गाउँ-गाउँसम्म पुगेको खोप सेवा : सरुमारानी पूर्ण खोप सुनिश्चित पालिका

गाउँ-गाउँसम्म पुगेको खोप सेवा : सरुमारानी पूर्ण खोप सुनिश्चित पालिका

राम बहादुर बिश्वकर्मा
प्युठान,बालबालिकाको सुरक्षित भविष्य र स्वस्थ समाज निर्माणको लक्ष्यसहित सरुमारानी गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरेको छ।गाउँपालिकाको बहुउद्देश्यीय सभाहल बड्डाँडामा आयोजित कार्यक्रममा स्थानीय सरकार,स्वास्थ्यकर्मी र समुदायको साझा प्रयासले हासिल गरेको उपलब्धिलाई औपचारिक रूपमा घोषणा गरिएको हो।
गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धर्म बहादुर जि.सि को प्रमुख अतिथ्यता,उपाध्यक्ष बसन्ता खड्का,प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्का,जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेश बाबू श्रेष्ठ,वडा अध्यक्ष तथा सदस्यहरू,स्वास्थ्य संस्थाका कर्मचारी,नर्सिङ स्टाफ, महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गरिएको सर्वेक्षणअनुसार गाउँपालिकाभित्र रहेका १६ देखि ५९ महिनासम्मका १ हजार १५० जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेको तथ्य सार्वजनिक गरिएको थियो। यो उपलब्धिसँगै गाउँपालिकाले बाल स्वास्थ्य सुरक्षामा महत्वपूर्ण सफलता हासिल गरेको बताइएको छ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्दै खोप पहुँच विस्तार,स्वास्थ्य संस्थाको नियमित सेवा र अभिभावकको सचेत सहभागिताले पूर्ण खोप सुनिश्चितता सम्भव भएको उल्लेख गर्नुभयो। कार्यक्रम सञ्चालन पब्लिक हेल्थ नर्स सृजना नेपालीले गर्नुभएको थियो।वक्ताहरूले खोप केवल रोगबाट बच्ने माध्यम मात्र नभई बालबालिकाको जीवन रक्षा र स्वस्थ समाज निर्माणको आधार भएको धारणा राखेका थिए। विशेषगरी गाउँ -गाउँमा पुगेर नियमित खोप सेवा सञ्चालन गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको मेहनतको खुलेर प्रशंसा गरिएको थियो।
यसैबीच उक्त अभियानमा योगदान पुर्‍याउने स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो। सम्मानित हुने व्यक्तिहरूप्रति गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा ले कृतज्ञता व्यक्त गर्दै स्वास्थ्य क्षेत्रको सफलता सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताउनुभयो। उहाँले गाउँपालिकाभित्र कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिन स्थानीय सरकार निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।उहाँका अनुसार पूर्ण खोप सुनिश्चितता घोषणा केवल एउटा औपचारिक प्रक्रिया नभई समुदायको स्वास्थ्यप्रतिको उत्तरदायित्व,अभिभावकको सचेत सहभागिता र स्वास्थ्यकर्मीहरूको अथक मेहनतको प्रतिफल हो। गाउँ-गाउँमा पुगेर सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयंसेविका तथा आमा समूहको भूमिकाले नै अभियानलाई सफल बनाएको उहाँको भनाइ थियो।
अध्यक्ष विश्वकर्माले आगामी दिनमा पनि नियमित खोप सेवा,जनचेतनामूलक कार्यक्रम तथा स्वास्थ्य संस्थाको सुदृढीकरणमार्फत प्राप्त उपलब्धिलाई दिगो बनाइने उल्लेख गर्दै स्वस्थ बालबालिका नै समृद्ध समाजको आधार भएको धारणा व्यक्त गर्नुभयो। सरुमारानी गाउँपालिकाले अब खोप सेवाको निरन्तरता,नियमित अनुगमन र जनचेतना अभिवृद्धिमार्फत उपलब्धिलाई दिगो बनाउने प्रतिबद्धता जनाएको छ।