राम बहादुर बिश्वकर्मा
प्युठान,रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बाढी प्रभावित क्षेत्रमा रहेका प्युठानका नागरिकको खोजी तथा पहिचान प्रक्रिया अघि बढाइएको छ।जिल्ला प्रशासन कार्यालय प्युठानका अनुसार हालसम्म नौ जना प्युठानवासी सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।
बाढीले रसुवा,नुवाकोट, धादिङ,चितवनलगायतका जिल्लामा प्रभाव पारेपछि ती क्षेत्रमा विभिन्न प्रयोजनले पुगेका प्युठानवासीको अवस्थाबारे प्रशासनले खोजी थालेको थियो।प्रशासनले स्थानीय तहसँग समन्वय गर्दै सम्पर्कविहीन व्यक्तिको विवरण संकलन गरेको हो।
प्राप्त विवरणअनुसार प्युठान नगरपालिका, माण्डवी,झिमरुक,सरुमारानी,गौमुखी र स्वर्गद्वारी क्षेत्रका नागरिक सम्पर्कविहीन छन्।
नौ जनाको विवरण संकलन
प्रशासनमा प्राप्त विवरणअनुसार सम्पर्कविहीन हुनेमा पिताम्बर श्रेष्ठ,सुर्य बहादुर के.सि.,सन्तोष पौडेल,राजेन्द्र महतरा,डोम बहादुर ठेडी,किसान सोमै मगर, प्रकाश जि.सि.,बोम बहादुर पुन र कृष्णा बुढा मगर रहेका छन्।
उनीहरूका आफन्तले दिएको सुचनाका आधारमा प्रशासनले विवरण सार्वजनिक गरेको हो। प्रशासनले सूचीमा रहेका व्यक्ति सम्पर्कमा आइसकेका भए तत्काल जानकारी गराउन र नयाँ रूपमा अन्य कोही पनि सम्पर्कविहीन भएको भए त्यसको जानकारी उपलब्ध गराउन आग्रह गरेको छ।
पहिचानको अर्को चरणमा डीएनए
खोजीको क्रममा पहिचान हुन नसकेका व्यक्तिको अवस्था यकिन गर्न डीएनए परीक्षणलाई प्राथमिकतामा राखिएको छ।त्यसका लागि सम्पर्कविहीन व्यक्तिका नजिकका रगतका नातेदारको नमुना संकलन भइरहेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म प्युठानमै चार जना आफन्तको रगतको नमुना संकलन गरिएको छ। संकलित नमुना भदौ २२ गते परीक्षणका लागि पठाउने तयारी छ।
नमुना संकलन गर्न बाँकी सम्पर्कविहीन व्यक्तिका आफन्तमध्ये एक जनालाई रगतको नमुना दिन प्रशासनले आग्रह गरेको छ।नमुना संकलन तथा आवश्यक समन्वयका लागि जिल्ला प्रहरी कार्यालय प्युठानले सहजीकरण गरिरहेको छ। सम्बन्धित आफन्तले जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारीको ९८५७८३७०४९ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।
डीएनए परीक्षणबाट सम्पर्कविहीन व्यक्तिको पहिचान खुलेमा परिवार तथा राज्य दुवैलाई अवस्थाको यकिन जानकारी प्राप्त हुनेछ।अहिले प्रशासनको प्राथमिकता भनेको सम्पर्कविहीन सबै नागरिकको अवस्थाबारे यथार्थ विवरण पत्ता लगाउनु र पहिचान प्रक्रिया व्यवस्थित रूपमा अघि बढाउनु हो।बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका नागरिकको खोजीमा परिवार,स्थानीय तह,प्रहरी र प्रशासनबीचको सुचना आदानप्रदान महत्वपूर्ण बनेको छ।यसैकारण प्रशासनले आफन्त,छिमेकी तथा परिचित व्यक्तिबाट प्राप्त हुने कुनै पनि सुचना तत्काल उपलब्ध गराउन अनुरोध गरेको छ। सम्पर्कमा आएका व्यक्तिको विवरण अद्यावधिक गर्नेदेखि नयाँ सम्पर्कविहीनको विवरण थप्नेसम्मको काम निरन्तर अघि बढाइने प्रशासनले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्