गाउँको मुहार फेर्ने अभियान : बुकिडाँडा बन्दैछ,सम्भावनायुक्त पर्यटन गन्तव्य

गाउँको मुहार फेर्ने अभियान : बुकिडाँडा बन्दैछ,सम्भावनायुक्त पर्यटन गन्तव्य

राम बहादुर बिश्वकर्मा
प्युठान,बिहान सबेरै बुकिडाँडाको टुप्पोमा पुग्दा लाग्छ,मानौँ आकाश नै हातले छोइन्छ।तलतिर फैलिएको हरियाली भू-भाग,माथिबाट बिस्तारै झुल्कँदै गरेको सुनौलो घाम,चिसो हावाको स्पर्श र चराचुरुङ्गीको मधुर स्वरले वातावरणलाई यति शान्त बनाइदिन्छ कि केही क्षणका लागि संसारका सबै थकान हराएझैँ अनुभूति हुन्छ।
मल्लरानी गाउँपालिका-३ को बुकिडाँडा अहिले केवल एउटा रमणीय डाँडा मात्र होइन,सम्भावनाको नयाँ कथा बोकेको ठाउँ बनेको छ। प्रकृतिको अनुपम उपहारले भरिएको यो क्षेत्र ग्रामीण पर्यटनको आकर्षक केन्द्र बन्ने यात्रामा अघि बढिरहेको छ।
१९औँ गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा वडा नं. ३ ले आयोजना गरेको “होमस्टे सञ्चालनका लागि अवसरहरू”विषयक अन्तरक्रिया कार्यक्रमले बुकिडाँडाको पर्यटन विकासप्रति नयाँ उत्साह थपेको छ। वडा अध्यक्ष नोमराज पौडेल को पहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, सञ्चारकर्मी, बुद्धिजीवी,युवा तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि कृष्ण बहादुर खड्का ले बुकिडाँडामा पर्यटन विकासको अथाह सम्भावना रहेको बताउनुभयो।
“प्रकृतिले हामीलाई धेरै कुरा दिएको छ,”उहाँले भन्नुभयो, “अब त्यसलाई सही रूपमा उपयोग गर्दै गाउँको आर्थिक समृद्धिसँग जोड्ने समय आएको छ।”
उहाँका अनुसार होमस्टे सञ्चालनले गाउँमै रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र युवालाई विदेशिनबाट रोक्ने आधार तयार गर्न सक्छ। पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन सडक, विद्युत, खानेपानी, सञ्चारलगायतका पूर्वाधार विकासलाई प्राथमिकतामा राखिने उहाँले जानकारी दिनुभयो।
त्यस्तै गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ ले विश्वभर ग्रामीण पर्यटनप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै मल्लरानीको मौलिक संस्कृति र प्राकृतिक सौन्दर्य नै यहाँको वास्तविक सम्पत्ति भएको धारणा व्यक्त गर्नुभयो।
“पर्यटकहरू अब केवल होटलको सुविधा खोज्दैनन्,” उहाँले भन्नुभयो, “उनीहरू गाउँको जीवन, संस्कृति,परम्परा र आत्मीयता अनुभव गर्न चाहन्छन्। बुकिडाँडासँग त्यो सबै कुरा छ।”
उहाँले होमस्टेलाई केवल व्यवसाय नभई संस्कृति संरक्षणको अभियानका रूपमा व्याख्या गर्दै स्थानीय परिकार, मौलिक कला र गाउँले जीवनशैलीले पर्यटकलाई विशेष अनुभूति दिलाउन सक्ने बताउनुभयो।
वडा अध्यक्ष नोमराज पौडेल ले बुकिडाँडालाई प्युठानकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित विभिन्न योजना अघि बढाइएको जानकारी दिनुभयो।
“बुकिडाँडाको पहिचान अब केवल एउटा डाँडा होइन,”उहाँले भन्नुभयो,“यो प्रकृति, संस्कृति र सम्भावनाको संगम हो।”
