मेड्पा कार्यक्रमले ग्रामीण महिलामा उद्यमशील सोच विकास गर्‍यो : प्रवक्ता सुमनराज श्रेष्ठ

मेड्पा कार्यक्रमले ग्रामीण महिलामा उद्यमशील सोच विकास गर्‍यो : प्रवक्ता सुमनराज श्रेष्ठ

राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठान नगरपालिकाका नगर प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक सुमनराज श्रेष्ठले उद्यमशीलता तालिममा महिलाको सतप्रतिशत सहभागिता हुनु केवल एउटा तथ्य मात्र नभई समाज परिवर्तनको सकारात्मक संकेत भएको बताउनुभएको छ।


प्युठान नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत प्युठान नगरपालिका वडा नं. ७ पुण्यखोलामा सञ्चालित व्यवसाय सचेतना सुरु तथा लैङ्गिक समानता सम्बन्धी तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले महिलाहरूको सक्रियता र उत्साहले स्थानीय सरकारलाई थप जिम्मेवार र उत्साहित बनाएको उल्लेख गर्नुभयो।उहाँले विगतमा महिलाहरू घरायसी जिम्मेवारीमा मात्रै सीमित हुने अवस्था रहे पनि अहिले सीप,क्षमता र आत्मनिर्भरताको माध्यमबाट आर्थिक गतिविधिमा अग्रसर हुन थालेको बताउनुभयो।“समाजको समृद्धि महिलाको सहभागिताविना सम्भव छैन,”भन्दै उहाँले महिलाहरू उत्पादन,व्यवसाय,कृषि,हस्तकला तथा साना उद्यममार्फत परिवारको आर्थिक अवस्था सुधार गर्ने दिशामा अघि बढिरहेको धारणा राख्नुभयो।उहाँले मेड्पा कार्यक्रमले ग्रामीण क्षेत्रमा रहेका विपन्न तथा बेरोजगार महिलाहरूलाई उद्यमशीलतासँग जोड्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सीपमूलक तालिमले महिलामा आत्मविश्वास बढाउनुका साथै आफ्नै गाउँठाउँमा स्वरोजगार सिर्जना गर्न प्रेरणा दिएको बताउनुभयो। स्थानीय सरकारले महिलालाई आर्थिक रूपमा सक्षम बनाउन आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

त्यसैगरी,तालिममा सहभागी महिलाहरूलाई सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न आग्रह गर्दै उहाँले तालिमलाई केवल प्रमाणपत्रमा सीमित नराखी व्यवहारिक उद्यममा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।महिलाहरूको सक्रियता,मेहनत र इच्छाशक्तिले गाउँ–समाजमा नयाँ परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उहाँले सबैलाई निरन्तर मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो।
मेड्पा कार्यक्रमअन्तर्गत सामाजिक परिचालनको चरण पूरा गरी उद्यमशीलता तथा व्यवसाय सचेतना सुरु तथा लैङ्गिक समानता सम्बन्धी तालिम सम्पन्न भइसकेपछि अब प्रशिक्षार्थीहरूबाट छनोट भएका सहभागीहरूलाई लक्षित गरी सीप विकास तालिम सञ्चालन गरिने उद्यम विकास सहजकर्ता शारदा बिश्वकर्मा ले जानकारी दिनुभयो।
उहाँका अनुसार प्रारम्भिक चरणमा समुदायस्तरमा गरिएका सामाजिक परिचालन,व्यवसाय सचेतना तथा लैङ्गिक समानता सम्बन्धी तालिमले सहभागीहरूमा उद्यमशील सोच,आत्मविश्वास र स्वरोजगारप्रतिको आकर्षण बढाएको छ।अब त्यसलाई व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यका साथ आवश्यकता र सम्भावनाका आधारमा सीपमूलक तालिम सञ्चालन गरिने तयारी गरिएको उहाँले बताउनुभयो।
सीप विकास तालिममा सहभागीहरूको रुचि, स्थानीय स्रोत–साधन, बजारको माग तथा आयआर्जनको सम्भावनालाई मध्यनजर गर्दै   व्यवसायिक तालिमहरू समावेश गरिने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो।
प्युठान नगरपालिका वडा नं. ७ का वडा सदस्य ध्रुव थापा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य तुलसा नेपाली लगायत प्रशिक्षार्थीहरु उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले मेड्पा कार्यक्रमले ग्रामीण समुदायमा उद्यमशीलताको वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै प्रशिक्षार्थी सङ्गिता नेपालीले उद्यमशीलता तालिमले आफ्नो सोच र दृष्टिकोणमा ठूलो परिवर्तन ल्याएको बताउनुभयो। “पहिला व्यवसाय गर्ने कुरा ठूलाठूला मानिसले मात्रै गर्ने काम हो भन्ने लाग्थ्यो,तर अहिले साना लगानीबाट पनि आफ्नै उद्यम सुरु गर्न सकिने रहेछ भन्ने आत्मविश्वास आएको छ,”उहाँले भन्नुभयो।
उहाँले तालिमले लघु उद्यम,व्यवसाय सञ्चालन,बचत, लगानी तथा आत्मनिर्भरताका विषयमा व्यवहारिक ज्ञान दिएको उल्लेख गर्दै अब सीप सिकेर आफ्नै व्यवसाय सञ्चालन गर्ने लक्ष्य राखेको बताउनुभयो। महिलाहरूलाई घरको काममै सीमित नराखी आर्थिक गतिविधिसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी रहेको भन्दै उहाँले स्थानीय सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो।