राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान उद्योग वाणिज्य संघको २८औं वार्षिक साधारण सभा यसपटक केवल संस्थागत समीक्षा वा औपचारिक भेटघाटको कार्यक्रम मात्र नभई जिल्लाको आर्थिक भविष्य,विकासको दिशा र निजी क्षेत्रको भूमिकाबारे गम्भीर विमर्श भएको एउटा महत्वपूर्ण मञ्चका रूपमा देखा पर्यो।
कार्यक्रममा देशको आर्थिक संरचनामा निजी क्षेत्रको स्थानबारे स्पष्ट सन्देश दिँदै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्मा ले निजी क्षेत्रको सशक्तीकरण,विस्तार र संरक्षणलाई दिगो आर्थिक विकासको आधारशिला बताउनुभयो। उहाँका अनुसार उत्पादनदेखि रोजगारी सिर्जना,आयात प्रतिस्थापनदेखि निर्यात प्रवर्द्धनसम्मका सम्पूर्ण आर्थिक गतिविधिमा निजी क्षेत्रको भूमिका निर्णायक रहँदै आएको छ।
उहाँले निजी क्षेत्रलाई कमजोर बनाइएमा देशको समग्र आर्थिक विकासको गति स्वतः सुस्त हुने चेतावनी समेत दिनुभयो। उहाँले निजी क्षेत्रलाई अझ प्रतिस्पर्धी, सक्षम र विश्वासिलो बनाउन सके मात्र देशले अपेक्षित आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्न सक्ने स्पष्ट धारणा व्यक्त गर्नुभयो।
आर्थिक वर्ष २०८३/०८४ को बजेटप्रति टिप्पणी गर्दै उहाँले यसलाई महत्वाकांक्षी र दीर्घकालीन दृष्टिकोणसहितको दस्तावेजको रूपमा व्याख्या गर्नुभयो। तर,उहाँका अनुसार वास्तविक चुनौती नीति निर्माण होइन,त्यसको प्रभावकारी कार्यान्वयन हो। कार्यान्वयन पक्ष कमजोर भएमा राम्रो नीति पनि कागजमै सीमित हुने उहाँको भनाइ थियो।
प्युठानको विकास सन्दर्भमा उहाँले उठाएको प्रश्न विशेष ध्यानयोग्य रह्यो। धार्मिक तथा पर्यटकीय गन्तव्य स्वर्गद्वारीलाई मात्र प्राथमिकतामा राखेर जिल्लाको समग्र विकास,पूर्वाधार विस्तार र औद्योगिक सम्भावनालाई ओझेलमा पारिएकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। सडक सञ्जालको सुधार,उद्योग स्थापनाको वातावरण,लगानी आकर्षण र रोजगारी सिर्जनाका अवसर अझै पनि अपेक्षित स्तरमा पुग्न नसकेको उहाँले औंल्याउनुभयो।
उपाध्यक्ष शर्माले प्युठानलाई विकासको मूलधारमा ल्याउन सरकार,स्थानीय तह र निजी क्षेत्रबीच त्रिपक्षीय समन्वय,सहकार्य र साझा दृष्टिकोण अनिवार्य रहेकोमा जोड दिनुभयो। उहाँका अनुसार विकास कुनै एक पक्षको प्रयासले मात्र सम्भव हुँदैन,सामूहिक प्रतिबद्धता आवश्यक हुन्छ।
कार्यक्रममा बजेटप्रति असन्तुष्टिको स्वर पनि स्पष्ट रूपमा सुनियो। सहभागी वक्ताहरूले हालै प्रस्तुत बजेटमा प्युठान जिल्लाको नाम नै समावेश नभएकोप्रति गम्भीर आपत्ति जनाएका छन्। मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्काले जिल्लालाई राज्यले निरन्तर विकास योजनामा उपेक्षा गरेको आरोप लगाउँदै आक्रोश व्यक्त गर्नुभयो।
उहाँले प्युठानलाई विकासको दृष्टिकोणले किन पछाडि पारिन्छ भन्ने प्रश्न अब केवल राजनीतिक नभई जनजीविकासँग जोडिएको विषय बनेको बताउनुभयो।त्यसैगरी कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम शर्मा,धनलक्ष्मी श्रेष्ठ,जिल्ला समन्वय प्रमुख धरमबहादुर जि.सि, प्रमुख जिल्ला अधिकारी शान्तिराज शर्मा,संघका पुर्ब अध्यक्ष ज्ञामुराम न्यौपाने,नेपाल पत्रकार महासंघ प्युठान शाखा अध्यक्ष श्रीराम भण्डारीसाहित्य परिषद प्युठानका अध्यक्ष बिमला खनाल लगायत वक्ताहरूले जिल्लाको विकास,बजेट विनियोजन र लगानी विस्तारमा राज्यको ध्यान अझै कमजोर रहेको भन्दै गम्भीर ध्यानाकर्षण गराउनुभयो।
संघका अध्यक्ष सन्देश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम वरिष्ठ उपाध्यक्ष कृष्णभक्त गिरीको स्वागत मन्तव्यबाट सुरु भएको थियो। महासचिव झबिन्द्र शर्मा ले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कुमार श्रेष्ठ ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघको एक वर्षको गतिविधि र आगामी योजनाबारे विस्तृत जानकारी दिनुभयो।
कार्यक्रमको भावनात्मक पक्ष भने सम्मान कार्यक्रम रह्यो। संघले जिल्लाभर सक्रिय रहेका विभिन्न क्षेत्रका उद्यमी तथा व्यवसायीहरूलाई विशेष सम्मान प्रदान गर्दै उनीहरूको दीर्घकालीन योगदानलाई सार्वजनिक रूपमा सम्मान गरेको हो। स्थानीय उत्पादन,सेवा विस्तार,रोजगारी सिर्जना र आर्थिक गतिशीलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यवसायीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।
यो सम्मान केवल औपचारिकता नभई उनीहरूको निरन्तर मेहनत र समर्पणको सार्वजनिक स्वीकृति भएको सहभागीहरूले बताएका छन्। सम्मानले व्यवसायीहरूमा थप आत्मविश्वास,प्रेरणा र जिम्मेवारीबोध पैदा गरेको प्रतिक्रिया उनीहरूले दिएका छन्।
संघले आगामी दिनमा पनि उद्यमशीलता विकास, सीप अभिवृद्धि, व्यवसायिक क्षमता वृद्धि तथा लगानीमैत्री वातावरण निर्माणका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
समग्रमा हेर्दा,यो साधारण सभा केवल वार्षिक कार्यक्रम नभई प्युठानको आर्थिक सम्भावना,विकासको दिशा,नीति–निर्माणको चुनौती र निजी क्षेत्रको भविष्यबारे गहिरो बहस भएको एक अर्थपूर्ण मञ्चका रूपमा स्थापित भएको देखिन्छ।
प्रतिक्रिया राख्नुहोस्