शोभाखर पन्थी
अर्घाखाँची,संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ भव्य रूपमा मनाउन अर्घाखाँचीमा जिल्ला स्तरीय कार्यक्रम तय गरिएको छ।
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोइरालाको संयोजकत्वमा बसेको बैठकले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा जिल्लाभर विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकले दिवस मनाउन जिल्ला स्तरीय कार्यक्रम कार्यान्वयन समिति गठन गरेको छ। समितिको संयोजकमा जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइराला र सहसंयोजकमा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ रहने व्यवस्था गरिएको छ। समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नेपाल पत्रकार महासंघका अध्यक्ष तथा उद्योग वाणिज्य संघका अध्यक्षलगायतलाई सदस्य राखिएको छ। जिल्ला समन्वय समितिको कार्यालयका जिससअ सचिवलाई सदस्य–सचिव तोकिएको छ।
निर्णयअनुसार असोज ३ गते जिल्लास्थित सबै सरकारी कार्यालयमा दीप प्रज्वलन गर्नुका साथै कार्यालय परिसर सरसफाइ गरिनेछ। दिवसका अवसरमा उद्योग वाणिज्य संघ अर्घाखाँचीको संयोजनमा जिल्ला अस्पतालमा उपचाररत बिरामीलाई बिहान ७ः३० बजे पोषणयुक्त खाद्यपदार्थ वितरण गर्ने कार्यक्रमसमेत तय गरिएको छ।
त्यस्तै, रक्तदान तथा डेंगु र जापानी इन्सेफ्लाइटिसलगायत रोगसम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्वास्थ्य कार्यालय अर्घाखाँची, नेपाल पत्रकार महासंघ तथा सम्बन्धित निकायको समन्वयमा कार्यक्रम सञ्चालन गरिने भएको छ। उक्त कार्यक्रमलाई स्थानीय एफ.एम. तथा रेडियोमार्फत प्रसारण गर्ने व्यवस्था मिलाइने निर्णय भएको छ।
बैठकले सन्धिखर्क नगरपालिकाको शान्ति बगैँचाअगाडिको डिजिटल डिस्प्ले बोर्डमा संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को शुभकामनासहित सन्देशमूलक सामग्री प्रदर्शन गर्न सन्धिखर्क नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ।
त्यस्तै, निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्न नगरपालिकालाई अनुरोध गरिने भएको छ।
यस्तै शितगंगा नगरपालिकालाई सितापुरस्थित सुस्त श्रवण विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्न अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ। जिल्लाका अन्य सबै स्थानीय तहलाई पनि संविधान दिवस तथा राष्ट्रिय दिवसलाई विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाउन आग्रह गरिने भएको छ।
दिवसका लागि आयोजना हुने मूल समारोहको ब्यानरको व्यवस्था जिल्ला समन्वय समितिको कार्यालय अर्घाखाँचीले गर्ने निर्णय भएको छ। कार्यक्रमबारे जिल्लावासीलाई जानकारी गराउन सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्ने तथा सबै कार्यक्रमहरूमा सम्बन्धित जिम्मेवार निकाय र जिल्लावासीको सक्रिय सहभागिता सुनिश्चित गर्न अनुरोध गर्ने निर्णय पनि गरिएको छ।
यसैगरी,सन्धिखर्क नगरपालिका बजार क्षेत्रका टोल विकास संस्था तथा सरसफाइकर्मी परिचालन गरी बजार क्षेत्रमा सरसफाइको उचित व्यवस्था मिलाउन नगरपालिकालाई अनुरोध गर्ने निर्णय भएको छ।
बैठकले संविधान दिवस तथा राष्ट्रिय दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी जनसहभागिता, सरसफाइ, स्वास्थ्य सचेतना, सामाजिक सेवा र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने अवसरका रूपमा मनाउने उद्देश्य राखेको छ। जिल्लाका सबै स्थानीय तह, सरकारी कार्यालय, सुरक्षा निकाय,राजनीतिक दल,सामाजिक संघसंस्था,सञ्चारमाध्यम तथा नागरिकलाई कार्यक्रम सफल बनाउन सहयोग र सहभागिताका लागि आग्रह गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्