राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका–९ मरन्ठाना पारपाखामा घटेको एक अत्यन्तै दुःखद घटनाले अहिले सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ।सामान्य पारिवारिक विवादका क्रममा ४५ वर्षीय सानु नेपालीले आफ्नो शरीरमा पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेका थिए।
सो दृश्य आफ्नै आँखाअघि देखेपछि उनकी १८ वर्षीया छोरी अन्जली नेपाली बुवालाई रोक्न दौडिइन्।“बुवा,यस्तो के गर्नुभएको?”भन्दै रोक्ने प्रयास गर्दा नै उनी पनि आगोको चपेटामा परिन् र गम्भीर घाइते भइन्।घटना २०८३ वैशाख १३ गते राति करिब १०:१५ बजे भएको थियो।तत्काल स्थानीयवासी र परिवारका सदस्यहरूले उद्धार गरी दुवैलाई प्रारम्भिक उपचारका लागि बिजुवार अस्पतालमा पुर्याएका थिए।तर अन्जली र उनका बुवाको अवस्था अत्यन्तै गम्भीर बनेपछि थप उपचारका लागि पाल्पा हुँदै काठमाडौं रिफर गरिएको थियो। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद पनि स्वास्थ्यमा सुधार आउन सकेन।उपचारकै क्रममा बुवा सानु नेपालीको निधन भयो।बुवाको निधनपछि परिवारमा थप गहिरो पीडा थपियो।१८ वर्षीया छोरी अन्जली नेपाली पनि उपचारकै क्रममा लामो संघर्षपछि जीवनसँगको युद्ध हार्न बाध्य भइन्।
बुवाको मृत्यु भएको ११ दिन नपुग्दै छोरीको पनि निधन भएपछि एउटै परिवारमा दुई जीवन एकपछि अर्को गरी समाप्त हुँदा परिवार मात्र होइन,सिंगो समाज नै स्तब्ध बनेको छ।
अन्जलीको घरमा अहिले आमा,भाई र बहिनी गहिरो शोकमा छन्।एकैछिनको घटनाले परिवारको सम्पूर्ण आधार नै भत्किएको छ। श्रीमान गुमाएको पीडा र छोरी गुमाएको पीडाबीच आमा भावविह्वल छिन्।उनी बारम्बार आँसु झार्दै भन्छिन्–“बाबु–छोरी दुवैलाई बचाउन धेरै प्रयास गरियो,ऋण पनि चुलियो,तर अन्त्यमा केही पनि जोगाउन सकिएन। अब मेरो जीवन र साना छोराछोरीको भविष्य कसरी अघि बढाउने भन्ने चिन्ताले रातदिन सताइरहेको छ।”
अन्जली केवल एक छोरी मात्र होइनन्,उनी साहस,माया र मानवीय संवेदनाको प्रतीक थिइन्। बुवालाई जोगाउने प्रयासमा आफैं जीवन जोखिममा राखेर अगाडि बढ्नु उनको निस्वार्थ प्रेम र समर्पणको उदाहरण बनेको छ। यस्तो उमेरमा देखाएको साहसले उनको व्यक्तित्वलाई अझ उज्यालो बनाएको थियो, तर नियतिले त्यो उज्यालो धेरै छिटो निभाइदियो।स्थानीयवासीका अनुसार अन्जली मिलनसार,अनुशासित र पढाइमा निकै सक्षम विद्यार्थी थिइन्।शिक्षक,साथीभाइ र समाजसँग उनको व्यवहार अत्यन्तै राम्रो थियो।अन्जली जनता माध्यमिक विद्यालय,बाग्दुलामा उनी १२ कक्षामा अध्ययनरत थिइन्।उज्यालो भविष्य,अनुशासित जीवनशैली र मिलनसार स्वभावकी अन्जलीको असामयिक बिदाइले विद्यालयदेखि गाउँसम्म शोकको गहिरो मौनता छाएको छ। शिक्षक,साथीभाइ र स्थानीयवासीले उनलाई एक मेहनती,आशालाग्दो र आदर्श विद्यार्थीका रूपमा स्मरण गरिरहेका छन्।उनको कक्षाकोठा,साथीहरूको समूह र विद्यालय परिसर अहिले उनीबिना अधुरो जस्तो महसुस भइरहेको छ।
यो घटनाले केवल एउटा परिवारको कथा मात्र होइन,सम्पूर्ण समाजलाई गहिरो सन्देश दिएको छ।पारिवारिक तनाव,मानसिक दबाब र समयमै उचित समाधान नहुँदा कस्तो भयावह परिणाम आउन सक्छ भन्ने कुरा यसले स्पष्ट रूपमा देखाएको छ।यस्ता घटनाबाट बच्न संवाद,समझदारी र मानसिक स्वास्थ्यप्रति ध्यान दिनु अत्यन्त आवश्यक देखिन्छ।आज अन्जली र उनका बुवाको सम्झनाले हरेक मन भावुक बनेको छ। उनीहरूको बिछोडले जीवन कति अनिश्चित छ भन्ने कुरा फेरि एकपटक गहिरो रूपमा महसुस गराएको छ।
प्रतिक्रिया राख्नुहोस्