुख नवीन श्रेष्ठले स्वास्थ्य बीमा बोर्डको योगदानको खुलेर प्रशंसा गर्दै गुणस्तरीय सेवा प्रवाह र पहुँच विस्तारमा सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा स्वास्थ्य कार्यालय प्युठानका कोल्ड चेन अधिकृत कोशलराज वैद्य,जिल्लाका सञ्चारकर्मी र विभिन्न वडाका सक्रिय दर्ता सहयोगीहरूको उपस्थिती थियो। कार्यक्रमको समन्वय र सञ्चालन कर्मचारी अशोक पण्डितले सम्हालेका थिए।
प्रतिक्रिया राख्नुहोस्