राम बहादुर बिश्वकर्मा
प्यूठान,प्यूठान नगरपालिकामा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाललाई आज एक कार्यक्रमका बीच स्वागत गरिएको छ।सत्यवती गाउँपालिका,गुल्मीबाट आएका भुसाललाई नगरप्रमुख बिष्णु बहादुर योगि,उपप्रमुख देवेन्द्र वर्मा तथा कर्मचारीहरूको उपस्थितिमा औपचारिक रूपमा स्वागत गरिएको हो।
कार्यक्रममा नगरप्रमुख बिष्णु बहादुर योगीले भुसाललाई खादा र अबिरसहित सम्मान व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।
स्वागत मन्तव्यका क्रममा नगरप्रमुख बिष्णु बहादुर योगीले स्थानीय तहमा प्रशासनिक सुधार, सुशासन प्रवर्द्धन र विकास आयोजनाको प्रभावकारी कार्यान्वयनमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताए।उनले विगतका अनुभव र कार्यकुशलताको आधारमा भुसालले प्यूठान नगरपालिका को समग्र कार्यसम्पादनलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।
नगरप्रमुख योगिले थपे,“स्थानीय तहमा सुशासन कायम गर्दै विकास निर्माणका कामलाई गति दिन सक्षम प्रशासनिक नेतृत्व आवश्यक रहेको छ। भुसालको अनुभव र प्रतिबद्धताले यस दिशामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा छ।”
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत भुसालले पदभार ग्रहणसँगै आफ्नो प्राथमिकताहरू स्पष्ट पार्दै सेवाग्राहीलाई सहज,छिटोछरितो र पारदर्शी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।उनले प्रशासनलाई प्रविधिमैत्री बनाउने,अनावश्यक प्रक्रियागत ढिलासुस्ती हटाउने र परिणाममुखी कार्यसम्पादनमा जोड दिने बताए।
कार्यक्रममा सहभागी कर्मचारीहरूले नयाँ नेतृत्वसँग सहकार्य गर्दै संस्थागत सुधार,अनुशासन र जिम्मेवारीबोधका साथ काम गर्ने प्रतिबद्धता जनाएका थिए। उनीहरूले कार्यालयभित्र सकारात्मक कार्यसंस्कृति विकास गर्दै सेवाग्राहीको विश्वास जित्ने लक्ष्य लिएको उल्लेख गरे।
भुसालको आगमनसँगै प्यूठान नगरपालिका मा सेवा प्रवाह थप प्रभावकारी,व्यवस्थित र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ।साथै,नयाँ नेतृत्वले नगरवासीको विश्वास जित्दै विकास आयोजना कार्यान्वयनमा तीव्रता आउने र समग्र प्रशासनिक सुधारमा टेवा पुग्ने विश्वास लिइएको छ।
प्रतिक्रिया राख्नुहोस्