राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका-४ जुम्रीलाई नगरको मुख्य बजार क्षेत्रका रूपमा लिइन्छ।बिहानैदेखि साँझसम्म मानिसको चहलपहल, सवारीसाधनको आवतजावत र व्यापारिक गतिविधिले व्यस्त रहने जुम्रीको स्वच्छता र वातावरणीय अवस्था नगरको समग्र पहिचानसँग पनि जोडिन्छ।
तर यही जुम्रीमा नियमित रूपमा फोहोर जलाउने गरिएको दृश्यले भने सरसफाइ र वातावरणीय व्यवस्थापनमाथि प्रश्न उठाएको छ।
यसरी दैनिक जसो फोहोर जलाईन्छ जुम्रीमा
हाम्रो एकता अफसेट नजिक दैनिकजसो फोहोर जलाउने गरिएको स्थानीयको भनाइ छ। फोहोरमा आगो लगाएपछि निस्कने धुवाँ वरपर फैलिँदा आसपासको वातावरण असहज बन्ने गरेको देखिन्छ। फोहोरमा प्लास्टिक तथा अन्य सामग्रीसमेत मिसिएको अवस्थामा खुला रूपमा जलाउँदा धुवाँ र दुर्गन्धको समस्या थप बढ्न सक्ने स्थानीय बताउँछन्।
फोहोर व्यवस्थापनको उद्देश्य वातावरणलाई सफा र स्वच्छ राख्नु हो। तर फोहोरलाई खुला ठाउँमा जलाएर त्यसबाट निस्कने धुवाँ हावामा फैलाउनु समस्याको दीर्घकालीन समाधान हुन सक्दैन।
यसको प्रत्यक्ष असर भने नजिकैका स्थानीयले भोग्नुपरेको गुनासो छ।
“हामी यहीँका छिमेकी हौँ, त्यसैले फोहोर जलाउँदा निस्कने धुवाँ र दुर्गन्धको प्रत्यक्ष असर हामीले भोग्नुपरेको छ। फोहोर कसले जलाउने गरेको हो भन्ने कुरा सबैलाई जानकारी नै छ। यस्तो नगर्न पटक-पटक आग्रह गर्दै आएका छौँ,तर हाम्रो आग्रहको सुनुवाइ भएको छैन,” एक स्थानीयले गुनासो गरे।
उनका अनुसार,आफ्नो घर-आँगन वा व्यवसाय वरपरको फोहोर व्यवस्थापन गर्ने नाममा छिमेकीको वातावरण नै प्रदूषित हुने गरी फोहोर जलाउनु उचित होइन। “समस्या समाधानका लागि सम्बन्धित निकायले पनि चासो दिनुपर्छ। पटक-पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि नगरपालिकाको ध्यानाकर्षण गराउनुपर्ने अवस्था आएको हो,” उनले बताए।
नगरको केन्द्रमै यस्तो अभ्यास दोहोरिरहँदा अनुगमन कहाँ छ ? फोहोर व्यवस्थापनको जिम्मेवारी कसरी पुरा भइरहेको छ ? भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।
स्थानीय नागरिकले सफा,स्वच्छ र स्वस्थ वातावरणको अपेक्षा गर्नु अस्वाभाविक होइन। बजार क्षेत्रको सौन्दर्य र वातावरण जोगाउन नागरिकको भुमिका जति महत्वपूर्ण छ,फोहोर संकलन तथा उचित व्यवस्थापनका लागि स्थानीय तहको जिम्मेवारी पनि उत्तिकै महत्वपुर्ण हुन्छ।
त्यसैले हाम्रो एकता अफसेट नजिक नियमित रूपमा फोहोर जलाउने गरिएको विषयमा प्युठान नगरपालिकाले स्थलगत अनुगमन गरी वास्तविक अवस्था बुझ्न र आवश्यक कदम चाल्नुपर्ने स्थानीयको माग छ।
फोहोर जलाएर केही समयका लागि थुप्रो हटेको देखिए पनि त्यसबाट निस्कने धुवाँले वातावरणमा समस्या थपिन सक्छ। त्यसैले फोहोरलाई जलाउने होइन,उचित स्थानमा संकलन,वर्गीकरण र व्यवस्थापन गर्ने प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ।
जुम्री नगरको मुटु हो। यसको पहिचान धुवाँ र दुर्गन्धले होइन,स्वच्छता, सुन्दरता र व्यवस्थित वातावरणले बन्नुपर्ने स्थानीयको अपेक्षा छ।
अब प्रश्न यति मात्र हो—जुम्रीमा फोहोरको धुवाँ कहिलेसम्म ?
प्रतिक्रिया राख्नुहोस्