जायश्वर जौशि
पछिल्लो समयमा ‘राजनीति’ शब्दलाई सकारात्मकभन्दा नकारात्मक किसिमले चित्रण गर्ने प्रवृत्ति छ । अनियमित, अस्वाभाविक, अनैतिक काम र घटनासँग राजनीतिलाई परिभाषित गर्नेहरुको संख्यामा पनि कमी छैन । वास्तवमा, स्वच्छ र निस्वार्थ दूरदर्शी राजनीतिले देश र जनताको भाग्य एवं भविष्य सुनिश्चित गर्छ । अहिले हरेक क्षेत्र अस्वाभाविक राजनीतिक हस्तक्षेपले अस्तव्यस्त छ । शिक्षाको विकास र विस्तार गर्ने क्रममा कतिपय अवस्थामा राजनीति साधक नभएर बाधक बनेको देखिन्छ । विद्यालयस्तरीय होस् वा उच्च शिक्षामा अनावश्यक राजनीति व्याप्त छ । राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधि निर्बाध रुपमा सञ्चालन हुन पाएका छैनन् । यो एक सकस नै हो ।
राजनीतिको कपटपूर्ण खेलको अभ्यास गर्ने थलोका रुपमा शिक्षण संस्था पनि परिचित हुन थालेको छ ।
देशको हरेक क्षेत्रमा राजनीतिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले राजनीतिक कर्मीलाई एक कुशल, सभ्य जिम्मेवार तथा ठूलो मान्छे भन्दा पनि असल नागरिक बन्नेतर्फ प्रेरित गर्ने खालको शिक्षा खट्किएको छ ।
समयको माग अनुसार शिक्षाको विकास र विस्तार गर्न राजनीति केन्द्रित हुनुपर्ने हो ।
१)प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा अभिभावक भेला नबोलाई हत्तपत्त राजनीतिक दलका प्रतिनिधि बोलाएर अनावश्यक पदीय भागबन्डाको निष्कर्ष बिहिन बहस ३/४ दिनसम्म सिर्जना गर्ने कुरा शिक्षा ऐनको कुन दफामा उल्लेख गरिएको छ ? विद्यालय दलीय संयन्त्रको आधारमा चल्ने संस्था हो कि ऐन, नियम र कानुनको आधारमा चल्ने हो ?
२)विद्यालयको पहिलो जिम्मेवार अभिभावक कि राजनीतिक दल ? ऐन नियमभन्दा बाहिर गएर कार्य गर्ने अनि विद्यालयको गति अबरोध गर्न भूमिका निर्वाह गर्ने प्रधानाध्यापकलाई कार्वाही हुने कि नहुने ? ऐन नियम कसरी फ्लो गर्ने र कार्य सम्पन्न कसरी गर्ने गराउने ? भन्ने कुराको कुशलता प्रदर्शन प्रधानाध्यापकले गर्ने कि नगर्ने ?
३)राजनीतिक दलका मित्रहरू राजनीतिको तमासा देखाउने स्थान के विद्यालयहरू हुन् ? विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नपाए तपाईंहरूका दलको अस्तित्व समाप्त नै हुने ठान्नु भएको हो र ? त्यस्तो ठान्नु भएको हो भने तपाईं अझै राजनीति बुझ्न सक्नु भएको छैन । विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा अभिभावकलाई स्वतन्त्रता प्रदान किन नगर्ने ? वि.व्य.स.का पदाधिकारी छनोट गर्ने अभिभावकको नैसर्गिक अधिकार कुन्ठित गर्ने तपाईंहरू(दलहरू)लाई कुन ऐन कानुनले छुट दिएको छ ?
४)राजनीतिक दल निकासको लागि हो कि समस्या खडा गर्न हो ? अध्यक्ष पाउनुपर्ने पार्टीका बटम लाइन भन्दै विद्यालयमा कति दिन ताण्डव प्रदर्शन गर्ने हो ? वि.व्य.स. गठन गर्ने बेला जसरी विद्यालयमा खुरी खेल्नु हुन्छ त्यस्तै गरी विद्यालयमा विविध समस्या परेको बेला कुनै एकदिन के छ समस्या भनेर विद्यालयलाई सोध्नुभएको छ ? हेक्का रहोस् तपाईंहरूको ताण्डवले न त विद्यालयमा सुधार आउँछ न त समाज नै सुध्रिन्छ । तपाईंहरूले जे गरे पनि जनताले राम्रो मान्दिनुपर्ने ?अतः शिक्षण संस्था तोकिएको विधि र प्रक्रियाबाट निर्बाध रुपमा चल्न पाउनु पर्छ । शिक्षण संस्थामा अनुशासित विद्यार्थी, लगनशील शिक्षक र सचेत अभिभावकको खाँचो पर्छ । व्यवहारिक र कडा आचारसहिंताको व्यवस्था कार्यान्वयन गरिनु पर्छ । राजनीतिकर्मीले आफ्नो अधिकार र कर्तव्यको अज्ञानताले शिक्षामा राजनीति गरेको हो भने उनीहरुको भूमिका के हुनु पर्ला भन्नेबारे अभिमुखिकरण गरिनु पर्छ । जसबाट शिक्षामा हस्तक्षेपको राजनीति गर्ने प्रवृत्तिलाई निरुत्साही गर्न टेवा पुग्छ । जानी–जानी शिक्षामा राजनीति गरेर शैक्षिक वातावरण खल्बल्याउने नियत भएका जो कोहीलाई अनुशासनको दायरामा ल्याउने तथा सार्वजनिक वहिस्कारसमेत गर्ने नीति अवलम्बन गरिनु पर्छ ।
राजनीतिले शिक्षा नीति बनाउने भएकोले देशलाई विश्वसामु एक सफल राष्ट्र बनाउन राजनीतिकर्मीको अहम भूमिका रहन्छ । राजनीतिमा आउने विकृति र विसंगतिलाई न्यूनिकरण गर्नका लागि समेत शिक्षाको अतुलनीय योगदान रहन्छ । त्यसकारण राजनीतिकर्मीले क्षणिक लाभ र स्वार्थलाई भन्दा दूरदृष्टि राखेर दिगो राजनीतिका निम्ति प्रतिस्पर्धी र प्रतिष्ठित देशको रुपमा उँभ्याउन शिक्षामा अशोभनीय राजनीति गर्न तत्काल त्याग्नु पर्छ । तसर्थ, शिक्षामा राजनीति कि राजनीतिमा शिक्षा भन्ने विषय हरेक राजनीतिक दलले गहन बहस गर्ने बेला आएको छ ।
शिक्षण संस्थामा कार्यरत शिक्षक देखि उच्च पदाधिकारीहरुले विद्यार्थीको पठनपाठनलाई केन्द्रमा राखेर नीति/नियम, योजना निर्माण र कार्यान्वयन गरिनु पर्छ । उनीहरूको कार्य दक्षताको मुल्यांकन गर्दा विद्यार्थीले हासिल गरेको उपलब्धि स्तरलाई प्रतिस्पर्धी श्रम बजारमा खपतको आधारमा दाँजेर हेरिनु पर्छ । सबै राजनीतिक दलहरुले शिक्षण संस्थालाई मर्यादित एवं स्वच्छ वातावरणमा चल्न दिन व्यवहारमा समेत उतार्नेखालको संकल्प गरेमा निश्चय नै नेपाललाई गुणस्तरीय शिक्षा हासिल गर्ने उत्कृष्ट थलोको रूपमा स्थापित गर्न सकिन्छ ।
लेखक
गौमुखी उच्च माध्यमिक बिध्यालय ठुलाबेसीका शिक्षक हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्