बद्रीको पहलमा सहयोग जुट्दै,मिर्गौला पीडित सरुलाई एकै दिन ८५ हजार

बद्रीको पहलमा सहयोग जुट्दै,मिर्गौला पीडित सरुलाई एकै दिन ८५ हजार

राम बहादुर बिश्वकर्मा 
प्युठान,२० वर्ष अघि स्याङ्जाबाट प्युठान आइपुग्दा सरु गुरुङसँग ठूलो सपना थिएन।थियो त केवल श्रम गरेर बाँच्ने र परिवारको चुलो बाल्ने एउटा अठोट। बिहानको उज्यालो नहुँदै काममा निस्कने,दिनभरि पसिना बगाउने र साँझ थाकेको शरीर लिएर फर्कने उनको जिवनको यही क्रम वर्षौंसम्म चलिरह्यो।
समय बित्दै गयो। ठाउँ फेरियो,काम फेरियो,दिनहरू फेरिए। तर सरुको जिवनमा एउटा कुरा कहिल्यै फेरिएन पसिनासँगको सम्बन्ध।
३६ वर्षीया सरुले आफ्नो जिवनका दुई दशक प्युठानमै मजदुरी गर्दै बिताइन्।यी दुई दशकमा उनले अभावसँग लडिन्,दुःखसँग सम्झौता गरिन् र थोरै कमाइबाट परिवारको जिवन धानिरहिन्।आफ्नो पीडा लुकाएर पनि परिवारको आवश्यकता पुरा गर्नु उनको बानिजस्तै बन्यो।
उनको यो यात्रामा श्रीमान् बुद्धिराम गुरुङ पनि सँगै थिए।श्रीमान्-श्रीमती दुवै दुई दशकदेखि विजुवारस्थित ओम फर्निचर उद्योगमा मजदुरी गर्दै आएका छन्। बिहान सँगै काममा पुग्ने,दिनभरि पसिना बगाउने र त्यही मजदुरीबाट घरको खर्च धान्ने उनीहरूको जिवन थियो।आम्दानी ठुलो थिएन,तर एकअर्काको साथ थियो। दुःख थियो,तर दुःख बाँड्ने दुई हात थिए।फर्निचर उद्योगमा अरूका लागि घर सजाउने सामान बनाउन उनीहरूले वर्षौं पसिना बगाए। तर आफ्नै घरमा भने अभावको कथा कहिल्यै सकिएन।
उनीहरूका लागि श्रम नै जिवन थियो। बिरामी हुँदा पनि काम रोकिँदैनथ्यो। थकाइ लाग्दा पनि अर्को दिन फेरि काममा जानैपर्थ्यो।जिवनले दिएको जिम्मेवारी पुरा गर्न उनीहरूले आफ्ना चाहनाभन्दा परिवारलाई सधैं अगाडि राखे।तर अहिले समयले उनीहरूलाई अर्को परीक्षामा उभ्याएको छ।
सरुको मिर्गौलामा समस्या देखिएको छ।उपचार आवश्यक परेको छ।अस्पताल जानुपर्ने अवस्था आएको छ। तर रोगसँग लड्नुअघि नै परिवारका अगाडि एउटा कठोर प्रश्न उभिएको छ उपचार गर्ने पैसा कहाँबाट ल्याउने?जुन परिवारले वर्षौं मजदुरी गरेर दिन काट्यो,त्यही परिवारका लागि अहिले उपचारको खर्च ठुलो बोझ बनेको छ।
बुद्धिराम अझै काम गर्छन्।तर मजदुरीबाट हुने आम्दानीले परिवारको सामान्य खर्च धान्नै मुस्किल छ। त्यसमाथि उपचारको खर्च थपिएपछि उनीहरूको अवस्था झन् कमजोर बनेको छ।

