प्यूठानमा पहिलोपटक रामकथा वाचनसहित गरुण महापुराण महोत्सव हुँदै

प्यूठानमा पहिलोपटक रामकथा वाचनसहित गरुण महापुराण महोत्सव हुँदै

प्युठानमा पहिलोपटक रामकथा वाचन,श्री गरुण महापुराण,पितृमुक्ति,भक्ति-ज्ञान तथा महाआरति महोत्सव आयोजना हुने भएको छ।
परोपकार अमृत नेपाल संस्थाको आयोजना तथा प्यूठानमा क्रियाशील विभिन्न धार्मिक संस्थाहरूको सक्रियतामा महोत्सव आयोजना गर्न लागिएको हो।
प्यूठान नगरपालिका नजिकैको मैदानमा असोज १ गतेदेखि २५ गतेसम्म रामकथा वाचन तथा गरुण महापुराण महायज्ञ सञ्चालन हुने संस्थाका अध्यक्ष एवं कथावाचक अमृतशरण देवाचार्यले जानकारी दिनुभयो।
महोत्सवका क्रममा असोज २४ गते नेपालमा विभिन्न कालखण्डमा भएका विपत्तिमा ज्यान गुमाएका व्यक्तिहरूको पितृमुक्तिको कामनासहित विशेष दीप प्रज्वलन गरिने कथावाचक देवाचार्यले बताउनुभयो।
साविक राप्ती अञ्चलमै पहिलोपटक आयोजना गर्न लागिएको यस महोत्सवबाट संकलित रकम प्यूठानको बिजुवारमा राममन्दिर निर्माणमा प्रयोग गरिने महोत्सव आयोजक समितिका संयोजक शालिग्राम पण्डितले जानकारी दिनुभयो।
महोत्सव अवधिभर बिहान ६ बजेदेखि राति ९ः३० बजेसम्म विभिन्न धार्मिक तथा आध्यात्मिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा श्रीमद्भागवत गीता पाठ,वाल्मीकि रामायण मुलपाठ,पितृशुद्धि,शृङ्गारिक आरती,सत्संग तथा प्रवचन,धार्मिक झाँकी र भजन-कीर्तनलगायतका कार्यक्रम रहनेछन्।