ए सरकार ! यसरी देश कति दिन चल्छ र चलाउने हो ?

जायश्वर जैसी 
कोरोनाको नाममा सारा देश अस्तव्यस्त भैसक्यो । यसको नाममा कमाउधन्दा र राजनैतिक दाउँपेच विश्वभर चलेको छ । पुँजीवादी व्यवस्थाको  गतिलो विशेषता भनेको  कुनै एउटा बस्तु/घटना लाई देखाउने अनि आम जनतालाई तर्साएर लुट्ने हो । आज कतै पुँजीवादका सुतखोरहरूले त्यही धन्दा गर्ने त गरिरहेका छैनन् । 

विभिन्न देशका तथ्य र तथ्यांकका आधारमा हेर्दा कोरोनाको मृत्युदर अन्य रोगभन्दा निकै कम छ । अहिले विश्वभर र नेपालका अस्पतालहरूमा बिरामी पुगेपछि सबैभन्दा पहिले कोरोना चेक गरिन्छ अनि पोजेटिभ र नेगेटिभको बिल्ला पहिर्‍याइन्छ । शरीरका अन्य अंग एवम् रोगको  चेकजाँच नै गरिदैन । कोरोना पोजेटिभ भएकाहरूको मृत्यु भयो भने कोरोनाको कारण मृत्यु भएको घोषणा गरिन्छ । कतिपय त मृत्यु भैसकेपछि कोरोनाको कारण भएको भनी पुष्ट्याईँ गरिन्छ । यसले गर्दा जे रोग भए पनि त्यसलाई मिनिमाइज गर्ने तर कोरोनाको हौवा पिटिरहने अनि कोरोना त खतरनाक भाइरस हो भन्दै सारा मानिसलाई कोठाभित्र थुनेर लुटिरहने प्रपञ्च बिस्तार गरिएको छ । 

कोरोना भाइरसको संक्रामक शक्ति बढी हो भने दाहसंस्कार गरिएको व्यक्तिमा कोरोनाको पुष्टि भएपछि दाहसंस्कारमा सहभागी कति जनालाई कोरोना पुष्टि भयो अनि कतिको मृत्यु भयो खुलाउन सक्छ सरकारले ? कोरोनाको स्वाव संकलन गरे पश्चात् रिपोर्ट नआउन्जेल संगै खाएका, बसेका,सुतेका अधिकांश तथाकथित  संक्रमित भनिएकाका आफन्तहरूमा किन कोरोना संक्रमण पुष्टि भएन ? यसको अनुसन्धान किन गरिदैन ? 

कोरोना संक्रमितका आफन्तलाई नजिक पर्न नदिने एवं मृत्यु संस्कार गर्न नदिनुको पछाडि कतै आफन्त नजिक भएको खण्डमा सर्दैन, सर्ने रहेनछ भन्ने थाहा पाउन सक्छन् र आफ्नो निहित स्वार्थ पूरा गर्न बाधा पुग्न सक्छ भन्ने माफियाहरूको रणनीति त होइन ? यसको पनि अध्ययन गर्नु पर्ने कि नपर्ने ? हालसम्म अरु कैयौं सरुवा रोग एकाघरका कोहीलाई भयो भने अन्यलाई सर्छ अनि मर्छ भन्ने थाहा हुँदा हुदै पनि कसैलाई  आइसोलेसन गरिएन, संगै राखियो, अहिलेका मापदण्ड पनि अपनाइएन । कतै कोरोनामा कुनै योजना घुसेको छ कि भनेर अनुसन्धान किन नगर्ने ?

पहिले क्वारेन्टाइनमा बसेकाहरूको PCR परीक्षण गरौं  भन्दा RDT को धन्दा गरियो र मान्छेहरूलाई RDT नेगेटिभको आधारमा समुदायमा पठाइयो । आज समुदायस्तरमा कोरोना फैलियो भन्दै मान्छेलाई घरभित्र थुनेर  PCR को धन्दा गरिदै छ । यस्ता धन्दाहरू कति महिना/ वर्ष चलाउने हो ? 