उहाँका अनुसार पदमार्ग निर्माण,विश्रामस्थल व्यवस्थापन, सूचना बोर्ड स्थापना तथा होमस्टे प्रवर्द्धनका कार्यक्रमलाई क्रमशः विस्तार गरिनेछ।
बुकिडाँडाको विशेषता केवल मनोरम दृश्यमा सीमित छैन। यहाँको मौलिक गाउँले जीवनशैली नै यसको सबैभन्दा ठूलो आकर्षण हो।
नेपाल पत्रकार महासंघ प्युठान शाखाका अध्यक्ष राम भण्डारी ले बुकिडाँडा प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको बताउँदै यसको पहिचान र प्रवर्द्धनमा स्थानीय समुदाय तथा स्थानीय सरकारको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयो।
उहाँले बुकिडाँडाको प्राकृतिक सौन्दर्य,मनोरम दृश्य, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीलाई व्यवस्थित रूपमा उजागर गर्न सके निकट भविष्यमा यस क्षेत्र जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने विश्वास व्यक्त गर्नुभयो।
“पर्यटन विकास केवल भौतिक संरचना निर्माणमा सीमित हुँदैन,” उहाँले भन्नुभयो, “स्थानीय नागरिकको सहभागिता, सकारात्मक सोच,अतिथि सत्कारको संस्कृति र पर्यटनमैत्री वातावरण निर्माण पनि उत्तिकै महत्वपूर्ण हुन्छ।”
स्थानीय सरकार, सरोकारवाला निकाय,सञ्चारमाध्यम र समुदायबीचको सहकार्यले बुकिडाँडाको पर्यटन विकासलाई थप गति दिने उहाँको भनाइ थियो। सञ्चार क्षेत्रले पनि ओझेलमा परेका यस्ता सम्भावनायुक्त गन्तव्यहरूको प्रचारप्रसार गरी राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो।
“प्रकृतिले दिएको अमूल्य सम्पदाको संरक्षण गर्दै त्यसलाई आर्थिक समृद्धिसँग जोड्न सकियो भने बुकिडाँडाले पर्यटन क्षेत्रमा नयाँ पहिचान स्थापित गर्नेछ,” उहाँले भन्नुभयो, “यसका लागि स्थानीय सरकारको योजनाबद्ध पहल र स्थानीयवासीको अपनत्व सबैभन्दा महत्वपूर्ण पक्ष हो।”
ढिँडो, गुन्द्रुक, लोकल कुखुरा, अर्गानिक तरकारी, मेलापात र आत्मीय आतिथ्यताले यहाँ आउने पाहुनालाई गाउँसँग भावनात्मक रूपमा जोड्न सक्छ। यही मौलिकता बुकिडाँडाको सबैभन्दा बलियो पर्यटन सम्पदा हो।
साँझपख डाँडामाथि बसेर सूर्यास्त हेर्दा प्रकृतिले आफ्ना सबैभन्दा सुन्दर रङहरू यहीँ पोखेको अनुभूति हुन्छ। रात पर्दै जाँदा गाउँभरि देखिने झिलिमिली बत्ती र आकाशभरि टल्किने ताराहरूले बुकिडाँडाको सौन्दर्यलाई अझ मोहक बनाइदिन्छन्।
स्थानीयवासीहरूका अनुसार आवश्यक पूर्वाधार, प्रभावकारी प्रचारप्रसार र पर्यटनसम्बन्धी तालिममा ध्यान दिन सकियो भने बुकिडाँडा केवल प्युठानकै होइन, लुम्बिनी प्रदेशकै आकर्षक ग्रामीण पर्यटन गन्तव्य बन्न सक्छ।
रोजगारीको खोजीमा युवाहरू विदेशिने क्रम बढिरहेका बेला बुकिडाँडाले भने गाउँमै सम्भावनाको उज्यालो देखाउन थालेको छ। यहाँ अहिले केवल चिसो हावा मात्र बहिरहेको छैन, एउटा सपना पनि बगिरहेको छ,गाउँ नछोडी गाउँमै भविष्य निर्माण गर्ने सपना। यही सपनाले बुकिडाँडालाई समृद्धिको नयाँ यात्रातर्फ डोर्‍याइरहेको छ।