गरिबीको सबैभन्दा ठुलो पीडा सायद यही हो बिरामी भएपछि उपचार चाहिन्छ,तर उपचारका लागि पैसा चाहिन्छ पैसा कमाउन शरीर चाहिन्छ,अनि त्यही शरीर बिरामी हुन्छ।सरुको परिवार अहिले यही चक्रमा फसेको छ।तर कठिन समयमा पनि मानवता हराएको छैन।सरुको अवस्था थाहा पाएपछि विजुवार बजारका मानिसहरू र बजार आएकाहरु उनको सहयोगका लागि अघि आए। सामाजसेवि  तथा सुश्री मेडिकल हल बिजुवारका सञ्चालक बद्री प्रसाद प्रधानको पहलमा बजारवासी तथा अन्य समाजसेवीहरूले सहयोग जुटाए। एकै दिनमा ८५ हजार ४० रुपैयाँ संकलन भयो।कसैले थोरै दिए,कसैले आफ्नो क्षमताअनुसार केही बढी। तर रकमभन्दा ठुलो थियो त्यसमा जोडिएको भावना।त्यो सहयोगले मानौं एउटै सन्देश दियो-“सरु,यो कठिन बाटोमा तिमी एक्ली छैनौ।”सरु उपचारका लागि मेडिकल आएकी थिइन्। उनको स्वास्थ्य अवस्था र परिवारको आर्थिक अवस्था बुझ्दै जाँदा उपचार खर्च जुटाउनसमेत कठिन हुने देखिएपछि आफूहरूले औषधि र ल्याब परीक्षणको सेवा निःशुल्क उपलब्ध गराएको सहयोग अभियानका नेतृत्वकर्ता बद्रीले बताउछ्न।उनका अनुसार सरुको परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा थप खर्च लाग्दै जाँदा समस्या झन् बढ्ने अवस्था छ। “उपचारका लागि आएकी सरुलाई सकेसम्म सहज होस् भनेर औषधि र ल्याबको सेवा समेत निःशुल्क गरेका छौँ। तर उपचार लामो समयसम्म चल्नुपर्ने र परिवारको आर्थिक अवस्था पनि कमजोर रहेकाले हाम्रो प्रयास मात्र पर्याप्त हुँदैन। त्यसैले सरुको उपचारमा सहयोग पुग्ने उद्देश्यले सहयोग अभियान सुरु गरेका हौँ,”बद्रीले भने।उनले सरुको उपचारका लागि सहयोग गर्न चाहने व्यक्ति,संस्था तथा देश-विदेशमा रहेका नेपालीलाई आफ्नो क्षमताअनुसार सहयोग गरिदिन आग्रहसमेत गरे। “सानो सहयोगले पनि सरुको उपचारमा ठूलो राहत पुग्न सक्छ। मानवीय भावनाले सहयोग गरिदिन सबैसँग आग्रह छ,” उनले भने।

 


प्युठान नगरपालिकाको एम्बुलेन्स र संकलित सहयोग रकमको सहारामा सरुलाई उपचारका लागि बुटवल पठाइएको छ।अहिले सरुको नजर अस्पतालतर्फ छ। परिवारको आशा उपचारतर्फ छ। र उनीहरूको अर्को ठुलो भरोसा समाजको साथमा छ।सरुको आफ्नै बैंक खाता छैन।त्यसैले उपचारमा सहयोग गर्न चाहनेहरूले “बद्री प्रसाद श्रेष्ठ” को नाममा रहेको क्युआरमार्फत सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ।सरुको कथा केवल एउटा बिरामी महिलाको कथा होइन।यो दुई दशकसम्म श्रम गरेर जिवन धानेका एक दम्पतीको कथा हो।यो त्यही महिलाको कथा हो,जसका हातले वर्षौं अरूको काम सम्हाले।त्यही श्रीमानको कथा हो,जसले जिवनभर श्रीमतीसँगै दुःख बाँडे।र यो त्यस्तो परिवारको कथा हो,जसले आफुलाई कहिल्यै कमजोर ठानेन,तर अहिले परिस्थितिले उनीहरूलाई सहयोग माग्न बाध्य बनाएको छ।हिजोसम्म उनीहरू आफ्नै पसिनामा भरोसा गरेर बाँचे। आज त्यही जिवन बचाउन समाजको सहारा खोजिरहेका छन्।
२० वर्षसम्म उनीहरूले प्युठानलाई आफ्नो श्रम दिए।आज प्युठानका मानिसहरूले उनीहरूलाई आफ्नो माया र साथ दिइरहेका छन्।संकलित ८५ हजार ४० रुपैयाँले उपचारको बाटोमा एउटा पाइला अघि बढेको छ। तर उपचारको यात्रा अझै बाँकी छ। त्यसैले सरुको परिवारलाई थप सहयोगको आवश्यकता छ।हाम्रो सहयोगले उनको सम्पुर्ण समस्या समाधान नहोला।तर कसैको हातमा औषधि पुग्न सक्छ। अस्पतालसम्मको यात्रा सहज बन्न सक्छ। उपचारको अर्को चरण अघि बढ्न सक्छ।कहिलेकाहीँ ठुलो परिवर्तनका लागि ठुलो रकम होइन,सानो - सानो हातहरूको ठुलो मन चाहिन्छ।
दुई दशकसम्म सँगै पसिना बगाएका यी श्रीमान् -श्रीमतीको जिवनमा अहिले कठिन समय आएको छ।
अब उनीहरूलाई चाहिएको छ मानवताको एउटा हात,सहानुभुतिको एउटा शब्द र उपचारका लागि सानो भए पनि एउटा सहयोग।किनकि सरुले जिवनभर अरूको काम गरेर बाँच्न सिकिन्।
अब उनको आफ्नै जिवन बचाउने पालो हाम्रो सहयोगको हो।