आज मास्कको लगातार प्रयोगले अक्सिजनको अभाव हुने र त्यसको असरले स्वासप्रस्वासमा समस्या उत्पन्न भएपछि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिने भन्ने कुरा बाहिर आएका छन् । यसको वास्तविकता अनुसन्धान गर्ने कि नगर्ने ? 

कोरोनाले सबैभन्दा भयावह भएको भनिएको इटालीमा त्यहाँको एक स्वास्थ्य सम्बन्धी अध्ययनले कोरोनाको कारण मृत्यु  भएका भनिएका मध्ये ९९.२% मानिसको मृत्यु अन्य रोगबाट भएको भन्ने बारे किन अध्ययन नगर्ने ? नेपालमा पनि कोरोनाको कारण अहिलेसम्म १० जनाको मात्र मृत्यु भएको हो भन्ने स्वास्थ्य मन्त्रालयका अधिकारीको भनाइलाई जनताले के बुझ्ने ? विश्व स्वास्थ्य संगठनले जारी गरेका प्रोटोकलहरू माफियाहरूको डिजाइनमा भएको भन्दै जर्मनी लगायतका राष्ट्रहरूमा मास्कबिना नै हजारौंको प्रदर्शन हुनु एवम् ब्रुन्डी लगायतका देश्बाट विश्व स्वास्थ्य संगठनका संस्था र त्यसका  प्रतिनिधिलाई लखेटेको घटनालाई कसरी लिने ?

कोरोनाको नाममा सारा विश्वलाई बन्दाबन्दी(लकडाउन)को व्यापार  गरेर भ्याक्सिन आउदै छ/पत्ता लागिसक्यो भन्ने हल्ला चलाउदै समुदायमा गए त बर्बाद हुन्छ भन्दै लकडाउन गरी मस्त सुत्न लगाएर ध्वस्त पार्न थालेको किन न बुझ्ने ? हालसम्म लकडाउन नै नगरेका देशमा कोरोनाको न्यून स्थितिलाई कसरी विश्लेषण गर्ने ?

के कोरोनाको औषधि लकडाउन, निषेधाज्ञा, शील हुन् र ? हावा, फोहोर एवम् खकारबाट पनि धेरै रोग सर्ने गर्छन्, किन लगडाउन गरिदैन ? हरेक रोगको उपचारका लागि कुनै न कुनै औषधिको प्रयोग गरिन्छ । तर, कोरोना देखिएका २ करोड ६१ लाख बढी मध्ये १ करोड ८४ लाखभन्दा धेरै  त औषधि बिना नै निको भैसके । अन्य संक्रमित भनिएकाहरू पनि सामान्य अवस्थामा छन् । केही लाख मरेका भनिएका पनि अन्य रोगका कारण भएको भन्ने अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक हुन थालेका छन् । 

हालसम्मका कोरोना सम्बन्धी देखाइएका सत्यहरूले कोरोनाको अवस्था अझै वर्षौं वर्षसम्म यस्तै रहन सक्ने सम्भावनालाई पश्रय दिएको देखिन्छ । कोरोना केही हो भने  जनजीवनलाई यथास्थानमा निरन्तर चल्न दिएर PCR परीक्षणको दायरालाई व्यापक बनाइ व्यस्थित बनाऔं । कोरोना केही होइन भने  माफियाहरूको जालोबाट मुक्त भएर राष्ट्र निर्माणका अन्य काममा लागौं । सारा मानिसलाई मनोवैज्ञानिक रूपमा आतंकित गराएर हरेक क्षेत्र अस्तव्यस्त हुँदासम्म अझै सुतिरहन खोज्नु कोरोनाको निहुँमा जनतालाई गुमराहमा राख्नु हो । आज मध्यम र निम्न वर्गका मानिसको पीडालाई बुझ्नु राज्यको दायित्व होइन र ?