गौमुखीमा बहुमुखी क्याम्पस स्थापनाको तयारी  

जायश्वर जैशी 
प्युठान,गौमुखी गाउँपालिकाभित्र एउटा उच्च शिक्षा अध्ययनको लागि क्याम्पस स्थापनाको सम्भाव्यता अध्ययन गर्न गौमुखी गाउँकार्यपालिकाले सम्भाव्यता अध्ययन समिति बनाई प्रक्रिया अगाडि बढाएको छ । गौमुखी गाउँपालिकाको गौरवको योजना अन्तरगत राखेर काम गर्न सकिने गाउपालिका अध्यक्ष विष्णुकुमार गिरीले बताउनु भएको छ । सम्भाव्यता अध्ययन समितिको संयोजकमा सामाजिक एवं  शिक्षाप्रेमी व्यक्तित्व ज्ञामुराम न्यौपाने रहनु भएको छ भने सो समितिमा यस सम्बद्ध  व्यक्तिहरू रहनु भएको छ । सम्भाव्यता अध्ययनको क्रममा चुनौती र अवसरका बारेमा स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठानका क्याम्पस प्रमुख गुञ्ज बहादुर खड्का, गौमुखी क्याम्पस मच्छीका क्याम्पस प्रमुख शेर बहादुर जिसी लगायतको उपस्तिथिमा छलफल समेत सम्पन्न गरिएको छ । क्याम्पस स्थापनाका लागि आवश्यक पर्ने स्थान(भूगोल)छनोट, विद्यार्थीको उपलब्धता, संकाय(विषय) छनोट, सम्बन्धन प्राप्ति, जनशक्ति व्यवस्थापन, नियमित रूपमा आर्थिक स्रोतको पहिचान लगायतका विषयहरूमा आफ्नो धारणा सहितको योजना पेस गर्न सम्भाव्यता अध्ययन समितिका सदस्यहरूलाई  जिम्मेवारी बाँडफाँड गरेको समितिका संयोजक ज्ञामुराम न्यौपानेले जानकारी दिनुभएको छ ।